बागलुङ नगरपालिकाको रामरेखामा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिकाको आयोजनामा एक दिने बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नं १ लाई बालमैत्री वडा बनाउने उद्देश्यले बालबालिका र सरोकारवालका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बाल क्लव गठन प्रक्रिया, सञ्चालन तथा क्षमता विकास सम्बन्धी बिषयमा अभिमुखीकरण दिइएको थियो । वडा नं १ लाई बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने वडाको रुपमा पहिचान गराउन तथा बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासन सहितको नगरपालिकाको रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडा अध्यक्ष जय बहादुर के.सीले जानकारी दिनुभयो ।

कार्यक्रममा बालभेला सञ्चालन तथा विकास, बालमैत्री स्थानीय शासनको अवधारणा तथा यससँग सम्बन्धित सूचकहरु आदिका वारेमा छलफल भएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बालमैत्री स्थानीय शासन अवलम्बन गर्नको लागि आवस्यक सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै बालबालिकाको क्षेत्रमा अभियानको रुपमा निरन्तर लाग्नको लागि सरोकारवलाहरु सबैलाई अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठ, वडा नम्बर १ बाल सञ्जालका अध्यक्ष समिर रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका विकास अधिकृत सरस्वती रेग्मीले गर्नुभएको थियो ।

कार्यक्रममा चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले सामाजिक दायित्व सम्बन्धि नाटक तथा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य तथा गायन प्रस्तुती गरेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय बहादुर के.सीको अध्यक्षता, प्रिसियस मन्टेश्वरीका शिक्षकप्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, बागलुङ नगरपालिका वडा नम्बर १ स्थित सामुदायिक तथा संस्थागत गरी ६ वटा विद्यालयका विद्यार्थीहरु, शिक्षक, वडाका महिला स्वयंसेविकाहरु, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, आमा समुहका सदस्यहरू, वडावासीहरू सहित ५०० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *