भरत बागलुङे
पौषको अन्तिम साता बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन भयो, संस्थाका तदर्थ समितिका संयोजक जयराम भारी र पूर्व अध्यक्ष केबी राना मगरबीच अध्यक्षका लागि मुख्य प्रतिस्पर्धा भयो र निर्वाचनमा २६ मत बढी ल्याएर केबी राना मगर विजयी भए ।
खासमा खानेपानीको निर्वाचन भए पनि बागलुङ बजारवासीलाई भने संसदकै निर्वाचन वा नगरपालिकाकै निर्वाचन जस्तो लागेको थियो । सबै राजनीतिक दलहरु देखि संघ संस्थाका मान्छेहरु समेत यो वा त्यो पक्षमा खुलेरै लागेका थिए, निर्वाचनमा प्रतिस्पर्धा नै भयो, २६ मतको अन्तर भएपनि खासमा केबी रानाको १४ मत जयरामले तानेको भए परिणाम उल्टने थियो ।
निर्वाचन भन्दा साथ विपक्षीका कमजोरी बाहिर ल्याउने हाम्रोमा प्रचलन नै छ । खानेपानीको निर्वाचनमा पनि आप्mना राम्रा र विपक्षीका नराम्रा पक्षको बारेमा चर्चा परिचर्चाहरु भए । उमेद्वारका बारेमा, उमेद्वारका घरका परिवारका सदस्यहरुको बारेमा समेत चर्चा परिचर्चा हुने गर्छन् र स्वभाविक रुपमा बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा पनि त्यो भयो ।
पौषको २८ गते मतदान हुने दिन थियो, २६ गते शुक्रवारतिर सामाजिक सञ्जालमा एउटा पोष्ट देखियो, बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको महशुल नतिरेको भन्दै अध्यक्षका उमेद्वार जयराम भारीका परिवारको नाम जोडेर सामाजिक सञ्जालमा गरिएको पोष्टले जयरामलाई रक्षात्मक बनाइदियो । हरेराम भारीको नाममा रहेका २ वटा धाराको १ लाख ५३ हजार ६ सय १८ र ५३ हजार ५ सय ७४ तथा मंगलालक्ष्मी भारीको नाममा रहेको धाराको २२ हजार ५ सय २७ रुपैया गरी जम्मा २ लाख २९ हजार ७२९ रुपैया महसुल नतिरेको भन्दै सामाजिक सञ्जाल तात्तिएपछि अध्यक्षका उमेद्वार जयराम भारीलाई हराउन केबी रानालाई सहज वातावरण बन्यो । निर्वाचनमा अन्य विषय त हुन्छन् नै यो पोष्टले चुनावमा रानालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो भन्नेहरु बागलुङमा प्रशस्त छन् । जयराम भारीलाई पनि यो विषयले अवश्य छोएको छ ।
खानेपानी उपभोक्ता समितिको निर्वाचनमा महसुल नतिरेको कुरा सार्वजनिक हुँदा समस्या पर्दो रहेछ भने बैंक, वित्तीय संस्था र सहकारीबाट ऋण लगेर नतिर्नेहरुको नामावली सार्वजनिक हुने हो भने झन कति समस्या पर्छ होला ? यतिबेला बजारमा ऋण नतिर्ने अभियानमा लाग्ने आफुलाई प्रवुद्ध भन्ने मान्छेहरु नै देखिन थालेका छन् । ऋण नतिर्ने अभियानमा लाग्नेहरुका बारेमा यस्तै गरेर विषयहरु सार्वजनिक हुने हो भने तिनको हालत के होला ?
यस आलेखमा विशेष गरेर सहकारीको ऋण नतिर्ने त्यस्ता ऋणीहरुको बारेमा केही चर्चा गर्न खोजेको छु जो सामाजिक तथा राजनैतिक रुपमा प्रतिष्ठित व्यक्तिहरु रहेकाछन्, यतिबेला सहकारी क्षेत्रप्रति चौतर्फी प्रहार भैरहेको छ, प्रहार गर्नका लागि सहकारी क्षेत्रकै केही बद्नाम पात्रहरु सहयोगी बनेका छन् । दशक अगाडीदेखि सुधिर बस्नेतहरुको नाम सहकारीका खल पात्रका रुपमा आइनै रहेको थियो । पछिल्लो समयमा इच्छाराज तामाङ लगायतका मान्छेहरुसँगै बागलुङकै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीहरु सहकारीलाई बद्नाम गराउने खलपात्रका रुपमा देखिए । यस्तै खल पात्रहरुले सहकारीलाई बद्नाम गराउन ठुलो योगदान गरेका छन् । सहकारीमा शेयर सदस्य बनाएर होइन, बचतकर्ता बनाएर, ठूला ठूला घर, गाडी र हाउजिङ देखाएर बचत तान्ने र सहकारीमा जम्मा भएको रकम आफ्नो निजी सम्पत्ती जोड्ने यी पात्रहरुका कारण आज नेपालको सहकारी अभियान रक्षात्मक अवस्थामा पुगेको छ ।
सहकारीको योगदानका बारेमा चर्र्चा परिचर्चा हँुदै गर्दा यस्तै खालका सहकारीहरुका कारण आज सहकारीप्रतिको विश्वास कम हँुदै गएको छ । सहकारीमा राखेको रकम शेयर सदस्यहरुले निकाल्ने मात्र गर्ने हो भने कुनै पनि सहकारी सञ्चालन हुन सक्दैनन् । मानिसहरुमा एकखालको त्रास छ र त्यही त्रासका कारण मानिसहरुले सहकारीमा पैसा जम्मा गर्न अनकनाइरहेका छन् । सहकारीका बद्नाम पात्रहरुले चलाएका सहकारीहरुमा आएको समस्याका कारण सहज रुपमा सञ्चालन भएका, आफ्ना सदस्यहरुलाई नियमसंगत ऋण लगानी गरेका संस्थाहरुमा समेत समस्या सिर्जना हुने अवस्था देखिएको छ । बाहिरबाट आउने कुरा रोकिने र संस्थाबाट जाने मात्र हुने हो भने सहकारी मात्र होइन कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु सहज र दीर्घकालसम्म चल्न सक्दैनन् ।
सहकारीमा सञ्चालक वा व्यवस्थापनका तर्फबाट भएका कमी कमजोरीका कारण सहकारीहरु समस्यामा परे र ति सहकारीहरुका चर्चा परिचर्चा लगायत कानुनी कार्वाहीका कुरा समेत भईरहेका छन्, यी बाहेक सदस्यहरुलाई ऋण लगानी गरेका सहकारीहरुमा पनि समस्या आउन सक्ने संभावना देखिन्छ । एकातिर वित्तीय क्षेत्रमा आएको समस्याका कारण आम मान्छेहरुको आम्दानी घटेको छ भने अर्को तिर ऋण लगेका मान्छेहरु ऋण मिनाहा हुन्छ कि ? तिर्न पर्दैन कि ? भनेर अलमलिएको अवस्था छ अहिले । ऋण तिर्न पर्दैन, हामी मिनाहा गराउछौँ भन्नेहरुको अभियान देखेर साँच्चिकै ऋण मिनाहा भइहाल्ने हो कि ? भनेर पर्र्ख र हेरको अवस्थामा पनि कतिपय मान्छेहरु रहेका देखिन्छन् ।
हिजो माओवादीको सशस्त्र आन्दोलनपछि कृषि विकास बैंक तथा सानाकिसान कृषि सहकारीबाट लिएकाहरुको निश्चित मापदण्डभित्रको ऋण मिनाहा भएको देखेकाहरुले हुन सक्छ है ? भनेर ऋण नतिरेको पनि अवस्था देखिन्छ जसलाई समयमै सहकारीकर्मीहरुले चिर्नु आवश्यक छ, समयमा यस्ता अफवाहरुलाई चिर्न सकिएन भने त्यसले विकराल अवस्था ननिम्त्याउला भन्ने सकिन्न । एकातिर सर्वसाधरणहरुमा ऋण मिनाहा हुन्छकी भन्ने भ्रम छ भने अर्कोतिर ऋण नतिर्ने अभियानमा समाजका प्रवुद्ध वर्ग भनिनेहरु समेत लागेको देखिन्छ जो आपैmमा खतरनाक वित्तिय अपराधकर्म हो । आफु समाजमा प्रतिष्ठित छ, विभिन्न पेशा व्यवसायमा लागेर इज्जत कमाएको छ, छोरा छोरी राम्रो पढिरहेका छन् उनीहरुले भोली यो समाजको राम्रै पद प्रतिष्ठा पाउन सक्ने संभावनाका छन् तर बाबु आमा भने ऋण नतिर्ने अभियानमा जुटेको छ अफशोच ।
यस आलेखमा प्रसङ्ग बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनको किन लिएको हो भन्दा परिवारका सदस्यको नाममा रहेको धाराको महसुल नतिरेका चर्चाका कारण आज जयरामले खानेपानीको निर्वाचनमा जित्न सकेनन् भने सहकारीको ऋण तिर्दिन भन्दै निमोठिएका पात्रहरु कुनै चुनावमा प्रतिस्पर्धा गर्न थाले भने सहकारीहरुले ऋण नतिरेको भन्दै तिन पुस्ते विवरण सार्वजनिक गरिदिए भने तिनको हालत के होला ? अझै केही जनप्रतिनिधिहरुले समेत सहकारीको ऋण तिरेका छैनन् भन्ने कुरा सहकारीकर्मीहरुले बेला बेला चर्चा गर्ने गरेका छन्, जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, आगामी दिनमा हुने जनप्रतिनिधिहरुले नै सहकारीबाट लगेको ऋण नतिर्ने अवस्थाको अन्त्य गर्नु सहकारी अभियन्ता, सरकारी निकाय र सहकारीहरुको पहिलो दायित्व हो यसमा सबै पक्षले गम्भीर भएर सोच्नु र लाग्नु जरुरी छ र सामाजिक रुपमा एउटा उचाई र छवि बनाएका त्यस्ता व्यक्तिहरुले आफूलाई वित्तीय अपराधी हुनबाट जोगाउन तत्काल लाग्नु पर्छ अटेर गरेर बसेमा त्यसबाट हुने क्षतिले निजहरुकै उचाई रसातलमा पुग्नेछ ।
राजनीति गर्ने, समाजका विभिन्न क्षेत्रमा नेतृत्वमा रहने मात्रै होइन, राज्यका सेवा सुविधा समेत रोक्ने गरी सरकारले काम गर्दैछ । कानुनी कुरा त छँदैछ, नैतिक रुपमा समेत सहकारीको ऋण नतिर्ने मान्छे मात्रै होइन अब अन्य क्षेत्रका मान्छेले समेत मेरो पैैसा तिरेको छैन भनेर प्रमाण सहित सार्वजनिक ग¥यो भने त्यो मान्छे नेतृत्वमा रहन सक्ने संभावना कम हुन्छ ।
हिजो जग्गा खरिद गर्नका लागि ऋण लग्यो, घर बनाउनका लागि ऋण लग्यो, छोरा छोरीलाई विदेश पठाउनका लागि ऋण लग्यो, व्यापार व्यवसाय गर्न, शिक्षा दीक्षाका लागि ऋण लग्यो, आज समस्या आयो भनेर ऋण तिर्दिन भन्ने नाकाम मान्छेलाई कानुनी रुपमा मात्रै होइन, नैतिक रुपमा सामाजिक बहिष्कारसम्मको अवस्था आउन सक्छ ।
सहकारीको समस्या समाधान गर्नका लागि सरकारले गत जेठमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका सहकारी हेर्ने सदस्यको संयोजकत्वमा गठित कार्यदलले भदौ २६ गते सरकारलाई सुझाव पेश गरेको छ । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सरकारले, अभियानले र सरोकारवालाहरुले गर्नु पर्ने काम सहित कार्यदलले दिएका सुझाव मध्ये भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही कार्यान्वयनमा ल्याइसकेको छ । सहकारीको कार्यक्षेत्र र सेवा केन्द्र खोल्न तत्कालका लागि रोक्ने, सहकारीहरुले आफ्नो वित्तीय अवस्था सहितको श्वेतपत्र जारी गर्ने, सञ्चालकहरुको सम्पत्ती विवरण बुझाउने, समस्यामा परेका सहकारीहरुले चैत मसान्तभित्र बचत फिर्ताको योजना पेश गर्ने लगायतका सुझावहरु कार्यान्वयनमा आएका छन् । कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण गठन लगायतका सुझाव कार्यान्वयनको चरणमा रहेका छन् ।
कार्यदलले दिएका सुझाव मध्ये ऋणीहरुका बारेमा पनि केही सुझावहरु रहेका छन् । सुझाव कार्यदलले दिएका सुझावको ५.२.११ मा ‘सहकारी संस्थाबाट कर्जा लिई कर्जा फिर्ता गर्न आलटाल गर्ने, ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज भुक्तानी नगरी जानाजानी मनोमानी गर्ने सदस्यहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारबाट पाउने सिफारिस लगायतका सेवा सुविधाहरु उपलब्ध नगराउने’ तथा कार्यदलले दिएको सुझावको ५.३.२.५ मा ‘सहकारी संस्थाका खराव ऋणीहरुले कुनै पनि तहको निर्वाचनमा भाग लिन नपाउने, राजनीतिक नियुक्ति लिन नपाउने व्यवस्था मिलाउने’ भन्ने उल्लेख गरिएको छ ।
संघीय सरकारले यो निर्देशन कार्यान्वयन गरायो भने त सहकारीको ऋण लगेर उन्मुक्त भएर हिडेका मठाधिसहरुलाई कानुनले नै तह लगाइ हाल्छ । यदि सरकारले यस्तो कुरा कार्यान्वयन गर्न ढिलाई ग¥यो भने पनि सामाजिक रुपमा पर्ने विभिन्न विषयमा यस्ता व्यक्तिहरुलाई नांगेझार पार्न सहकारी अभियान लागि पर्नुको विकल्प छैन ।
बागलुङ लगायत देशका विभिन्न ठाउँमा यसरी ऋण नतिर्ने अभियानमा लाग्ने समाजका अगुवाहरुलाई आम जनताका बीचमा सहकारीका सदस्यहरुले खाइ नखाई गरेर जम्मा गरेको बचतबाट ऋण लगेर नतिर्ने खराब व्यक्तिहरुका रुपमा परिचित गराउन आवश्यक छ । तिनीहरु मात्रै होइन, तिनका तीन पुस्तालाई समाजका कसैले पनि ऋण लगायत कुनै पनि सरसापट नदिने वातावरण बनाउन आवश्यक छ । मानिसहरुले दुःख गरेर जम्मा गरेको बचतको पैसा नीजि सम्पत्ती कमाउन प्रयोग गर्ने सहकारीका खल पात्रहरु जस्तै सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने खलपात्रहरु पनि सहकारी बद्नाम गराउनेहरु हुन् त्यसैले यस्ता पात्रहरुका बारेमा पनि अब चर्चा परिचर्चा हुन आवश्यक छ ।
सहकारीको बचत हिना मिना गर्नेहरुसँगै सहकारीको ऋण नतिर्नेहरुको बारेमा पनि सरकार, अभियान र आम नागरिकले प्रश्न उठाउन पर्ने अवस्था सिर्जना भएको छ । अस्थिरतामा खेलेर समाजलाई कमजोर बनाउनका लागि यी दुवै खाले प्रवृतिहरु सहयोगी बनेका छन् । सहकारीको बचतबाट नीजि सम्पत्ती जोड्ने, करोडौंका गाडीमा शयर गर्नेहरुका कारण आज सहकारी जति बद्नाम भएको छ, ऋण लगेर नतिर्नेहरुका कारण पनि भोली त्यत्तिकै समस्यामा पर्ने अवस्था देखिएकाले सहकारीका सम्पूर्ण सदस्यहरुले यस्ता खाले मान्छेहरुलाई तह लगाउनका लागि सामाजिक रुपमा दण्डित हुने वातावरण सिर्जना गर्न आवश्यक छ ।
ऋण लिने र तिर्न आलटाल गर्नेहरु यो समाजका वित्तीय अपराधीमा दर्ज हुने की सहकारीको र समाजको असल र जिम्मेवार सदस्य बन्ने रोजाई तपाईँको हातमा चेतना भया !