सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सकियो प्रथम सहकारी डिजिटल कन्क्लेभ

आदर्श अनलाइन, काठमाडौं
राष्ट्रिय सहकारी महासंघले काठमाडौंमा आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ । सहकारीको सेवा सुविधालाई प्रविधिमैत्री बन्न प्रेरित गर्ने लक्ष्यका साथ आयोजना गरिएको सहकारी डिजिटल कन्क्लेभमा उपस्थित देशभरका २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धतापत्र जारी गरेका हुन् ।

सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न सामूहिक रूपमा सात बुँदे प्रतिवद्धता जारी गरिएको महासंघका अध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो ।

दुईदिन सम्म विभिन्न क्षेत्रका विषय विज्ञहरुको प्रस्तुती, छलफल र सुझाव लिनुका साथै कार्यक्षेत्रमा हुने गरेका सकारात्मक विषय र समस्याहरुलाई समेत मध्यनजर गरी साझा प्रतिवद्धता जारी गरेका छौ, अध्यक्ष मल्लले भन्नुभयो,– सहकारीलाई प्रतिस्पर्धात्मक बनाउदै सेवालाई सहज र प्रभावकारी बनाउन तथा सहकारीको गुणस्तर वृद्धि र सुशासन कायम गर्नका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेकोछ ।

No description available.

सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । त्यस्तै सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने सहकारीकर्मीहरु प्रतिवद्धता जनाएका छन् । सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन साझा प्रतिबद्धता जनाएका छन् ।

सहकारी सहकारी डिजिटल कन्क्लेभको समापन समारोहमा बोल्दै महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीको मुल मर्म र भावनालाई संस्थागत गर्न, आम समुदायको हितमा सहकारीलाई केन्द्रीत गर्नका लागि सहकारीलाई प्रविधिमा लैजान जरुरी रहेको र महासंघले त्यसको अगुवाई गरेको बताउनुभयो ।

No description available.

समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा प्रविधिका उच्चतम प्रयोग गर्ने, प्रविधिसंग भर्खर जोडिएका र प्रविधिसंग जोडिन नसकेका सहकारीको पहिचान गरी सबै सहकारीलाई प्रविधिमार्फत सेवा सुविधा दिने वातावरण बनाउन कार्यक्रमले सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष डिबी बस्नेतले प्रतिवद्धता पत्र प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष इन्दिरा पन्तले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन महासंघका सञ्चालक टेक प्रसाद चौलागाईले गर्नु भएको थियो । प्रथम सहकारी डिजिटल कन्क्लेभको उद्घाटन कानुन, न्याय तथा संघीय मामिला मन्त्री पदम गिरीले गर्नु भएको थियो ।

प्रथम सहकारी डिजिटल कन्क्लेभबाट जारी सात बुँदे
प्रतिवद्धतापत्र– २०८०

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा काठमाडौंमा मिति २०८० चैत १ र २ गते ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ सम्पन्न प्रथम सहकारी डिजिटल कन्क्लेभमा उपस्थित हामी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरु यो प्रतिवद्धतापत्र–२०८० जारी गर्दछौं । सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न हामी सामूहिक रूपमा यो प्रतिवद्धता जारी गर्दछौं ।

१) डिजिटलाइजेसन प्रति प्रतिबद्ध ः दक्षता, पारदर्शिता र समावेशीतालाई आत्मसाथ गर्दै सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न हामी प्रतिबद्ध छौं ।

२) नीति वकालत ः सहकारी डिजिटलाईजेशन र नविनताका लागि अनुकुल वातावरण निर्माण गर्न हामी राष्ट्रिय स्तरमा सूचना, संचार र प्रविधि (आईसीटी) नीतिहरूको विकास र कार्यान्वयनको लागि वकालत गर्न प्रतिबद्ध छौं ।

३) सीप आदानप्रदान र क्षमता विकास ः सदस्य र नेतृत्वलाई डिजिटल साक्षरतामार्फत आवश्यक सीप र स्रोतहरूबाट सुसज्जित गरी समुदायहरूमा सहकारी डिजिटलाइजेशनसँग सम्बन्धित ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न प्रतिबद्ध छौं ।

४) साइबर सुरक्षा ः सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्न प्रतिवद्ध छौं ।

५) सहयोग र साझेदारी ः सहकारीमा डिजिटल रुपान्तरणको गतिलाई तिव्र बनाउन सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवाला निकायहरुबीचसँग सहयोगात्मक साझेदारीलाई अभिबृद्धि गरी पारदर्शिता र जवाफदेहितामार्फत स्वनियमन र सुशासनलाई मजबुद बनाउन प्रतिबद्ध छौं ।

६) सशक्तिकरण र निरन्तर सुधार ः सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन प्रतिबद्ध छौं ।

७) समावेशी र दिगो विकास ः अभियानको इकोसिस्टमभित्र समावेशीता, लैङ्गिक समानता, युवा उत्प्रेरणा र वातावरणीय दिगोपनका विषयलाई प्राथमिकतामा राखी सहकारी डिजिटलाइजेसनमार्फत प्राप्त हुने लाभलाई समानुपातिक रूपमा सदस्यहरुमा वितरण गर्न प्रतिबद्ध छौं ।
२०८० चैत्र २ गते, काठमाडौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *