खेलाडीको ग्रेडिङ र तलबमान : एक सुखद सुरुवात

सम्पादकीय
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद । पढ्दा र सुन्दा नारा निकै आकर्षक र प्रियकर लाग्छ । हुन पनि खेल क्षेत्र यस्तो क्षेत्र हो, जो स्वस्थ जीवनयापनका लागि त अपरिहार्य छ नै, सिंगो देशलाई भावनात्मक रुपमा एकताबद्ध समेत गर्ने गराउने सामथ्र्य छ । तर, दुर्भाग्य नेपालमा यही खेलको व्यवस्थित विकास र व्यवसायिकरण छैन । बरु खेल भित्रको चलखेल र कुरुप राजनीतिले भएका सम्भावनालाई पनि दुर गरिरहेको छ । खेलमा भइरहेको चरम राजनीति, खेल र खेलाडीमैत्री नीति नियम र कार्यक्रम नहुँदा उत्कृष्ट खेल कौशल प्रदर्शन गरिरहेका खेलाडीहरु धमाधम विदेश पलायन भइरहेको खबर दैनिकजसो आइरहेको छ । यसले नेपालमा खेलेरै जीवन र भविष्य सुनिश्चित हुने सपना र सम्भावना देखेका नयाँ पुस्तालाई समेत निराश तुल्याइरहेको छ ।

फुटबलका राष्ट्रिय टिममा रहेका दर्जन हाराहारीका खेलाडी केही समय अघि मात्र परदेशिएका छन् । अरु खेल बिधामा नाम र प्रतिष्ठा आर्जन गरेका खेलाडीहरु पनि अधिक बिदेशिएका छन् । सरकार र सम्बन्धित निकाय, खेल सम्बद्ध छाता संगठनहरु भने खेलकुदको विकास, खेलाडीको भविष्य देशमै सुनिश्चित गर्ने दिशामा भन्दा आ–आफ्नै स्वार्थ र सरोकारमा केन्द्रित भइरहेका छन् । यद्यपि, सोमबार खेलाडी र खेलप्रेमीका लागि एक सुखद खबर आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने व्यवस्था गरेको छ भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २ हजार तलब दिइनेछ । सेन्ट्रल कन्ट्याक्ट एक वर्षको हुनेछ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेको छ । ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा छन् । खेलाडी बर्गिकरणमा ग्रेड सी, डीका साथै क्यानले इमर्जिङ क्याटगरी पनि बनाएर खेलाडीलाई नयाँ आशा र सम्भावनाको प्रत्यक्ष अनुभूत गराएको छ ।

हुन त फुटबललाई सर्वाधिक नागरिकले मन पराउने खेल मानिन्छ । तर, नेपालमा पछिल्लो समय क्रिकेट क्रेज मात्र बढेको छैन, नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा समेत शानदार प्रदर्शन गरेका छन् । क्रिकेटको छाता संगठन क्यानले पनि क्रिकेट खेल र खेलाडीको भविष्यमा नयाँ आशा उजागर गराउने कार्यको सुखद अध्याय सुरु गरेको छ । क्यानको यो निर्णय र कदम समग्र खेल क्षेत्रका लागि एक कोशेढुंगा बन्नेछ । खेलमै अथक मेहेनत, परिश्रम गरेर उत्कृष्ट खेल कौशल र प्रतिभा भएकाहरुलाई देशमै केही न केही सम्भावना छ भन्ने यसले अनुभूति अवश्य गराउने छ । बरु यसरी ग्रेडिङ गर्दा निकट र पहुँचका आधारमा छनोट गर्ने संशय व्याप्त छ । यद्यपि, क्यानले पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको दाबी छ । यो विधि र प्रणाली अपनाइएको हो भने ठिक छ । आम खेलाडी र खेलप्रेमीलाई उत्साहित तुल्याउने आज जुन कदम चालिएको छ, यसका लागि क्यान नेतृत्व धन्यवादको पात्र छ । भोलिका दिनमा यसलाई अझ व्यवस्थित, विस्तारित र व्यवसायीकरण गर्दै क्रिकेट खेललाई उच्च स्थानमा पु¥याउन क्यान, सरकार र सरोकारवाला निकाय सबैको यस्तै अब्बल भूमिका देखियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *