अर्ना दोस्रो जेसीज कपको उद्घाटन

आदर्श अनलाइन, बागलुङ

बागलुङमा अर्ना दोस्रो जेसिज कप फुटबल प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । जेसिज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह सहित ट्रफि सार्वजनिक गरिएको हो । प्रतियोगिताका खेलहरु आईतबारदेखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले युवाहरुलाई खेलकुदको माध्यामबाट जोड्न जेसीजले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले जेसीज बर्ष २०२४ ले नेपाल सरकारसँग मिलेर उत्पे्ररणा र युवा शशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महासचिव ताराप्रसाद शर्माको सञ्चालन र निवर्तमान अध्यक्ष सौरभ श्रेष्ठको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा क्लबहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । चैत २ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

जेसीज कपको पहिलो संस्करणको उपाधि नेपाली सेनाको श्री मेहर गणले जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *