कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम, भुक्तानीमा समस्या


खेमराज गौतम, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तिब्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रेकोलागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।
दुई वटा खण्ड मध्ये बलेवा हर्मिचौर खण्डमा तिब्रगतिमा काम भइरहेको छ भने बलेवा मालढुङ्गा खण्डमा सुस्त गतिमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसयीले भनेजस्तको काममा तिब्रता पाउन नसकेको उहाँको भनाई छ ।

“दुबै खण्डमा धमाधम काम भइरहेको थियो, बजेट अभावले वलेवा देखि मालढुङ्गा सम्मको १० किमि सडकमा काम सुस्त छ, तर हर्मिचौर देखि वलेवा सम्मको ४४ किमि सडकमा कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ” शर्माले भन्नुभयो “बजेट निकासाका लागि पटक–पटक अर्थमन्त्रालयमा म आफै पुगेको छु, बजेट निकासा गर्न सकेमा एक वर्षमा करिडोर कालोपत्र भइसक्ने देखिएको छ ।”

वलेवा देखि हर्मिचौर खण्डमा मात्रै सयौँको संख्यामा मज्दुर र स्काभेटर लगायतका आधुनिक औजारहरु प्रयोग गरिएको छ । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य गरिएको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतीको काम भइरहेको छ ।

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु.५५ करोड निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौता अनुसार २ वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्ने छ ।

बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । ३ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । कालिका कन्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व रु.३० करोड भुक्तानी गर्न बाँकी रहेको कालिगण्डकी करीडोर आयोजना कार्यालयका पाल्पाका प्रमुख शंकर पौडेलले जानकारी दिनुभयो ।
उहाँले दायित्व भुक्तानी गर्न नसक्दा मालढुङ्गा देखि वलेवा सम्मको पूर्वाधारको काम सुस्त भएको पौडेलले बताउनुभयो । रु. ५५ करोडको ठेक्कामा सवा दुई करोड दायित्व भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै हर्मिचौर देखि वलेवा विमानस्थल सम्मको सडक खण्डको दायित्व समयमै भुक्तानी गर्न सकेमा निर्माणले थप गति लिन सक्ने बताउनभयो ।

“अहिलेपनि अर्थ मन्त्रालयमै दायित्व भुक्तानीका लागि आएको छु, चालु आर्थिक वर्षमा रु. ३० करोड भुक्तानी गर्न सके ४४ किमि सडक कालोपत्र प्रारम्भ हुने देखिएको छ” प्रमुख पौडेलले भन्नुभयो “निर्माण व्यावसायीलाई सम्झौता अनुसार काम गरेपछि दायित्व भुक्तानी गर्नु सरकारको दायित्व हो, हामी आशावादी ।”

हर्मिचौ देखि वलेवा विमानस्थल सम्मको खण्डमा ४० प्रतिशत आर्थिक प्रगती र ३५ प्रतिशत भौतीक प्रगती भएको छ । यस्तै तल्लो खण्ड मालढुङ्गा देखि वलेवा सम्मको १० किमि सडकमा ३२ प्रतिशत भौतिक र २८ प्रतिश आर्थिक प्रगती भएको छ ।

करिडोरमा विभिन्न स्थानमा गरी १४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सिमा चीनको कोरला र दक्षिणी सिमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *