सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर बनेन : कंडेल

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान अध्यक्ष मिनराज कंडेलले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शुक्रवार बिहान बागलुङमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै कंडेलले सरकार गंभिर बन्ने हो भने सहकारीका समस्या समाधान गर्न समय नलाग्ने बताउनु भएको हो ।

सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण लगायतका प्रावधानहरुको कार्यान्वयन गर्न सक्ने हो भने सहकारीका धेरै समस्या समाधान हुन्छन, कंडेलले भन्नुभयो, सरकार सहकारीका समस्या समाधान गर्न गंभिर नबन्दा दिन प्रति दिन समस्या बढ्दै गएका छन् ।

सहकारीप्रतिको आकर्षण बढाउन र सहकारीमार्फत समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि सञ्चालकहरुले ऐन नियमको पूर्ण पालना गर्ने, सदस्यहरुले आफ्नो सेवा र दायित्व पहिचान गरेर मात्र कारोबार गर्ने तथा नियमनकारी निकायले सही रुपमा नियमन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारीमार्फत भएका धेरै सकारात्मक कामहरु भन्दा थोरै नकरात्मक कामहरुको चर्चा भएका कारण आम समुदायमा सहकारी प्रति गलत सन्देश गएको छ, कंडेलले भन्नुभयो, राज्य, सहकारी अभियान र अन्य सरोकारवालाहरु मिलेर सहकारीका सवल पक्षका प्रचार प्रसार र कमजोरी सुधार गर्नु पर्दछ ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *