ढोरपाटन उपत्यकाका विद्यालय फागुनसम्म बन्द

डम्मर बुढा मगर, बागलुङ
अत्याधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । चिसोका कारण ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द भएका हुन् भने एउटा विद्यालय घुम्ती पढाईका लागि बेसी झरेको हो ।

पाखाथर स्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय गत पौष दोस्रो सातादेखि बन्द भएका हुन् । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाईका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

पुस १५ गतेबाट बन्द भएका विद्यालय फागुन १ गतेबाट मात्रै संचालन हुने उहाँको भनाइ छ । हिउँदमा चिसो हुने र विद्यार्थीहरु कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिने भन्दै बर्खामा भने बिदा नहुने सापकोटा बताउनुहुन्छ । जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले पनि संचालन हुने हुँदा बर्खामा बिदा हुने उहाँको भनाइ छ । यि विद्यालयहरुमा करिब ३०० विद्यार्थी अध्ययनरत रहेको सापकोटले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “ढोरपाटन उपत्यका क्षेत्रका छ वटा विद्यालय पूर्ण रुपमा बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखिनै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाई हुन्छ, यहाँका स्थानीयहरु पनि हिउँद बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोही अनुसार संचालन भएको छ ।”

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो सिजनमा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नु परेको बताउनुभयो । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरुलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको बताउनुभयो । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उहाँको भनाइ छ ।

“यहाँ हिउँदमा पनि पढाई संचालन गर्नका लागि सरकारले कुनै विकल्प दिनु पर्छ, हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नु पर्ने हुन्छ भने, धेरै जसो बालबालिका सामान्य परिवारका छन्, उनीहरुलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नु पर्छ” उहाँले भन्नुभयो – “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरि पढाउँछौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *