माथिल्लो मुस्ताङको तीन गाउँपालिकामा हिमपात


आदर्श अनलाइन, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङ क्षेत्रका तीन वटा गाउँपालिकामा हिमपात भै रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सदरमुकाम जोमसोम भन्दा माथिल्लो भेकमा हिमपात भएको र अझै केही समय हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार उपल्लो भेकमा हिमपात भएको भएपनि सदरमुकाम भन्दा तलको क्षेत्रमा भने खासै हिउँ परेको छैन । जोमसोम भन्दा माथिका बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा हिमपात भै रहेको छ । सबैलाई सुरक्षित रहन भनिएको र कुनै केही समस्या भएको खण्डमा तत्कालन खबर गर्न आग्रह गरेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘सबै सुरक्षा निकाय र स्वंसेवकलाई पनि चनाखो राखिएको छ, केही अप्ठेरो भै हालेको खण्डमा तत्काल रेस्क्युका लागि सबै सुरक्षा अंगहरु तयारी अवस्थामा छन् ।’

त्यस्तै बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथले जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर –१ झारकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरेका छन् । हिमपातको समयमै जेष्ठ नागरिकलाई कुनै समस्या भएको खण्डमा खबर आए तत्काल घरमै पुगेर स्वास्थ्योपचार गर्ने समेत स्वास्थ्यचौकी इन्चार्ज सुवास अधिकारीले जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रका गुम्बाहरु सँग सहकार्य गरेर नागरिकको उपचारमा अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रिनजिङ गुरुङको अग्रसरतामा जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शिघ्र रेस्क्युका लागि पहल हुने गाउँपालिकाका प्रवक्ता एवम् वडा–१ का अध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्