झाडीले घेरिएको पाखो जग्गा बन्यो कागती बगैचा


खेमराज गौतम, बागलुङ
भिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्ष अघिको झाडिले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रिबाट ६ लाख कमाई समेत ग¥यो ।

बाँझो जग्गामा कागती खेतीको संभावना देख्नुभएका बागलुङको गलकोट नगरपालिका–११ रिघाका ३५ वर्षीय दान बहादुर श्रीषले २०७६ सालमा लगाउनुभएको एक हजार २०० कागतीका विरुवाले पहिलोपटक कागती उत्पादन दिएका छन् । उहाँले उत्पादन गरेको कागती काठमाण्डौ र पोखरा निर्यात भइसकेको छ ।

रिघाका श्रीसले बाँझो जग्गामा कागती खेती गर्ने उदेश्यले उक्त जग्गा खरिद गर्नुभएको थियो । उक्त झाडिले घेरिएको बाँझो जग्गा अहिले कागती बगैचा बनेको छ । गाउँको बाँझो रहेको जमीन खरिद गरेर २०७६ साउनमा एक हजार २०० कागतीका विरुवा लगाउनुभएको श्रीसले पहिलो पटक रु. ६ लाखको कागती विक्रि गरेको बताउनुभयो ।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागती खेती गर्नुभएको हो । “कागतीको संभावना देखेपछि ३६ रोपनी जग्गामा कागती खेति थालेको २०७६ सालमा हो, पाँच वर्ष पुरा हुँदा कागती फल्यो, पहिलो वर्षनै ६ हजार केजी कागती उत्पादन भएको थियो, होलसेल मुल्य रु. सय प्रति केजीका दरले कागती विक्रि गरे” श्रीसले भन्नुभयो “खाली र झाडी बन्दै गएको जमीनमा कागती खेतीसहित बाख्रापालनको उदेश्य थियो, बाख्रापालन छोडे, अब कागतीबाट राम्रो संभावना देखेको छु ।”

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद संगै हाल सम्म रु.३० लाख लगानी गरिसकेको श्रीष बताउनुहुन्छ । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फार्म दर्ता गरेर कागती खेतिमा आकर्षति हुनुभएको हो ।

गलकोट सहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागती खेतिमा लागेको उहाँको भनाई छ ।

बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोप्नुभएको श्रीसको कागती बगैचा अहिले हराभरा भएको छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउनुहुन्छ ।

“युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ, कागती खेतीलाई सय रोपनी भन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु” उहाँले भन्नुभयो “सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फर्मलाई राहत हुँदैन ।”

गलकोट नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष श्रीषको भनाइ छ ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले कागती खेतीमा अनुदान दिंदै आएको पाइएको छ ।
गलकोटमा पछिल्लो समय कागतीखेती फष्ठाउन थालेको छ । गलकोटका एक दर्जन भन्दा बढी किसानहरु अहिले कागती खेतीमा आकर्षित भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *