रोहन जि.सी, बागलुङ
तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले जितेको छ ।
आईतबार बाङ्गेचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा चिल्ड्रेन लाईफले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
कप्तान विविध थापाको निर्णयक गोलको मद्धतमा चिल्ड्रेन लाईफले उपाधि जितेको हो । दोस्रो हाफको ४ मिनेटमा पाएको फ्रि–किकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए । डिबक्स बाहिर प्राप्त फ्रिकिकलाई थापाले दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको थियो ।
पहिलो हाफमा दुवै टिमबाट गोलको लागि केही मौका सिर्जना गरेपनि बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफले आक्रमक खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफका खेलाडीको प्रहार विद्यामन्दिरका गोलरक्षकले विफल पारेका थिए ।
गोल खाएपछि खेलमा फर्किने प्रयास गरेपनि विद्यामन्दिरका खेलाडिले कुनै जादु देखाउन सकेनन् । चिल्ड्रेन लाइफको बलियो डिफेन्स लाइनलाई चिर्न नसक्दा विद्यामन्दिरका खेलाडिले विपक्षीको पोष्टमा बल प्रहार गर्न सकेनन् ।
उपाधि जितेको चिल्ड्रेन लाईफले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी प्राप्त गर्योभने उपविजेता विद्यामन्दिरले नगद २२ हजार २ सय २२ रुपैयासहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका थम्मन थापा (थोमस) बनेका छन् । यस्तै चिल्ड्रेन लाईफका कप्तान विविध थापा उत्कृष्ट डिफेन्डर, असिम रोका उत्कृष्ट मिडफिल्डर, सुशिल थापा उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ता बरदान थापा (३ गोल) बनेका थिएभने विद्यामन्दिरका गोलरक्षक विदेश किसान उत्कृष्ट गोलरक्षक बने । यस्तै अनुशासित टिमको पुरस्कार गुराँस विद्यासदनले प्राप्त गरेको छ ।
विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकृत धनप्रसाद पोखरेल र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा बागलुङ जिल्लाका ९ विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।
यस्तै आईतबार नै फाइनल खेल अगाडी भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघले चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका शिक्षकलाई २–० गोलअन्तरले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा प्रेम बुढा मगरले २ गोल गर्दै पत्रकार महासंघ बागलुङलाई जित दिलाएका थिए ।