पञ्चकोट अन्तराष्ट्रिय पहिचान बन्यो : प्रधानमन्त्री प्रचण्ड


आदर्श अनलाइन, बागलुङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोट अन्तराष्ट्रिय पहिचान बन्न थालेको बताउनुभएको छ । पञ्चकोटमा सञ्चालित ‘अनन्तश्री ब्रह्माण्डकीय महायज्ञ–२०८०’मा शनिबार सम्बोधन गर्दै उहाँले बागलुङको धार्मिक पर्यटनको विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका परिचित छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस्ता महायज्ञहरुको सञ्चालनले देवस्थल तथा तीर्थस्थलका महत्वका विषयमा मानिसमा आध्यत्मिक चेतना अभिवृद्धि भई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ ।”

धार्मिक तथा सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमलने देशको समग्र विकासमा योगदान पुग्ने उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यत्मिक चिन्तको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले संस्कारसहितको व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिनुभयो ।

ऋषि, महर्षीको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

“शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत क्षेत्रको प्रवद्र्धनमा स्वामीज्यूले पु¥याउनुभएको योगदानको म उच्च प्रशंसा र कदर गर्छु”, उहाँले भन्नुभयो, “त्रिवेणी क्षेत्रको गजेन्द्रमोक्षधामदेखि मुक्तिनाथ र दामोदर कुण्डसम्मको विकासमा स्वामीज्यूको लिनुभएको पहल विशिष्ट खालको छ, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।”

प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । सर्वसिद्धिधाम पञ्चकोटसहित मुक्तिनाथ क्षेत्रको समग्र विकासमा उक्त सडकले महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।

स्वामी कमलनयनाचार्यले धार्मिक पर्यटनको विकासमा सरकारको सहयोग चाहिएको बताउनुभयो । उहाँले चीन जोड्ने कोरोला नाका सञ्चालन हुन सकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । “मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

स्वामी कमलनयनाचार्यले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताउनुभयो । उहाँले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसिद्धिधाम पञ्चकोट पवित्र देवभूमिका रुपमा स्थापित भइरहेको बताउनुभयो । पञ्चकोटको विकासमा सहयोगी बन्न निजी क्षेत्र तयार रहेको उहाँको भनाइ छ । सभ्यताको जननी कालीगण्डकी नदी र शालिग्रामको संरक्षणका लागि स्वामी कमलनयनाचार्यले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

“पञ्चकोटलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सरकारले विशेष कार्ययोजना ल्याओस् भन्ने हाम्रो अनुरोध छ, यसमा हातेमालो गर्न हामी बागलुङवासी पनि प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ, पर्यटनमार्फत समग्र देशको आर्थिक विकासमा टेवा पुग्छ ।”

उहाँले देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताउनुभयो । नेपाललाई प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *