अब फेरि ‘बालकुमारी’ घटना नदोहोरिओस्

सम्पादकीय
गत १३ पुसमा ललितपुरको बालकुमारीमा दुखद घटना भयो । जहाँ दुई युवकले अनाहकमा ज्यान गुमाए । बालकुमारी स्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भयो । शाहको गोली लागेर तथा रावतको अश्रुग्यासका कारण मृत्यु भयो । यस घटनाले सिंगो देश स्तब्ध र तरंगित बन्यो । सरकारी दमनको सर्वत्र आलोचना र आन्दोलन भयो । त्यसपश्चात सरकारले यसबारे छानविन गर्न समिति पनि बनायो । यही बिचमा ललितपुरका सिडिओ रुद्र पण्डित र एसएसपी सिद्धिविक्रम शाहलाई हटाइयो । आयोगले उनीहरूलाई भने कारबाहीको सिफारिस गरेको छैन । बरु मन्त्री ज्वालाका पिएसओले भिड रहेको स्थानमा मन्त्रीलाई जान दिन नहुनेमा नरोकेको भन्दै कारबाही सिफारिस भएको छ ।

मन्त्रीको पिएसओ मात्र होइन, पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले यातायातमन्त्री प्रकाश ज्वालाको गैरजिम्मेवारपन र प्रहरीले वस्तुस्थितिको सही मूल्यांकन नगरी गोली चलाएको औँल्याएको छ । एकातर्फ आन्दोलन भइरहेको स्थानमा जान नहुने र अर्काेतर्फ उनले गाडी एकतर्फी बाटोमा समेत लगिएको औँल्याइएको छ । घटनामा मन्त्रीको पनि जिम्मेवारी औँल्याए पनि उनीमाथि कारबाहीको विषयमा भने प्रतिवेदनमा मौन छ । फिल्डमा खटिएका डिएसपी उमेश लम्साल तथा मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवारलाई भने विभागीय कारबाहीको सिफारिस गरेको छ । दुवैजना हाल निलम्बनमा छन् । डिएसपी लम्सालले तहगत रूपमा बल प्रयोग गर्नुपर्नेमा एक्कासि गोली चलाउन आदेश दिएको प्रतिवेदनमा उल्लेख छ । समितिले मन्त्री ज्वालाको गाडी जल्नुअघि नै गोली चलेकोसमेत निष्कर्ष निकालेको छ ।

यो घटनाको तथ्य ढिलै भए पनि जे आएको छ, यसले नेपालको सरकार, सरकारी संयन्त्र कसरी सञ्चालित र परिचालित छ ? कति आग्रह, पूर्वाग्रह, गैरजिम्मेवारीपनमा चलिरहेको छ, प्रष्ट देखिएको छ । यस घटनामा दुई उदीयमान युवाले अनाहकमा ज्यान त गुमाउन प¥यो नै, परिवारले आशा, भरोसा गुमाएका छन् । यो मानवीय क्षतिको राज्यले कुनै पनि हिसाबले क्षतिपुर्ति गर्न सक्ने छैन । फेरि पनि जे भयो, त्यसमै दुखेर, अल्झिराखेर समय बर्बादी गर्नु पनि हितकर हुने छैन । यस घटनामा संलग्नलाई यथोचित कारबाही त जरुर हुनुपर्छ नै, भोलिका दिनमा यी र यस्ता चरम लापरबाही र बेवास्ताबाट दुःखदायी घटना नदोहोरिने तर्फ पनि राज्य, यसका संयन्त्र, मन्त्री, नेताहरुले सचेतता र जिम्मेवारीपूर्वक सोच्नु पर्दछ । न कि भोलिका दिनमा फेरि यस्ता घटना नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *