सरोजराज पन्त
‘धर्म गर्नु छ, स्वर्ग जानु छ भने चौतारो लगाउनू’ भन्ने भनाइ छ । गाउँघरमा शीतल हावा मात्र होइन विज्ञानले पनि पिपलबाट प्रशस्त मात्रामा अक्सिजन पाइने पुष्टि गरेको छ । थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तर अहिले पुर्खाले बनाएको चौतारी मासिँदै गई अतित्वमा सङ्कटमा पर्दै जान थालेको छ । हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने, गाँउबेसी गर्दा भारी बिसाउनको लागि, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरेका थिए । हाल त्यस्तो कार्य प्रति चासो कम गएकोले लोप हुन लागेका छन ।
चौतारी बटुवाको थकाइ मेटाउने थलो, भारी बिसाउने ठाउँ हुन् । तर मोटरबाटोमा भएको विस्तारसँगै चौतारीहरु बिर्सिइँदै गए । मान्छेहरु हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर के अहिलेको समयमा चौतारी अस्तित्वविहीन बनिसकेका हुन् त ? नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुरू भएपछि भौतिक र आध्यत्मिक जीवनका यी महत्वपूर्ण सम्पदा विनाश हुने हुन त ? गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को आश्रयस्थल चौतारी, अब के फेरि पहिलेको जस्तै ब्युँतिएलान ?
हिन्दू धर्मको विचारधाराबाट निर्देशित र रुख तथा वातावरणसम्बन्धी आदिवासी जनजातिको प्रयोग गरी चौतारा निर्माण भएका थिए । चौतारा व्यवस्थापनका लागि विभिन्न रीतिरिवाज र रीतिरिवाजको विकास भएको थियो । यस अध्ययनले चौताराको निर्माण, व्यवस्थापनमा इतिहास, जनसहभागिताको व्याख्या गरेको छ । यस अध्ययनले चौताराको निर्माण र व्यवस्थापनसँग सम्बन्धित विश्वास, रीतिरिवाज र अनुष्ठानहरूको पारिस्थितिक र प्रतीकात्मक व्याख्यासँग केन्द्रीत रहेको छ ।
चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरू सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँने गरेका छन । बढ्दो सहरीकरणसँगै चौतारीहरू लोप हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् । बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । तर सडक किनारमा प्रतीक्षालय बन्न थालेका छन् । कुनै समय यस्तो पनि थियो, जहाँ प्रेमी होस् या बटुवा, वनजंगल पाखापखेरा, लेकबेँसीबाट घाँस–दाउरा गरेर थकाइ मेट्न चौतारीमा पुग्थे। मेलापात गर्दा होस् या उकाली–ओराली, थकान महसुस भएपछि चौतारीमा बसेर सिर्सिरे बतासको आनन्द लिँदै प्रेमिल र आत्मीय गफ गर्थे । यिनै चौतारीमा बसेर बूढापाकाहरू आफ्ना बालापनका दिन सम्झिँदै ठट्यौली गर्थे । यसरी चौतारीको शीतलमा बस्दाबस्दै समय बितेको पत्तो हुँदैनथ्यो ।
यिनै चौतारीमा कहिले सुखका र कहिले दुःखका भारी बिसाइन्थ्यो । कहिले मायापिरतीका कथा लेखिन्थ्यो। अनि कहिले परदेश गएका परदेशीको सम्झनामा गीत बनेर विरह पोखिन्थ्यो । घाँसदाउराको भारी बिसाई नौडाँडापारिको माइती देशको सम्झनादेखि सासूको शासनमा नवआगन्तुक बुहारीहरू यिनै चौतारीमा पीडाको आँसु बगाउँथे । खासमा वर–पिपलका चौतारीसँग हरेक नेपालीका कथा र सम्झना गाँसिएका छन् ।
मोटरबाटो लैजाँदा रुख ढाली दिने र मानिसहरू चौतारीमा भन्दा एसी र पङ्खाबाट शीतल लिने गरेकाले र नयाँ रोप्न नचाहने गरेकोले चौतारी लोप हुँदै गएको पाइुन्छ । चौतारीको वातावरणीय महत्व रहेको छ ।
वरपिपलले हानिकारक किराहरूको नास गरिदिने, बाह्रैमहिना स्वच्छ हावा दिने भएकोले पर्यावरणीय दृष्टिकोणले धेरै महत्व रहेको छ । सलह, अमेरिकी फौजी किरा जस्ता हानिकारक किरा नियन्त्रण लिन वर पिपल, आँप तथा समीका रुखले भूमिका खेल्ने गर्दछ । खेतबारी नजिकै वर पिपलका रुखहरू हुने हो भने मूल नसुक्ने हुँदा जमिन रसिलो हुने मात्रै नभई चराचुरुङ्गीको बास हुने हुँदा बाली नष्ट गर्ने हानिकारक किराहरू चराले खाइदिँदा नियन्त्रणमा समेत मद्दत पुग्दछ ।
पाटीपौवा र चौतारीलाई गुरुकुल शिक्षाको पहिलो पाठशाला मानिन्छ । सामाजिक थलोको साझा चौतारीले बटुवाको थकान मेटाउने र बूढापाकाको दिन कटाउने काम गर्थे । तर यी र यस्ता पाटीपौवा तथा चौतारी विकासको निसानामा परेका छन् । आधुनिक विकासका नाममा यस्ता पाटीपौवा र चौतारी मासिन थालेको छन् । तर, पछिल्लो समय आयातित विकासको स्वरूप गाउँघरमा मोटर बाटो पुगेपछि यी सबै कुरा हराउन थालेका छन् । पहिले डाँडाको वर–पिपल हावाहुरीले भाँच्थ्यो तर फेरि संरक्षण गरिन्थ्यो तर अहिले विकासका नाममा मान्छेले नै डोजर लगाएर उखेल्न थालेका छन् ।
विभिन्न इतिहास र संस्कृति बोकेका चौतारीहरु आधुनिक विकासको निसानमा परेका छन् । यसरी वर, पिपल, समीका चौतारी, रुखबिरुवामा विकासको डोजर चल्न थालेपछि गाउँघरमा पानीका स्रोत समेत सुक्न थालेका छन् । चौतारी माँसिदै जाँदा पुराना धाराको पानीसमेत सुक्दै गएकोे पाइन्छ । आधुनिक विकासले पानीका मूल सुक्नेदेखि प्रकृतिलाई नै क्षति गरेको छ । गाउँघरको मध्य भागमा होस् या डाँडाको शिरमा, देउरालीमा होस् या भन्ज्याङमा, दिनप्रतिदिन इतिहास बोकेका चौतारी मासिँदै गइरहेका छन् । घरगाउँ र डाँडापाखामा मोटरबाटो खुलेपछि रहेका चौतारी पनि एक्लिएका छन् । यसरी चौतारी, पाटीपौवालाई अतिक्रमण हुनबाट बेलैमा बचाउन नसक्ने हो भने भावी सन्ततीले इतिहासमा चौतारी पनि पाठ्यक्रममा पढ्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।
चौतारा मासिनुमा विकासको पहिचान गरी अघि बढ्ने जिम्मा पाएको स्थानीय तहले यतातिर चासो नदिँदा चौतारी मासिन थालेको छन । यस्तै, समुदायसँग बसेर छलफल गर्दा ‘पाटीपौवा, चौतारी, मठमन्दिरको आवश्यकता पहिचान भएको छ, । सामाजिक सांस्कृतिक रूपमा मात्र नभएर आध्यात्मिक हिसाबले पनि चौतारीको ठूलो महत्व छ ।
मानिसहरूले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा पनि लिने गरिन्थ्यो । ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्न सहयोग गर्दथ्यो । यसरी यी संरचना मानिसको स्वास्थ्यको रक्षा गर्न सघाउथ्यो ।
वर–पिपलका चौतारी सहरका कुलर, एसीजस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्नेमा हामीले आधुनिकताको नाममा पुराना र राम्रा अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ? गाउँका चौतारा, पाटीपौवा हाम्रा एसी, कुलर हुन्, यिनको संरक्षण आवश्यक छ । अहिलेको पुस्ता प्राचीन, धार्मिक, सांस्कृति र पर्यावरणीय महत्व बोकेका चौतारी मास्न प्रतिस्पर्धा गरिरहेको छ । यस्ता चौतारीको संरक्षणमा स्थानीय, प्रदेश र संघ सरकारले बेलैमा ध्यान दिुनपर्ने हुन्छ । यसैगरी हिन्दू धर्म–संस्कृतिमा वरको बोटलाई पूज्य मानिएका वर–पिपल दुवैको पूजा गर्दा सन्तान सुख हुने भनिएको छ । तर विडम्बना भन्नुपर्छ, धर्म, संस्कृति, इतिहास र पर्यावरणीय महत्व बोकेका वर–पिपलका चौतारीहरू डोजरे विकासको निसाना परी मासिँदै गइरहेका छन् । जलवायु परिवर्तनमा समेत विशेष भूमिका रहने यस्ता वृक्षको संरक्षणमा सरकारले यथाशीघ्र ध्यान दिनुपर्ने देखिन्छ ।
चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ । पहिले अहिलेको जस्तो यातायातका साधनहरू नहुँदा भरियाबाट सामान बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान चौतारी थिए । यस्तै युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरू एकै ठाउँमा जम्मा भएर दुःखसुखका कुराकानी गर्ने ठाउँ चौतारी नै थिए । त्यस्तै, चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरू पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी प्रयोग गर्ने गर्दथे ।
धार्मिक आस्थासँग जोडिएको, प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण र गाउँको पहिचानसँग जोडिएका वर–पिपलको संरक्षण सबै तहबाट हुुुनुपर्ने देखिन्छ । सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शितलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले संरक्षणमा सबैको हातेमालो चाहिन्छ, पुनःनिर्माण गर्दा मौलिकता नबिग्रने गरी पुरानै स्वरुपमा गर्नुपर्छ । चौतारा सामान्य शब्द होइन, नेपाली संस्कृतिमा यसको अर्थ र कार्य अति महत्वपूर्ण रहेको छ । चौताराको निर्माण र व्यवस्थापनमा जनसहभागिता बढाई संरक्षण गर्न सकेमा पारिस्थितिक र सांस्कृतिक सभ्यतालाई फाइदा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँलाई स्वच्छ बनाउन वर–पिपल हुर्काउन जरुरी छ ।