ढोरपाटनमा यस वर्षकै ठूलो हिमपात, जनजीवन कष्टकर

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात परेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । हिउँले सडक र गोरेटो परिदा स्थानीय वरपरसमेत गर्न सकेका छैनन् ।

हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिनुभयो । हिमपातले गर्दा ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएको भन्दै रातिदेखि भारी हिउँ परेको उहाँ बताउनुहुन्छ । यस पटकको हिमपात वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो गरेको थियो, रातिदेखि अलिअलि हिउँ परेको थियो, हिजो (बिहीबार) दिउसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन” अदैले भन्नुभयो – “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली त राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गत मंसिर १७ गते ढोरपाटन लगायत आसपासका क्षेत्रमा पहिलो पटक हिमपात भएको थियो भने माघ महिनाको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रो पटकको हिमपातले कृषक र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् । अहिले पनि मौसम खबर भइरहेको हुँदा अझै हिमपता हुने संभावना बढेको ढोरपाटनका होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो ।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर पारेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *