सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

डम्मर बुढा मगर, बागलुङ
हिजोआज गाउँ रित्तिदै गएपछि साुमदायिक वन झाडीले भरिएका छन् । चरिचरन, घाँस, दाउरा र स्याउका लागि प्रयोग हुने वन अचेल सुनसान बनेका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशले प्रयोगविहीन बन्दै गएका सामुदायिक वनलाई उत्पादनसँग जोड्न थालेको छ । वडा कार्यालयको अग्रसरतामा यहाँका मालुका पातल, पाङखोला, चित्रे, तितेभारी गरि चार वटा समाुदायिक वनमा निउरो, सिस्सो, नागबेली र बाँको लगाउने थालिएको छ ।

वनमा रहेका अनावश्यक झाडी पन्छाएर तरकारी तथा औषधिजन्य वनस्पतीको खेती गर्न लागिएको हो । चालु आर्थिक वर्षमा विनियोजित एक लाख रुपैयाँबाट सामुदायिक वनमा निउरो, सिस्सो, नागबेली र बाँको लगाउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामिछानेले जानकारी दिनुभयो । सरुमा करिब १२ रोपनी सामुदायिक वनमा खेती गर्न गर्ने योजना रहेको भन्दै आगामी वर्षदेखि थप क्षेत्रमा विस्तार गरिने उहाँको भनाइ छ ।

खासगरी प्रयोगविहीन भएको जंगललाई उत्पादन र आम्दानीसँग जोड्नका लागि यो काम गर्न थालेको अध्यक्ष लामिछानेले बताउनुभयो । गाउँकै सामुदायिक वनबाट विरुवा संकलन गरि रहेको भन्दै निउरो कम भएको हुँदा म्याग्दीबाट लिएर लगाइने उहाँको भनाइ छ ।

“विरुवाहरु खास्सै बाहिरबाट ल्याउनु पर्दैन, यहीकै जंगलबा विरुवा संकलन गरेर लगाउने छौँ, थप बढाउनका लागि म्याग्दीबाट ल्याउनु पर्छ, सिस्सो, नागबेली र बाँको यहीँ पनि प्रसस्तै पाइन्छ तर निउरोको विरुवा कम हुने हुँदा म्याग्दीबाट लिएर लगाउने योजना बनाएका छौँ” अध्यक्ष लामिछानेले भन्नुभयो – “बसाइँसराइले गर्दा वन जंगलको प्रयोग कम भएको छ, वनको खाली ठाउँमा निउरो, सिस्सो, नागबेली र बाँको खेती गरेर स्थानीयलाई उत्पादन र आम्दानीसँग जोड्नका लागि यो काम गर्दै छौँ, सुरुमा केही मेहनत गर्नु पर्छ, पछि–पछि यसबाट राम्रै प्रतिफल आउने अपेक्षा गरेका छौँ ।”

काठेखोला गाउँपालिका–७ का स्थानीय उजेली शर्माले पहिलेको तुलनामा अहिले वनमा रुख विरुवासँगै झाडी बढेको भन्दै वडाले लिएरको योजना गाउँलेका लागि निकै लाइदाइक हुने बताउनुभयो । अहिले निउरो टिप्न जंगल जानुको सट्टा बजारबाट किनेर ल्याउने गरेको उहाँको भनाइ छ । अब गाउँकै जंगलमा जंगली तरकारी उत्पादन गरेर बजार पठाउने शर्माले बताउनुहुन्छ । अचेल गाउँका मान्छेहरु अल्छि बन्दै गएपछि करेसा बारीमा तरकारी फाउन छोडेर आयातिते तरकारी किन्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “गाउँ नजिकै जति पनि वन जंगल छन्, पहिलेको जस्तो छैनन्, घर नजिकनजिक पनि वन फैलिन थालेको छ, उतिबेला गाउँमा धेरै मान्छे बस्थे, पशुचौपाया पाल्थे र वनमा गएर घाँस दाउरा भारीका भारी ल्याउँथे, अहिले त गाईभैँसी पाल्न छोडे, वनमा जान छोडे, त्यही भएर वन बढेको छ, गाउँ वरपर रुख विरुवा बढेर जंगल जस्तो बन्न थालेको छ, मान्छेले सहर बजार मन पराउँछन्, अब गाउँ नजिकको वनमा तरकारी जातका विरुवा लगाएर आर्थिक आयआर्जन गर्ने गरि काम गर्न लागेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *