गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगर

डम्मर बुढा मगर, बागलुङ
जैमिनी नगरपालिकाले गाउँ–गाउँमै पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले सयम–समयमा विशिर संचालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ दिन थालेको हो । दूर दराजका नागरिक गाउँमा ठूला रोग पालेर बस्ने हुँदा नगरपालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरि उपचार गरि रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेको हुँदा महिना–महिनामा गाउँमै पुगेर निशुल्क शिवर संचालन गरि रहेको उहाँको भनाइ छ ।

नगरपालिकाले माघ महिनामा मात्रै तीन वटा विशेषज्ञ डाक्टरसहितको शिविर गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो हप्ता पालिका केन्द्र कुश्मिसेरामा दिई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नम्बर ७ र ८ का नागरिकलाई लक्षित गरि छिस्तीमा छाला रोग सम्बन्धि शिविर सम्पन्न गरेको बताउनुभयो । आइतबार वडा नम्बर वडा नम्बर २ र ३ लाई लक्षित गरि दमेक स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको उहाँको भनाइ छ । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भनि अघिल्लो वर्षदेखिनै गाउँमा पुगेर स्वास्थ्य शिविर गर्दै आएको उपप्रमुख शर्मा बताउनुहुन्छ ।

“हरेक नगरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने हिसाबले जैमिनी नगरपालिका लागि परेको छ, सीमित स्रोत साधानका बीच पनि हामीहरुले सबै नागरिकलाई शिविर संचालन गरेर भए पनि विशेषज्ञ सेवा दिनु पर्छ भनेर लागेका छौँ, सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था त छैन, यद्यपी समय–समयमा यस्ता खाले शिविरले नागरिकलाई राहत मिल्छ” शर्माले भन्नुभयो – “पालिकाको सबै वडामा पुगेर हामीहरुले सेवा दिइ रहेका छौँ, सामान्य सेवा त स्वास्थ्य चौकीबाट नियमित लिई राख्नु भएको छ ।”

पोखरा, बागलुङ लगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुलाई लिएर गाउँ–गाउँमा शिविर संचालन गरेको उहाँको भनाइ छ । डाक्टर ओमकुमार श्रेष्ठ, बालरोग विषेयज्ञ किरण शर्मा, स्त्रीरोग विशेषज्ञ विष्णु पालिखे, फिजिसियन सरोजचन्द्र बराल लगायतको टोलीले गाउँमै गएर सेवा दिएको उहाँले बताउनुभयो । शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्मा बताउनुहुन्छ । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको चेक जाँच, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोग लगायतको बिरामीको स्वास्थ्य परीक्षण, उपचार र निशुल्क औषधी वितरण गर्नुका साथै गम्भीर रोगका बिरामीलाई समयमै उपचारका सुझावसमेत दिने गरेको उहाँको भनाइ छ ।

वडा नम्बर २ की ७२ वर्षीया लिला देवी सापकोटा आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमै डाक्टर आएर सेवा दिएपछि दंग परेको बताउनुभयो । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको सुनाउँदै अस्पताल टाढा हुँदा चेकजाँच गर्न नपाएको सुनाउँदै अहिले गाउँमा डाक्टर आएको बेला चेक गराउनु पाएको बताउनुभयो । गाउँमा धेरै बुढाबुढीहरु बिरामी रहेको र डाक्टरले गाउँमा आएर सहज रुपमा स्वास्थ्य परीक्षण गरि उपचार गरेको सापकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो – “सामान्य रोगहरुको त यहीँ गाउँमा उपचार पाइन्छ, अति जटिल खालको रोग लाग्यो भने त बागलुङ, पोखरा र काठमाडौँ पुग्नु पर्छ, टाढा जाँदा हजारौँ रुपैयाँ खर्च पनि हुन्छ, नजिकमा राम्रो अस्पताल छैनन्, नगरपालिकाले हाम्रै गाउँमा ठूला डाक्टरहरु लिएर घरमै उपचार गराउन पाउँदै निकै खुसी लाग्यो, सरकारले जनताको भावना बुझ्न थालेछ ।”

स्थानीय पशुपति सापकोटा विशेषज्ञ डाक्टरसहित शिविरले गाउँका थुप्रै नागरिकले सेवा लिएको बताउनुभयो । सामान्य सुगुर नाप्नका लागि बागलुङ पुग्नु पर्ने भन्दै गाउँमा शिविर आएको बेला यहीँ सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नु भयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको भन्दै थप दक्ष जनशक्ति सबै स्वास्थय चौकीहरुमा व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *