दैनिकजसो दुर्घटना, देश र दुरावस्था

सम्पादकीय
अहिले दैनिकजसो दुर्घटनाको खबरले स्तब्ध तुल्याइरहेको छ । बिहीबार मात्रै उदयपुरमा भएको बोलेरो जिप दुर्घटनामा परी ६–७ महिनाको बच्चासहित ८ जनाको मृत्यु भयो । सोही दिन सबेरै कुबेतबाट उस्तै दुर्घटनाको दुखद खबर आयो । सडकमा बाटो काट्ने क्रममा कारको ठक्करबाट तीन जना नेपाली (काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगरको मृत्यु भयो । यसअघि बुधवार सिन्धुपाल्चोकको बाह्रबिसेमा बोलेरो जीप दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै ज्यान गयो । सोही दिन काठमाडौंको कोटेश्वरमा ड्युटीमा रहेका एक ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भयो । यस्तै अरु मोटरसाइकल लगायतको दुर्घटनामा मृत्यु भएका घटनाहरु पनि थुप्रै छन् ।

केही समय पहिले सम्म सवारी दुर्घटनाको तथ्यांकहरु यथेष्ट राख्ने व्यवस्था थिएन । अहिले बिभिन्न तबरबाट दुर्घटनाको तथ्यांक राखिन्छ । दुर्घटनामा घटनास्थलमै मृत्यु हुने तथ्यांक त डरलाग्दो छ । त्यसबाहेक दुर्घटना भएर अस्पताल पुगेर मृत्यु हुने संख्या पनि ठुलै छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार ०७९÷८० मा दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगे । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै दैनिक उपचारका लागि आउनेमध्ये २० प्रतिशत बिरामी सवारी दुर्घटनाका हुने गरेका छन् । दुर्घटनाका यी घाइतेमध्ये पनि ६० देखि ७० प्रतिशतमा गम्भीर चोटपटक लागेका आउँछन् । घाइते भएर अस्पताल लगिएका मध्ये दुई हजार तीन सय ६६ पुरुष र पाँच सय १७ महिलाको ज्यान गएको छ । यसलाई प्रतिशतमा हेर्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये ८२. ६ प्रतिशत पुरुष छन् । ज्यान गुमाउनेमा पनि दुई र तीनपांग्रे सवारी दुर्घटनाका धेरै छन् । दुर्घटनामा मृत्यु भएकामध्ये ३४ प्रतिशत सवारीचालक छन् । ३०.६ प्रतिशत सवारीसाधनमा सवार यात्रु तथा २२.७ प्रतिशत पैदल यात्रु छन् । नौ जनासम्म यात्रु वा ३५ सय केजीसम्म तौल बोक्न बनाइएका चारपांग्रे गाडी दुर्घटनाबाट ४.५ प्रतिशत, साइकल यात्रु ३.६ प्रतिशत, हेभी भेइकलका चालक र यात्रु गरी ३.५ प्रतिशत र अन्य सवारी दुर्घटनामा १.१ प्रतिशतको मृत्यु भएको छ ।

हुन त दुर्घटना भवितव्य हो । तर, दुर्घटनाको कारणहरु अध्ययन, बिश्लेषणबाट अत्यधिक दुर्घटना मानवीय लापरबाहीका कारण भएको देखिएको छ । भौगोलिक बनावट, सडकको दुरावस्था, ओभरलोड, प्राकृतिक प्रकोप, मौसमका कारण निम्तिने विभिन्न समस्याले पनि सवारी दुर्घटना भइरहेको छ । यद्यपि, ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको सडक विभागको तथ्यांक छ । सडकको अवस्थाकै कारण हुने दुर्घटना जम्मा दुई प्रतिशतको हाराहारी अर्थात् नेपालको सन्दर्भमा १.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । लापरबाहीबाट दुर्घटना हुने, कतिको घटनास्थलमै ज्यान जाने, कति घाइते भएर अस्पताल पुग्छन् । तर, अस्पतालबाट सकुशल फर्किने सौभाग्य सीमितले पाउँछन् । सवारी दुर्घटनामा लागेको चोटपटक, अंगभंगका कारण कतिको शरीरकै अंग काटेर फाल्नुपर्ने हुन्छ भने ३ देखि ४० प्रतिशत घाइते उपचार पछि पनि अपांगता बनेका छन् । दैनिकजसो दुर्घटनाले जुन भइरहेको छ, यसले सन् २०३० सम्ममा सवारी दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्य हासिल गर्न कठिन देखिन्छ । तसर्थ, नेपालमा सडक सुरक्षाका साथै मानवीय लापरबाहीलाई रोक्ने सचेतना, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न गराउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *