अनन्तश्री ब्राह्माण्डीय महायज्ञ तयारी अन्तिम चरणमा : १०८ कन्याले उद्घाटन गर्ने

डम्मर बुढा मगर, बागलुङ
सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म संचालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै, मालढुङ्गादेखि पञ्चकोटसम्म स्वागत गेट निर्माण गर्नुका साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको हो । जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान पनि गरिएको छ । महायज्ञमा हजारौँ भक्तजनहरु उपस्थित हुने हुँदा उहाँहरुका लागि आवास, भोजनालय, लिङ्गा गाडुने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथदेखि त्रिवेणी धामसम्मका १०८ जना नौ वर्षका कन्याले उद्घाटन गर्ने छन् । कालीगण्डकीको तिरदेखि शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरि सकेको उहाँको भनाइ छ । महायज्ञमा नौ जना कन्याहरुको उचाई बराबरको नौ वटा मौलो राखिने अध्यक्ष दाहालले बताउनुभयो ।

नौ वटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिँउ र मासको रहने उहाँ बताउनुहुन्छ । जसका लागि सबै थरी अन्न व्यवस्थापनसमेत गरि सकेको दाहालको भनाइ छ । महायज्ञमा १० गते राष्ट्रपति रामचन्द्र पौडेल ११ गते शिक्षा मन्त्री अशोक कुमार राई तथा संस्कृति विद्हरु, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सात वटै प्रदेशका मुख्यमन्त्रीहरु, १४ गते प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषि मन्त्री डा. बेदुराम भुषाल लगायतका अतिथीहरु आउने हुँदा सोही अनुसारको व्यवस्थापनलाई तीव्र पारिएको अध्यक्ष दाहाल बताउनुहुन्छ ।

महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्राई सकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई सबै धानले पुर्ने बताउनुभयो । त्यसका लागि २१ हजार क्युन्टल धानसमेत पञ्चकोटमा ल्याइसकेको उहाँले जानकारी दिनुभयो । महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुख्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभयो – “हामीहरु ब्रह्माण्डीय महायज्ञको तयारीको अन्तिम चरणमा छौँ, आन्तरिक तथा बाह्य व्यवस्थापन पूरा भइसकेको छ, अब केही ठाउँमा स्वागत गेट, पञ्चकोट धाममा ध्वजापतेका लगायतका काम बाँकी छ, मौलोका लागि धान र नरिवलको व्यवस्थापन भएको छ, १०८ कन्या पनि सम्पर्कमा लिएका छौँ, यहायज्ञमा टाढा–टाढादेखि पाहुनाहरु आउने हुँदा आवास तथा भोजनालयदेखि अन्य व्यवस्थापन भने गरि सकेका छौँ ।”

सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । करिब नौ वर्षदेखि निर्माणधिन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गदै आएको उहाँको भनाइ छ । विभिन्न समयमा महायज्ञहरु संचालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “विसं २०७१ अगाडि पञ्चकोटको स्वरुपनै अर्कै थियो, अहिले धेरै फरिएको छ, यो महायज्ञले देशभरका धार्मिक व्यक्तिहरुलाई एक पटक पञ्चकोटमा आउन प्रेरित गर्ने छ, यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने त गरेका छन्, यो महायज्ञ पश्चात यहाँ आउनेको संख्या पनि बढ्ने अपेक्षा लिएका छौँ ।”

पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्राउन लक्ष्य राखिएको छ । यस अवधिमा हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिने छ । त्यसका लागि विषय विज्ञहरुको सहभागिता हुने भएको हो । मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा हुन लागेको महायज्ञलाई व्यवस्थापन बनाउनका लागि स्थानीयसमेत परिचालित भएका छन् । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताउनुभयो ।

मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न ब्रह्माण्डीय महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । महायज्ञले पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि पनि सहयोग पुग्ने स्वामी कमलनयनाचार्य बताउनुहुन्छ ।

“यो महायज्ञ एउटा धर्मको मात्रा नभएर प्रकृति, पर्यावरण, जल सम्पदा, शिक्षा प्रणालीका सम्बन्धमा गरिन लागेको हो, यसले सबै नेपालीलाई जोड्ने छ, गण्डकी प्रदेशका सबै पालिकालाई पञ्चको आफ्नो भएको अपन्नत्व गराउने छ, हामीहरुले सबै दलका, सबै क्षेत्रका व्यक्तिहरुलाई यो महायज्ञमा सहभागी गराउने छौँ,” स्वामी कमलनयनाचार्यले भन्नुभयो – “महायज्ञका लागि गण्डकी प्रदेशका सबै धार्मिक स्थलहरुलाई सहआयोजकका रुपमा राखेका छौँ, सरकारले जुन लक्ष्य राखेको छ, पर्यटनमार्फत समृद्धि गर्ने, त्यसलाई पूर्णता दिन पनि महायज्ञले टेवा पुग्छ भन्ने लागेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *