पशु विज्ञानमा विद्यार्थीको आकर्षण

आदर्श अनलाइन, बागलुङ
कुनै दिन भरिभराउ विद्यार्थी हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालय एक दशक अघि विद्यार्थी अभावमा बन्द हुँने अवस्थामा पुग्यो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण सदरमुकाम नजिकै रहेको उक्त विद्यालयमा विद्यार्थी संख्या घटेपछि विद्यालयमा प्राविधि धार तर्फ अध्यापन गराउन थालियो । विद्यालये २०७३ सालबाट प्राविधि धार तर्फ अध्यापन गराउन थालेपछि विद्यार्थीको संख्या पुन उकालो लाग्न थालेको छ ।

अहिले टाढा–टाढाबाट पशु विज्ञान अध्ययनका लागि विद्यालयमा पढ्न आउनेको संख्यामा वृद्धि भएको छ । अहिले साधारण शंंकायमा समेत विद्यार्थीको चाप बढ्न थालेको मात्रै छैन पुन निजी छोडेर यस सामुदायिक विद्यालयमा विद्यार्थीहरु आउन थालेका छन् । सामुदायिक विद्यालयमा सञ्चालित पशु विज्ञानको पढाई प्रति विद्यार्थीको आकर्षण बढेको मात्रै छैन निम्नबर्गीय परिवारबाट प्राविधि शिक्षा अध्ययन गर्नेको संख्यामा वृद्धि भएको छ ।

विपन्न परिवारका छोराछोरीले प्राविधिक धारमा निःशुल्क अध्ययन गर्न पाउने भएपछि छिमेकी जिल्ला म्याग्दी सहित जिल्लाका दुर्गम पालिकाबाट समेत विद्यार्थी आउन थालेका छन् । २०७३ सालमा जिल्लामै पहिलो पटक प्राविधिक धार तर्फ पशु विज्ञानमा कक्षा ९ देखि १२ सम्म अध्यापन गराउन थालेको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयले प्राविधिक धारमा अध्यापन थालेपछि पुन जागरुक भएको पाइएको हो ।

पहिलो वर्ष १६ जना विद्यार्थीबाट पशु विज्ञान तर्फ अध्यापन गराउदै आएको विद्यालयमा हाल ७४ जना विद्यार्थीले पशु विज्ञान तर्फ अध्यापन गर्दै आएको विद्यालयका पशु विज्ञान संयोजक डा. आशिष सापकोटाले जानकारी दिनुभयो । “सबै परिवारका छोराछोरीले पशु विज्ञान जस्तो प्राविधि विषय पढ्न सक्दैनथे, नेपाल सरकारले सरकारी विद्यालयमा पशु विज्ञान अध्यापन गराउन थालेपछि जिल्लामै पहिलोपटक यसै विद्यालयले पशु विज्ञान अध्यापन गराउन अनुमती पाएको थियो” आशिष सापकोटाले भन्नुभयो “पशु विज्ञानमा म्याग्दी सहित जिल्लाका दुर्गम पालिकाका विद्यार्थीको आकर्षण छ, प्राविधिक धार र अंग्रेजी माध्यममा पढाई हुनथालेपछि नीजि विद्यालयल छोडेर सामुदायिक विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।”

विद्यार्थी अभावमा झण्डै बन्द हुने अवस्थामा पुगेको विद्यालयमा कक्षा १ देखि १२ सम्म ३५० विद्यार्थी अध्ययन गर्दै आएका हुन् । म्याग्दी जिल्लामा पशु विज्ञानको पढाई नहुँने र आफूले पशु विज्ञान अध्ययन गर्न चाहेकोले बागलुङमा आएर पशु विज्ञान पढ्न थालेको म्याग्दी जिल्लाको भकिम्ली निवासी कक्षा १२ मा पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थी सनम सुनारले बताउनुभयो ।

“पशु विज्ञान जस्तो प्राविधिक धारमा राम्रो संभावना देखेर म्याग्दीबाट अध्ययन गर्नका लागि बागलुङको धौलागिरी विरेन्द्र माध्यामिक विद्यायमा आएको थिए” सुनारले भन्नुभयो “प्राविधि धारमा अध्ययन गर्दा जागिरको सुनिश्चितता र नेपालमै उज्जल भविश्वका लागि पशु विज्ञान अध्ययन गर्न थालेको हो ।”

बागलुङ सदरमुकाम संग जोडिएको बागलुङ नगरपालिका–३ रात्माटामा रहेको धौलागिरी विरेन्द्र माध्यामिक विद्यालयमा पशु विज्ञानले हामीजस्ता विद्यार्थी आर्कषित गरेको अर्का विद्यार्थी सचिन गौतमले जानकारी दिनुभयो ।

नेपालमा राम्रो संभावना भएको र हाम्रो दैनिकीमा समेत प्रयोगमा आउने भएकाले पशु विज्ञानमा आकर्षीत भएको गौतमको भनाई छ । “पशु विज्ञान अध्ययन गर्दा देशमा तथा विदेशमा दक्ष जनशक्तिका रुपमा खपत भइरहेका कारण सरकारी विद्यालयमै पशु विज्ञानको अध्ययन गरिरहेको छु” गौतमले भन्नुभयो “क्षमता भएर समेत प्राविधिक अध्ययन गर्न नसकेका विद्यार्थीहरुलाई विद्यालयमा सञ्चालित पशु विज्ञान संकालयले ठूलो राहत मिलेको मैले पाएको छु ।”

२०२१ सालमा स्थापना भएको विद्यालयमा एक हजार बढी विद्यार्थीले कुनै समय अध्ययन गर्ने भएपनि २०६८ सालमा एक कक्षा देखि १० सम्म जम्मा ६८ जना विद्यार्थी रहेका थिए । समुदायको पहलबाटै पुन विद्यालयलाई सुधार गर्न थालिएको र अहिलेको समयमा बजारमा आवश्यक जनशक्ति उत्पादन गर्न थालेपछि विद्यार्थीहरु पुन आर्कषित भएपछि अहिले विद्यार्थीको संङ्ख्या ३५० पुगेको छ ।

२०६८ सालदेखिनै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुँन थाल्यो, त्यसपछि प्रयोगशाला, कम्प्युटर कक्षा संगै प्राविधिक धार तर्फ पशु विज्ञान अध्यापन गराउन थालेपछि विद्यार्थीको संख्यामा वृद्धि भएको विद्यालयका प्रधानध्यापक भुमिराज गौतमले जानकारी दिनुभयो ।

कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यम, कक्षा ११ र १२ अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गराउन थालिएको छ । यस्तै २०७३ सालदेखि पशु विज्ञान तर्फ कक्षा ९ देखि १२ सम्म अध्यापन भइरहेको विद्यालयले जनाएको छ ।

जिल्लामा धौलागिरी विरेन्द्र माध्यामिक विद्यालय पछि पशु विज्ञान विषयमा ताराखोला गाउँपालिकाको नेपाल माध्यामिक विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माध्यामिक विद्यालयमा पढाई हुँने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *