गलकोटको रंगेनीदेखि तोरीखोला–ठान हुँदै मजुवा जोड्ने सडक स्तरोन्नती

डम्मर बुढा मगर, बागलुङ
पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नती हुन थालेको छ । गलकोट नगरपालिका वडा नम्बर २ को नरेठाँटीदेखि वडा नम्बर ६ को मजुवा जोड्ने गरि वि.सं. २०६५ सालमा ट्रयाक खुलेको यस वर्ष गत मंसिर महिनादेखि स्तारोन्नती गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रंगेनीदेखि तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नती हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नती तीव्र गतिमा हुन थालेको हो ।

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएर ३५ लाख गरि ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । लामो समयसम्म सडक स्तरोन्नती नहुँदा नागरिकले हिउँद बर्खा यात्रा गर्दा निकै समस्या भोग्नु परेको भन्दै आर्थिक वर्ष २०७८/०७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक सडक बन्दै गएको उहाँको भनाइ छ । हालसम्म प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा ३० लाख मात्रै खर्च भएको नगर प्रमुख गैरेले बताउनुभयो ।

पोहोर साल सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरि रहेको उहाँको भनाइ छ । सडक स्तरोन्नती भएपछि ठाना, तोरीखोला, खसखस लगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताउनुभयो । नगरपालिकाले योसँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उहाँको भनाइ छ ।

नगर प्रमुख गैरेले भन्नुभयो – “यो सडक खुलाउने बेला निर्माण समितिको सचिव मै थिए, यहाँका नागरिकले पैसा उठाएर ट्रयाक खुलाएका हौँ, अहिलेसम्म सडकको दुरावस्था थियो, अब सुधार हुँदै जाने छ, डेढ दशकपछि सडक राम्रो बन्न थालेपछि स्थानीय पनि खुसी भएका छन्, गाउँलेले लगानी गरेको लाखौँ रुपैयाँले बनेको यो सडकमा सरकारले पनि वर्षेनी बजेट विनियोजन गरेर काम गर्दै आएको छ, केही समयपछि कालोपत्रे पनि हुने छ ।”

नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसिनरी वाला, ग्याबिन निर्माण र सडक सफराकिलो बनाउने काम भइरहेको बताउनुभयो । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मंसिरमा जिम्मा लिएको उहाँको भनाइ छ । असार मसान्तसम्म सक्ने गरि सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्ने गरि काम गरेको इन्जिनियर दाहाल बताउनुहुन्छ । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तारोन्नतीको जिम्मा लिएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *