विद्यालयबाट निष्कासित भएका जगनले परिक्षा दिन पाएनन्

सिर्जना पन्त, बागलुङ

जिल्लाको ढोरपाटन स्थित धिरी आधारभुत विद्यालयमा अध्ययनरत एक विद्यार्थीले नगर स्तरिय परिक्षा दिनबाट बञ्चित भएका छन् । ढोरपाटन नगरपालिका–४ का १४ बर्षिय जगन छन्त्याल गत सोमवारदेखि सञ्चालन भएको कक्षा ८ को नगर स्तरिय परिक्षा दिनबाट बञ्चित बनेका हुन् ।

अहिले परिक्षा दिन बञ्चित बनेका छन्त्याल गत असोज १ गते अनुशासनहिन काम गरेको आरोपमा विद्यालयले निष्काशन गरिएका बिद्यार्थी हुन् ।

परिक्षा सञ्चालनको पहिलो दिन परिवार र नगरपालिकाको पहलमा विद्यालय पुगेका जगनलाई हातले लेखेको प्रश्नपत्र दिएर अरु विद्यार्थी भन्दा छुट्टै राखेर परिक्षा दिन लगाइएको थियो । ‘बाल मनोविज्ञानमा निष्काशनदेखि त्यसपछिको प्रत्यक्ष अप्रत्यक्ष दबाव प्रभावका कारण पहिलो दिन छोरालाई एक्लै राखेर दुई तीन जना शिक्षकहरुले घेरेर परिक्षा दिन लगाएछन्,’ जगनका बुवा इन्द्रमान छन्त्यालले भन्नुभयो,‘त्यसपछि भोलीपल्टबाट डराएर छोरो विद्यालय जानै मान्दैन, अरु विद्यार्थीलाई भन्दा फरक व्यवहार गर्न थाले पछि अब बिद्यालय र विद्यार्थी कसरी बन्छ ?’ गत असोजबाट छोरालाई विद्यालयमा प्रवेश गर्न नदिएको र प्रहरी, प्रशासन मानवअधिकार आयोग सम्म पुग्दा पनि निर्वाध पढ्ने र परिक्षा दिने बातावरण नभएको उहाँको भनाई थियो । अन्त लगेर पढाउछौं भन्दा सर्टिफिकेट पनि नदिने, सहज बातावरणमा पढ्न पनि नदिने, परिक्षामा सहभागी हुने बातावरण पनि नबनाएको अभिभावकको दावी छ ।

बिद्यालयले भने अभिभावकले गरेको यस्तो दावी झुट भएको जिकिर गर्दै आएको छ । विद्यालयका प्रध्यानध्यापक मनदेवी बुढाले बच्चाले अनुशासनहिन काम गरेपछि सम्झाई बुझाई गरेको र बिद्यार्थी आफै स्कुल नआएको बताउनुभयो । ‘ऊ आफै विद्यालय आएन, हामी घरमा लिन गएनौ,’ उहाँले भन्नुभयो, ‘परिक्षा दिन आउछ आउदैन जानकारी थिएन, सिट प्लानिङ गरिसकिएको थियो, त्यसैले एक्लै राखेर परिक्षा दिन लगाएका हौ ।’

बिद्यालयका प्रधानाध्यापक बुढा र उहाँका श्रीमान समेत रहेका ढोरपाटन वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनसँग जगनका बुवाको आपसी मनमुटाव भएका कारण बालकको भविश्य माथी खेलवाड भइरहेको देखिन्छ । बालकलाई विद्यालयबाट निस्काशित गरेपछि अभिभावकले ढोरपाटन नगरपालिकाको कार्यालयसंगै इलाका प्रहरी कार्यालय बागलुङमा गत असोज ५ गते उजुरी दिएका थिए । प्रहरी प्रशासनसंगैं ढोरपाटन नगरपालिका र जिल्ला शिक्षा समन्वय शाखा बागलुङको निर्देशन अवज्ञा गर्दैै प्रधानाध्यापक बुढाथोकीले बालकलाई विद्यालय प्रवेश गर्न नदिएको ढोरपाटन नगरपालिकाका उप प्रमुख करमती पुनले बताउनुभयो । ‘विद्यार्थीको परिवार र विद्यालयका प्रअको बीचमा मनमुटाव रहेछ, हामीले पटक–पटक आग्रह गर्दा पनि प्रअले अटेर गर्नुहुन्छ,’ उपप्रमुख पुनले भन्नुभयो,‘विद्यार्थीलाई विद्यालयमा आउन रोक लागउनु, परिक्षामा सहभागी नगराउनु उहाँहरुको गल्ती भए पनि स्वीकार गर्नुहुन्न, शुक्रबार अनुगमनको लागि फेरी बिद्यालय जाँदैछौं ।’

विद्यालयको समस्या समाधान गर्न ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले समेत पहल गर्नुभएको थियो । तर, बारम्बार सम्झाउँदा पनि प्रधानाध्यापक स्वयंम्ले अटेर गरेको मेयर नेपालीले बताउनुहुन्छ । ‘बच्चाले कमजोरी गर्न सक्छ, बच्चा काँचो माटो हो, जस्तो बनायो, त्यस्तै हुन्छ,’ नगर प्रमुख नेपालीले भन्नुभयो, ‘बच्चाको सामान्य कमजोरीलाई आधार बनाएर विद्यालयबाट निस्काशित गर्नु, परिक्षामा सामेल हुने बतावरण नगराउनु बालकको शिक्षाको अधिकार र भविष्यमा गम्भिर खेलवाड हो ।’

जिल्ला शिक्षा समन्वय इकाई बागलुङले पनि प्रअ बुढाथोकीलाई यसबारेमा स्पष्टीकरण सोधेको थियो । समन्वय इकाइ प्रमुख कुश्माराज उपाध्यायले आफू विद्यालयमै गएर बच्चालाई स्कुलमा आउन नदिनुको कारण सोधेको बताउनुभयो । ‘विद्यालयबाट बच्चालाई निस्काशित गरेको भन्ने जानकारी आएपछि म आफैँ गएर प्रअलाई यसबारे स्पष्टीकरण सोधेको थिए,’ उपाध्यायले भन्नुभयो, ‘यस्तो संवेदनशिल बिषयमा विद्यालय र प्रअको तर्फबाट कुनै पहल भएको देखिएन ।’ विद्यालय र प्रअलाई पटक पटक आग्रह गरेर बच्चालाई पहिलो दिन परिक्षामा सहभागि गराउन लगाएको उहाँले बताउनुभयो । शिक्षा प्रमुख उपाध्यायले प्रअ बुढाथोकीलाई स्पष्टीकरणले मात्रै नपुग्ने भएकाले थप कारबाही गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रअलाई कारबाही गर्नेबारे नियम, विधिमा के छ, त्यो हामी हेर्दैछौं, प्रअ बुढाथोकीलाई अब थप कारबाही गर्छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *