चलायमान हुन थाले बागलुङका घरबास

डम्मर बुढा मगर, बागलुङ
पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम–स्टे)मा पर्यटक बढ्न थालेका छन् । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडो याम सुरु भएपछि पाहुन कम भएका थिए । माघ दोस्रो सातादेखि पुनः घरबासमा पर्यटक आउन थालेका हुन् । बागलुङमा आधिकारी रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता बिनानै संचालनमा छन् । जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ । कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन् । काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास संचालनमा छन् ।

पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डे स्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका–३ बेलढुङ्गामा रहेको बेलढुङ्गा सामुदायिक घरबास पर्छन् । भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमश्रृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोन गर्न सकिने र बेलढुङ्गाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन् । पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास संचालनमा रहेको हुँदा पर्यटकलाई खाना बस्नको लागि सहज भएको छ भने स्थानीयलाई आयआर्जनको माध्यम बनेको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेका घरबास संचालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटकहरु आउन थालेको बताउनुभयो । आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुन केही दिन बस्ने उहाँको भनाइ छ । भकुण्डेमा रहेको बराह ताल र भ्यूटारमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुने थापाले बताउनुभयो । पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उहाँ बताउनुहुन्छ । थापाका अनुसार महिनामा करिब ५०० पर्यटक घरबासमा बास बस्ने गरि आउने गरेका छन् ।

उहाँले भन्नुभयो – “अहिले पर्यटकहरु आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहार बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आई रहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन् छन्, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरि रहेका छौँ ।”

बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको संख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताउनुभयो । बाह्रै महिना नियमित पर्यटक नआउँदा घरबास संचालनमा समस्या भएको सुनाउँदै पर्यटन याम सुरु भएपछि घरबासमा सबै पाहुन आउने उहाँको भनाइ छ । घरबासलाई पाहुनाको चाहाना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउनुहुन्छ । बेलढुङ्गामा महिनामा झण्डै १५ सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउने उहाँको भनाइ छ ।

“घरबास संचालनमा नआउँदा धेरै पर्यटकहरुलाई समस्या थियो, घुम्दाघुम्दै रात प¥यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नु पर्ने स्थिती थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ” अध्यक्ष श्रीसले भन्नुभयो – “बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुनहरु आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखे संख्या राम्रो हो, पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न पनि लागि परि रहेका छौँ, पछि–पछि धेरै आउने अपेक्षा राखेका छौँ ।”

अतिथी सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताउनुभयो । अन्य समयमा पनि निरन्तर पर्यटकहरु आइ राखेको भन्दै यहाँका घरबास संचालकले लगानीसमेत गरि रहेको उहाँको भनाइ छ । खास गरि बागलुङ बजारबाट धेरै पाहुनाहरु आउने हुँदा घरबास संचालनमा समस्या नभएको थापा बताउनुहुन्छ । माघदेखि हालसम्म हजारौँ पाहुनलाई सेवा दिएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो – “पाहुना आउन थालेपछि लगानी गरि रहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरि रहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुँगुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छन्, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाए राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *