देश र डरलाग्दो ‘ड्रपआउट’

सम्पादकीय
उच्च शिक्षा (कलेज) छोड्ने दर अर्थात् ‘ड्रपआउट’ देशमा डरलाग्दो अवस्थामा पुगेको छ । बिभिन्न तथ्य, तथ्यांकहरुले समेत नेपालमा पछिल्लो समय ‘ड्रपआउट’ ठुलो संख्यामा बढ्दै आएको देखिएको छ । स्नातक तह र स्नातकोत्तर तहको पहिलो वर्ष तथा सेमेस्टरमा भर्ना भएका विद्यार्थी अन्तिम वर्ष तथा अन्तिम सेमेस्टरसम्म पुग्दा ४० प्रतिशत ‘ड्रपआउट’ हुन्छन् । त्रिविका आंगिक तथा निजी क्याम्पसहरूमा पाँच लाख १७ हजार हाराहारी विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । हाल स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीको तथ्यांक मात्रै त्रिविले राख्ने गरेको छ । यद्यपि, यस्तो डरलाग्दो रुपमा देखिएको बीचमै पढाइ छाड्ने ड्रपआउटको तथ्यांक त्रिभुवन विश्वविद्यालयसँग छैन ।

किन पछिल्लो समय विश्वविद्यालयमा बिचमै पढाई छोड्ने दर बढ्दो छ त ? यसका कारणहरु धेरै छन् । उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीकै कारण ‘ड्रपआउट’ धेरै भएको कुरा सत्य हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार नेपालबाट उच्च शिक्षाका लागि पाँच वर्षमा चार लाख चार हजार १३९ विद्यार्थी बाहिरिएका छन् । त्यस्तै, चालु आर्थिक वर्षको पुस समान्तसम्म ५१ हजार ६३१ छ भने गत आर्थिक वर्षमा मात्रै एक लाख १० हजार २१७ जना बाहिरिएका छन् । विद्यार्थी बाहिरिने कारण यतिमा मात्रै सीमित भने छैन । विद्यार्थी बिदेसिनुको मुख्य कारण देशको अस्थिरता, बेथितिसँगै रोजगारसँग जोडिएको छ । अर्को तर्फ नेपालको शिक्षा महँगो बन्दै गएको छ । जुन सामान्य आर्थिक अवस्था भएका विद्यार्थीले थेग्न कठिन छ । विदेशमा पढ्दै पैसा कमाउन समेत सकिने भएकाले यस प्रतिको आकर्षण व्यापक छ । नेपालको नेतृत्वप्रति युवाहरूको विश्वास घट्दो छ,आक्रोश बढ्दो छ । रोजगारीको अवसर छैन । सत्ता, शक्ति र त्यस निकटमा हुनेहरुको हालीमुहाली छ ।

क्याम्पस विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीमध्ये कति ‘ड्रपआउट’ भए भन्ने यकिन तथ्यांक नहुनु बिडम्बना हो भने त्यो भन्दा अझ गम्भीर सवाल त विश्वविद्यालयको उच्च शिक्षाको पढाई बिचैमा छोडेर दैनिक ठुलो संख्यामा विदेशिदा पनि त्यसको कारणको खोजी, बिश्लेषण र समाधानका लागि कुनै पहल कोशिस नगर्ने अर्को दुर्भाग्यपूर्ण कुरा हो । देशमा व्यवस्था उन्नत भए पनि त्यस अनुसारको नेता, कर्मचारी, नागरिकको आचरण, कार्यशैली र व्यवहारमा बदलाव नआउँदा निराशा बढ्दो छ । देशमा योग्य, क्षमतावान व्यक्तिको कदर भन्दा पनि आफू र आफ्ना नजिकको, चाकडी र भक्तिगान गाउनेहरुलाई काखी च्याप्ने चलनले इमान्दार, असलहरु बढी प्रताडित बनिरहेका छन् । नयाँ पुस्ता वर्तमान नेतृत्व तथा राज्य प्रणालीलाई विश्वास नै नगर्ने अवस्थामा पुग्न थालेका छन् । अर्को कुरा पढाइमा लगानी गरेअनुसारको प्रतिफल अर्थात् रोजगार, व्यवसायिक सम्भावना पनि नदेख्दा बाहिरिने समस्या बढ्दो छ । सरकारी नीति, नियम सही नभएका कारण विद्यार्थी दिक्दार छन्, उनीहरू पढ्दापढ्दै बेचैन भएर विदेश जाने वा ‘ड्रपआउट’ हुने समस्या पनि छ । तसर्थ, यी र यस्ता कारणहरुको यथोचित पहिचान, बिश्लेषण गरेर समयमै विकल्प समाधान खोज्न सरकार, त्रिभुवन विश्वविद्यालय, कलेज र अरु सम्बन्धित निकायहरुले कदम चाल्नुपर्छ । अन्यथा, भोलिका दिनमा समस्या थप जटिल बन्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *