डम्मर बुढा मगर, बागलुङ
“मैले १७ वर्षको उमेरमा नुन ल्याउन जाँद सुनौलीमा पहिलो पटक बिजुली बत्ती देखेको थिएँ, अहिले त तल बेसी तिर पनि झिलिमिली छ ।” बागलुङको निसीखोला गाउँपालिका–५ का पितराम घर्ती मगर अहिले निसेलढोरमा बस्नु हुन्छ । कहिलेकाही निसी गाउँमा झर्नु हुन्छ । निसी गाउँमा बिजुलीको सुविधा छ तर निसेलढोरमा अहिलेसम्म पुगेको छैन । अहिले उहाँले निसेलढोरमा सौर्य उर्जा (सोलार बत्ती) बाल्दै आउनु भएको छ । उहाँले दिनभरी घाम लाग्दाको रात सोलार बत्ती बल्नु हुन्छ । बर्खाको समयमा भने दियालो र टुकीकै भरमा रात कटाउनुहुन्छ ।
एक दशक अगाडिसम्म दियालो र कुटीकै भरमा रात कटाउने पितराम अहिले सोलार बत्ती बल्न पाउँदा हर्षित हुनुहुन्छ । पिताराम मात्रै होइन, बागलुङको अधिकांश क्षेत्रका नागरिकले टुकीको भरमा रात कटाउँथे । यद्यपी अहिले पनि केही बस्तीमा विद्युतको पहुँच छैन तर उनीहरुले टुकीको सट्टा वैकल्पिक ऊर्जाको प्रयोग गर्छन् । पछिल्लो समय दुर्गम गाउँसम्म विद्युत विस्तार र वैकल्पिक ऊर्जाको प्रयोग बढ्न थालेसँगै टुकी र दियालो बाल्ने परम्परा लोपोन्मुख भएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत पुगि नसके पनि पहिलेको जस्तो मट्टितेल बजारमा पाइँदैन ।
कुनै बेला एक लिटर मट्टितेल पाउनका लागि घण्टौँ लाइन बस्ने स्थानीयलाई अहिले त्यसको चाख छैन । बेसीमा बिजुली बत्ती र लेकमा सोलार बत्तीले रातलाई पनि उज्यालो बनाएको पितराम बताउनुहुन्छ । अहिलेसम्म बिजुली बत्ती नपुगेका ठाउँमा सोलार बत्ती र अन्य इलेक्ट्रोनिक लाइटहरु पुगेको उहाँको भनाइ छ । पहिले आफूहरुले रातीमा उज्यालो पार्नका लागि दिनभरी दियालो, दाउरा र भाँङ बटुल्ने गरेको स्मरण गर्दै अहिले त्यस बेलाको जस्तो झण्झट गर्न नपर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “समयले धेरै फड्को मारेछ, कस्ता अन्धकार थिए हाम्रो जमाना, अहिले झिलिमिली छ, गाउँ–गाउँमा बिजुली आएको छ, कति ठाउँमा जडान हुँदैछ, हाम्रो पालामा कसैको घरमा बिजुली बत्ती थिएन, सोलार पनि आएका थिएनन्, धनिमानीले मट्टितेल लिएर टुकी बाल्थे, हामीहरुले त उही दाउरा र दियालो बाल्थ्यौँ, पछि–पछि तेलको मूल्य सस्तो भएपछि गाउँ भरिकाले टुकी माल्न थालेका थिए, अहिले त टुकी बाल्ने चलननै हरायो ।”
अहिले पनि जिल्लामा २१४ परिवारमा विद्युतको सुविधा पुगेको छैन । उनीहरु टुकी र सौर्य ऊर्जाकै भरमा छन् । जिल्लाको धेरै स्थानमा अझै पनि केन्द्रीय विद्युत पुगेको छैन । तर लघु जलविद्युत भने अधिकांश ठाउँमा छन् । अहिले बागलुङमा ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छन् । तमानखोला गाउँपालिका–३ का रनबहादुर रोकाले मट्टितेलबाट बत्ती बाल्न छोडेको एक दशक भएको बताउनुभयो । १० वर्ष अगाडिसम्म टुकी बाले पनि त्यस यता सोलार बत्ती बाल्न थालेको बताउनुभयो ।
“अहिले ७४ वर्ष भएँ, ६४ वर्षसम्म मैले टुकी बालेरै रात कटाएको हुँ, म धेरै जसो गोठमा बस्ने हुँदा यहाँ बिजुली आएको छैन, पहिलो पटक सोलार बत्ती बाल्दा निकै खुसी लागेको थियो, मट्टितेल बिना पनि बत्ती बल्दो रैछ जस्तो लाग्थ्यो,” उहाँले भन्नुभयो – “अहिले जताततै बिजुली आए, गाउँ झिलिमिली भए, विकास हुन धेरै समय लाग्दो रैनछ, अहिले त बिजुली नपुगेको गाउँ छैन, जता हे¥यो उतै बिजुलीको झिलिमिली छ, अहिले त पहिलेको जस्तो टुकी भेटिन पनि छोड्यो ।”
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले जिल्लाका सबै बस्तीहरुमा केन्द्रीय प्रशारण लाइन जोड्न थालेको बताउनुभयो । जिल्ला सदरमुकामसँग जोडिएका पालिकाहरुमा केही वर्ष पहिलेनै केन्द्रीय लाइनले जोडिए पनि पश्चिम बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा काम सुरु गरेको उहाँको भनाइ छ । अगामी दुई वर्ष भित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने पौडेल बताउनुहुन्छ ।