आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले महिला विकास कार्यालयद्वारा प्रवद्र्धन भएका ७ वटा महिला सहकारीहरुलाई सम्मान गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशका ७ वटा महिला सहकारीहरुलाई नगद ७५ हजार सहित सम्मान गरेको हो ।
महिला दिवसको अवसर पारेर बागलुङ नगरपालिका वडा नं. ४ मा सञ्चालित कालिका महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित सिर्जना महिला विकास बहुउद्देश्यीय सहित ७ वटा सहकारीलाई पुरस्कृत गरिएको थियो ।
महिला तथा बालबालिका कार्यालयबाट प्रर्वद्धित उत्कृष्ट महिला सहकारी संस्थाहरुलाई महिला दिवसका अवसरमा नगद ७५ हजार सहित सम्मान गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराले जनाएको छ ।
सहकारीहरुले महिलाहरुलाई संगठित गर्दै उनीहरुलाई आर्थिक सामाजिक क्षेत्रमा सक्षम बनाउनुका साथै समाजमा विभेद न्यूनिकरण गर्न समेत महत्वपूर्ण योगदान गर्दै आएका छन्, महिलाहरुद्वारा सञ्चालित सहकारीहरुले महिला शसक्तिकरण गर्न पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको सो अवसरमा जानकारी दिइएको थियो । सो अवसरमा पत्रकार सहित विभिन्न विधाका १६ जना महिलालाई सम्मान गरिएको थियो । सम्मानित हुने सबैजनालाई नगद ५० हजार रुपैया र सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुमा कान्तिपुर प्रतिनिधि प्रतिक्षा काफ्ले, राससका फोटो पत्रकार राधिका कंडेल, पत्रकार दुर्गा अधिकारी, सामाजिक अभियन्ताद्वय कमला पराजुली र बिना सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङम लामा पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा, नानुमाया गुरुङ र कमला गिरी रहनु भएको छ । यस्तै खेलकूदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा, उद्यमशिलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानि हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीले सरकारले पहिलो पटक विभिन्न क्षेत्रका क्रियाशिल महिलालाई सम्मान दिएको प्रति खुशी व्यक्त गर्नु भयो । समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउनु भएको थियो ।