रोहन जि.सी, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर २ स्थित फ्युचर ब्राईटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजित कक्षा ६ सम्मका विद्यार्थीको फुटसल प्रतियोगिता शुरू भएको छ ।
आइतबार सम्पन्न पहिलो र दोस्रो समिकरणको १२ खेलबाट गुराँस विद्या सदन र न्यू एभरेष्ट एकेडेमी सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै दोस्रो चरणको २ खेल बाँकी रहेको छ जसमध्ये रूद्रेपिपल मा.वि र धौलागिरी विरेन्द्र मा.वि तथा अमर आदर्श मा.वि र फ्युचर ब्राईटर (ए) बिच सेमीफाइनलका लागि खेल हुने फ्युचर ब्राईटरका शिक्षक टिकाजित पुनले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेल क्षेत्रले विद्यार्थीमा अनुशासन कायम हुने संगै पछिल्लो समय निजी क्षेत्रका विद्यालयले खेल क्षेत्रमा राम्रो लगानी गर्न थालेको भन्दै यसले राम्रो परिणाम समेत दिने बताउनुभयो ।
कार्यक्रममा एनप्याब्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, गण्डकी प्रदेश सदस्य निसान खड्का, नेपाल पत्रकार महासघ बागलुङका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, विद्यार्थी मन्दिरा थापाको स्वागत, शिक्षक सुवर्ण मल्लको संचालनमा सम्पन्न भएको थियो ।
खेल मार्फत बालबालिकालाई तन्दुरुस्त र अनुशासित बनाउने लक्ष्यले खेल आयोजना गरिएको विद्यालयका प्रधानध्यापक बालकृष्ण शर्माले बताउनुभयो ।
खेलमा १८ विद्यालयको सहभागिता रहेको छ । खेलमा विजेताले १२ हजार नगद, मेडल र ट्रफी तथा उपविजेताले ६ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक लवसन थापाले जानकारी दिनुभयो ।