क्षमता भएकाले नेतृत्व गर्नुपर्छ : पूर्व मन्त्री नरदेवी पुन


आदर्श अनलाइन, म्याग्दी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले जुन सुकै पनि स्थानमा क्षमता भएका व्यक्तीलाई नै नेतृत्व दिनु पर्ने बताउनु भएको छ ।

नेकपा एमाले मंगला गाउँपालिका कमिटीको दोश्रो अधिवेसनमा बोल्दै उहाँले कतिपय स्थानमा नेतृत्व लिन खोज्ने तर समय नदिने प्रबृत्ती हाबी हुँदा काम हुन नसक्ने अवस्था आएको हुनाले हरेक स्थानमा त्यसका लागि जो सक्षम छ उसले नेतृत्व लिनु पर्ने बताउनु भएको हो । कुनै पनि स्थानमा पदाधिकारी चयनको समयमा दावी गर्नेहरुले पछि समय नदिएको भन्ने सुन्नमा आउने गरेको हुन्छ त्यसैले कसैले पनि आफ्नो क्षमता र दक्षताको आधारमा नेतृत्व लिनु पर्ने र नतिजा देखिने गरी काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

महिला नेतृत्वको विकास गरेको खण्डमा देश विकासमा सहज अनि छिटो पड्को मार्ने भन्दै पुनले महिलाले नेतृत्व गरेका क्षेत्रमा विकासले गति लिएको धारणा राख्नुभयो । कतिपय क्षमतावान महिलाहरुले पनि नेतृत्व गर्न नपाएको र नेतृत्वमा पुगेका अरुले समय नदिँदा पनि संघसंस्थाहरु भताभुंग हुने अवस्था पुगेको उहाँको तर्क थियो । नेकपा एमालेले महिलाको पक्षमा काम गर्नुका साथै महिला नेतृत्व स्थापित गर्नका लागि अग्रसर रहेको उहाँको भनाई थियो । पार्टी संगठन भित्र पनि महिलाको सहभागिता विकासका लागि हरेक स्थानमा अनिवार्य उपस्थितिको सिस्टम बनाएर सहजता पैदा गरेको पूर्व मन्त्री पुनले बताउनुभयो ।

पुनले भन्नुभयो पार्टी एकता सम्मका कुराहरु सतहमा आएको भए पनि अहिलेलाई गठबन्धन गरिएको हो र त्यो भनेको मिसन–२०८४ हो । मिसन भनेकै तीनै तहको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाएर तीन वटै सरकारको नेतृत्व गर्नु भएकोले सबैले त्यसलाई लक्ष बनाएर लाग्न आग्रह गर्नुभएको थियो ।

नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले विगतमा भएको गठबन्धन सरकारले कर्मचारीलाई तलब खुवाउन समेत ऋण खोज्नु पर्ने अवस्थामा पु¥याएर देशलाई अधोगति तर्फ लगेकोले त्यो गठबन्धन फुटाएर नयाँ बनेको तर्क गर्नुभयो । कुनै हालतमा एमालेलाई सक्नु पर्छ त्यसका लागि देश जता गए पनि फरक पर्दैन भन्ने खालको मानसिकता लिएर कांग्रेस बसेको कारणले समस्या भएको हुँदा एमालेले त्यसलाई हटाएर नयाँ सिराबाट अगाडी बढेको तर्क गर्नुभयो । प्रधानमन्त्रीलाई पनि असहयोगको वातावरण बनेपछि सरकार परिवर्तनका लागि माओवादी नेतृत्व अग्रसर देखिएको अवस्थामा एमालेले साथ दिएको उहाँको भनाई थियो । कांग्रेसको महासमिति बैठकबाटै गठबन्धन नगर्ने भनेर छलफल चलेपछि माओवादी कांग्रेस गठबन्धनमा दरार सृजना भएको उहाँको तर्क थियो ।

नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको हरेक तह र तप्काबाट नियमित रुपमा तथ्याङ्क राखिनु पर्ने बताउँदै जिल्लाले अभिलेखिकरण थालेको धारणा राख्नुभयो । हरेक स्थानिय तहबाट मासिक रिपोर्टीङ जिल्लामा हुनु पर्ने र जिल्लाका पदाधिकारीको रिपोर्टीङ दैनिक हुने व्यवस्था गरिएकोले सबैले आफ्नो जिम्मेवारी र काम गर्न कन्जुस्याइ गर्न नहुने बताउनुभयो । एमाले बिरुद्ध एक्लै भिड्न नसकेर कांग्रेसले मोर्चा बनाएर आएको भए पनि हामीले एक्लै टक्कर दिएका थियौं अब माओवादी पनि छुट्दा कांग्रेस छटपटिएको छ –अध्यक्ष सुवेदीले भन्नुभयो । अन्त जे भए पनि म्याग्दीमा गठबन्धन बिना सक्दैनौं भनेर अत्तालिएको कांग्रेसलाई गठबन्धन टुट्दा निद्रा हराम भएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य खुमबहादुर बानियाँ, सृजना केसी, जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, मदनभण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीलगायतले मन्तव्य राख्नुभएको थियो ।
नेकपा एमाले मंगला गाउँकमिटीका कार्यवाहक अध्यक्ष चिरञ्जिवि शर्माको अध्यक्षता, वडा नम्बर १ का निर्वाचित अध्यक्ष एकजित रोकाको स्वागत र उपसचिव राजु पाण्डेको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनको बन्दसत्रले नयाँ कमिटी चयन गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *