आदर्श अनलाइन, बागलुङ
सहकारी संस्थामा प्रभावकारी व्यवस्थापनका लागि व्यवस्थापकहरुको भूमिका बढाउनका लागि बागलुङमा सहकारी संस्थाका व्यवस्थापकहरुका लागि २ दिने तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजनामा सञ्चालन गरिएको तालिममा सहकारीको प्रशासन व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवस्थापकको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।
सहकारीको साधारणसभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका कार्यकारी, नेतृत्वदायी तथा संयोजनकारी हुनुपर्ने सहकारी सञ्चालनको विधि र प्रक्रिया राम्रोसंग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुदै जाने भएकाले व्यवस्थापकहरुका लागि तालिम सञ्चालन गरिएको थियो ।
सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापकले सहकारी ऐन, नियम, संस्थाको विनियम लगायत निर्देशिका लगायतका विषयमा जानकारी राख्नु पर्ने भएकाले प्रबन्धकहरुका लागि तालिम आयोजना गरिएको हो ।
तालिममा बैंकका अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीको संरचना अनुसार व्यवस्थापनका लागि प्रबन्धक क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । दैनिक प्रशासन सञ्चालनदेखि कार्यविधि कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको निर्णय लाई कार्यन्वयनको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने व्यवस्थापकहरूले यस्ता विषयहरुमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु)ले पछिल्लो समय सहकारीमा देखिएको समस्याको असर बागलुङमा पनि परेको र यस्ता खालका तालिमहरुले सहकारी संस्थालाई सहज रुपमा अगाडि बढ्नका लागि सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
तालिममा बागलुङका सहकारीका प्रबन्धक तथा व्यवस्थापकहरु गरी ५८ जनाको सहभागिता रहेको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।
समापन कार्यक्रम राष्ट्रिय सहकारी बैंक लैंगिक समानता उपसमिति सदस्य लिलाकुमारी खड्काको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको संचालनमा सम्पन्न भएको थियो ।