करोड लागतमा बन्दै कुकुर होस्टेल

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु. एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्न लागेको छ । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालन पोषण सहितको होस्टेल बनाउने अवधारणा ल्याएको थियो ।

सोही अवधारणा अनुसार नगरपालिकाले नवप्रबद्धन कार्यक्रम अन्र्तगत मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा माघ २५ गते सम्झौता गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको नवप्रद्र्धन कार्यक्रम अनुसार रु. एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापन गर्न थालिएको कँडेलले भन्नुभयो ।

बागलुङ नगरपालिकाले पृथक नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न थालिएको बताउदै कुकुरलाई होस्टेल निर्माण गर्नका लागि मुख्यमन्त्रीको कार्यालयसंग सम्झौता गरिएको कँडेलको भनाई छ ।

“बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत रु. २० लाख बजेट बिनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसंग साझेदारीमा रु. एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापन सहितको सम्झौता गरिएको हो” कँडेलले भन्नुभयो “बागलुङ नगरपालिकाले असार भित्रै कुकुरलाई होस्टेलमा राख्न शुरु गर्नेछौं, होस्टेलमा पशु चिकित्सक सहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुन्छ, कुकुर होस्टेलको दीर्घकालिन व्यवस्थापनका लागि पुन अन्य संघ संस्थासंग साझेदारी गर्न सकिन्छ ।”

कुकुर होस्टेल निर्माण गर्नका लागि बागलुङ नगरपालिका–१३ कालाखोला, ढोडेनी खोला, बागलुङको पाङ्ग्रेखोला आसपासमा कुकुर होस्टेलका लागि ठाउँ हेरिरहेको बागलुङ नगरपालिकाको भनाई छ ।
कुकुर हास्टेलका लागि बागलुङ नगरपालिकाले रु. ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु. ६५ लाख बजेटमा कुकुर होस्टेल निर्माण गर्नका लागि सम्झौता भइसकेकाले अब कार्यन्वयमा जान थालेको बताउनुभयो ।

बागलुङ बजारमा कुकुरको बिगबिगी भएकाले दीर्घकालिन नियन्त्रणका लागि होस्टेल बनाउन थालिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । पाँच रोपनी जग्गामा होस्टेल बनाउने बागलुङ नगरपालिकाको आयोजना रहेको छ । बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्नका लागि कुकुर होस्टेल निर्माण थालिएको हो ।

जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुरलाई होस्टेलमा राखिने भएको छ । होस्टेलमा राखिएका कुकुरहरुलाई पाल्न चाहनेले सम्झौता गरेर लैजान सक्ने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले ल्याएको नीति कार्यान्वयनमा गएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको छ । घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने समेत नीति लिइएको छ । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *