डम्मर बुढा मगर, बागलुङ
अत्याधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय संचालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि संचालनमा आएका हुन् । विद्यालय संचालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बर्खामा भने संचालन हुने गर्छन् ।
ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय गत पौष १५ गतेदेखि बन्द भएका थिए । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाईका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको थियो ।
ढोरपाटन उपत्यकामा विद्यालय स्थपाना भएर संचालनमा आएदेखि हिउँदको डेढ महिना चिसोका कारण बन्द हुने गरेको पाखाथर स्थित ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । ढोरपाटनमा अत्याधिक चिसो हुने हुँदा पुस र माघ महिनामा पठनपाठन गर्न नसकिने भन्दै अहिले विद्यालय संचालनमा आए विद्यार्थी र शिक्षक बिरामी परेको उहाँको भनाइ छ । विद्यार्थीहरुको आँखाबाट आँशु बगि रहने, रुघाखोकी लाग्ने, ज्वरो आउने गरेको भन्दै शिक्षकहरुमा पनि त्यो समस्या देखिदा पठनपाठन प्रभावकारी बन्न नसकेको उहाँ बताउनुहुन्छ ।
जाडो बिदा भएपछि बेसी झरेका बालबालिका एक्कासी ढोरपाटन आएर पठनपाठन गर्दा बिरामी परेको अदैको भनाइ छ । जाडोको बेला लेक (ढोरपाटन)मा भन्दा बेसी (बोबाङ, अधिकारीचौर) क्षेत्रमा कम चिसो हुने हुँदा अधिकांश बालबालिका बेसी झर्ने गरेको उहाँले बताउनुभयो । ढोरपाटन उपत्यकाका विद्यालय बन्द हुँदा बेसी झरेका विद्यार्थीले पाइक पर्ने विद्यालयमा गएर पढ्नेसमेत गरेको प्रधानाध्यापक अदैको भनाइ छ । आफ्नो विद्यालयमा १८१ विद्यार्थी रहेकोमा अहिले १५० मात्रै आएको उहाँले बताउनुभयो ।
अदैले भन्नुभयो – “दिउसोमा जाडो केही कम छ, तर विहान र साँझी निकै चिसो छ, बेसीबाट आएका धेरै बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको छ, शिक्षकहरु पनि बिरामी पर्नु भएको छ, वर्षौँदेखि यस्तै समस्या भोग्दै आएका छौँ, मध्य पुसमा बन्द गर्नु प¥यो, फागुनमा संचालन गर्न प¥यो, दुर्गम क्षेत्रका विद्यालयमा राज्यले अन्य सुविधा दिनु पर्ने हो तर केही सुविधा छैन, बालबालिकाले निकै दुःख पाएका छन् ।”
ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले लामो समयदेखि हिउँदमा बन्द गर्ने र बर्खामा खुल्ने गर्ने नीति रहेको हुँदा सोही अनुसार ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय संचालन गरिँदै आएको बताउनुभयो । हिउँदमा चिसो हुने र विद्यार्थीहरु कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिने भन्दै बर्खामा भने बिदा नहुने उहाँको भनाइ छ । जनवादी आधारभूत विद्यालय भने बाह्रै महिना संचालन हुने गरेको सापकोटाले बताउनुभयो । यस विद्यालयको बोबाङमा पनि भवन रहेको हुँदा हिउँद बर्खा पढाई हुने उहाँको भनाइ छ । ढोरपाटन उपत्यका क्षेत्रका विद्यालयहरुमा ३०० बढी विद्यार्थी अध्ययनरत रहेको सापकोटले जानकारी दिनुभयो ।
“हिउँ परेको अवस्था छैन, चिसो त चिसोनै छ, यद्यपी विद्यालय फागुन १ बाटै खुलेका छन्, यो अहिलेदेखि सुरु गरेको हैन, धेरै वर्ष भयो, विद्यालयका भौतिक संरचना व्यवस्थित बनाउँदै शिक्षालाई गुणस्तरी बनाउँदै गएका छौँ, विद्यार्थीका समस्या छ, जाडो छ, गतिलो कपडा छैन, यसमा माथिल्लो निकायले पनि ध्यान दिन जरुरी छ,” उहाँले भन्नुभयो – “विद्यालयमा तह पनि थपि रहेका छौँ, यस वर्षदेखि पाखाथरको ज्योति विकास आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नती गरिएको छ, यस वर्षदेखि कक्षा ९ को पढाई सुरु भएको छ, अर्को वर्ष १० कक्षा पनि संचालन हुने छ ।”