पर्यटन प्रवर्द्धनका लागि धुरीमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङ
पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु भएको छ । उद्योग, पर्यठन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको ५० लाख रुपैयाँले धुरीमार्ग निर्माण सुरु भएको हो । धुरी माघ गरिब डेढ एक सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१२ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यूटावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम संग्रालय हुँदै बागलुङ कालिका जोडिने छ ।

मन्त्रालयको बहुवर्षे योजना अनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिट पदमार्ग निर्माण हुने छ । गत पुस ११ गतेदेखि सुरु गरेको धुरीमार्ग हालसम्म ४०० मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उहाँको भनाइ छ । उहाँका अनुसार धुरीमार्ग स्लेट ढुङ्गा, रेलिङ, ढलानसहितको हुनेछ । स्लेट ढुङ्गा ताराखोला गाउँपालिका–१ माझखर्क बाट ढुवानी गरेर ल्याउँदा महङ्गो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताउनुभयो ।

आगामी जेठको १५ गतेसम्म सक्ने गरि सम्झौता भएको भन्दै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए बैशाख दोस्रो सातानै काम सक्ने बताउनुभयो । यस वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उहाँको भनाइ छ । भौगोलिक कठिनाई र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरि रहेको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँँले भन्नुभयो – “इन्जिनियरको स्टिमेट अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुङ्गाको गुणस्तरमा ध्यान दिनु पर्ने छ भने, भिर पहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेट अनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीयनै बन्छ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवद्र्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताउनुभयो । यो पदमार्ग पूरा गर्नका लागि एकै वर्षमा संभव नभएको भन्दै बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाएको मन्त्री थापाको भनाइ छ । बागलुङमा समथर भू–भागदेखि अग्ला पहाडका टुप्पोसम्म पर्यटकीय गन्तव्य रहेको हुँदा तल्लो क्षेत्रमा सडक र माथिल्लो क्षेत्रमा धुरीमार्गको प्रयोग गरि आन्तरिक तथा बाह्य पर्यटक घुम्न सक्ने उहाँले बताउनुभयो ।

“धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङ बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्ने छन् भने त्यस आसपासमा रहेका होम–स्टे (घरबास), होटल र रेष्टुरेण्ट राम्रोसँग चल्ने छन् भने स्थानीय उत्पादनले बजार पाउने छन्,” मन्त्री थापाले भन्नुभयो – “पर्यटन प्रवद्र्धनका साथसाथै रोजगार सिर्जना पनि हुने छ, यहाँ यात्रा गर्ने पर्यटकले बागलुङका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *