शिवशरण ज्ञवाली
नेपाली उखानै छ नि, ‘बार वर्षमा त खोलो पनि फर्कन्छ ।’ हो त नि मेरो बार तेर बर्षमा दुनियाँ फर्कियो । खोलोको त के कुरा भयो र ? बागलुङ गल्कोट वामिटक्सार इन्द्रगौँडा हुँदै घर धेरै वर्ष हिड्यो, एक्लै दोक्लै, तिक्लै पनि । गल्कोटको फाँट मात्रै होइन, इन्द्रगौँडा, सेराको फाँट पनि देखियो । पहेंलपुर धान पनि देखियो, हरियाली वर्षात पनि देखियो । गल्कोटले छिट्टै धान रोप्छ । नेपालमा सबैभन्दा छिटो धान रोपिने ठाउँ गल्कोट पो हो कि ? गुल्मेलीहरु अलि ढिला छन् ।
जेठोबुढो मैले बागलुङतिरै गएर सुनें । वैदेशिक आक्रमण नपरेको त इतिहासमा नेपाल मात्रै हो । कुखुरा, बाख्रा, अम्बा, तिजु, ऐसुल, किम्बु पनि आक्रमणमा परेकै छन् । बोइर आएको छ । खसी बाख्रा चिनिन छाडेका छन् । जेठो बुढो पनि हरायो । भाडगाउँको सुन्तला पनि हराउन कोसिस गरिरहेछ । बागलुङतिरबाट गुल्मीतिरै फर्कन खोजिरहेछ । भाषामा नेपालीले जसरी साम्राज्य फैलाएथ्यो जमानामा, त्यसैगरी अंग्रेजीले नेपालको शिक्षामा साम्राज्य फैलाएकै छ । कमाइ खाने भाँडो भएकै छ । कमाइ त स्थानीयतामै छ । रैथानेमै छ । रैथानेले माटो चिन्छ । आप्रवासीले पराइ चिन्छ । धान पनि आप्रवासी । आप्रवासीको बिउ खोज्न आप्रवास नै पुग्नुपर्छ ।
सुरुसुरुमा स्याङ्जा, कास्की, पर्वत हुँदै बागलुङ जाँदा अचम्म लाग्थ्यो । पातीचौरबाट अगाडि लागेपछि मेरा आँखा ठुलाठुला पहाडसँग पिरती गाँस्न बसका झ्यालबाट लुकीमारी खेल्थे । कानले पहाडको फेददेखि टुप्पासम्म गाइने असारे पिरतीका गीत सुन्थे । ती गीत गाउने पुरुष महिला साक्षात् द्यौता जस्ता लाग्थे । तिनीहरुका रमाइला र हाँसीमजाकमा संसार चल्थ्यो । तिनीहरु पौरखी थिए । पसिनाको मिठो फल चाख्थे । प्रकृतिपूजक थिए । गराको डिलको पानी अँजुलीमा थापेर घटघट पिएर तिर्खा मेट्दा तिनीहरु नाकनिक गर्दैनथे । भन्थे, ‘पानीसँग घिनाउनु हुँदैन ।’ पानीसँग घिनाउने पनि मान्छे हो ?
बाबुडियरसँग म पनि मुल्पानीका खेतमा जान्थे । नेपालीहरु गरिब कहाँ थिए ? आज पनि छैनन् ? बाबुडियरको पनि घरमा एउटा पानीको मूल थियो । सग्लो मूल । एक परिवारको एक मूल । त्यो मूलमा हामी पानी बनाउन जान्थ्याँै । अलि माथि खेतमा गोविन्द सर बाउसे गर्नुहुन्थ्यो । गोविन्द सरको पौरख देख्दा म लोभिन्थे । पानी बनाउन जाँदा बाबुडियर त्यसैगरी पानी अुँजुलीमा उभाएर घटघट पिउनुहुन्थ्यो । पानीको सम्मान गरेका कारणले होला, उहाँको काठमाडौँको घरमा पनि पानीको मुहान छ रे ! काठमाडौँको घरमा पानीको मुहान हुने मान्छे गरिब होला र ? मुल्पानीको पानी काठमाडौँ आइपुगेछ कि के हो ? उहाँहरुको गाउँलाई मुल्पानी भनिन्छ । पानीको दलदले भएका कारणले त्यो ठाउँलाई मुल्पानी भनिएको होला कि ? त्यस्तो पहाडको ढुङ्ग्यान खेतमा असाध्यै धेरै धान फल्छ । ती धानका नाम के के होलान् कुन्नि ? ती धानमाथि वैदेशिक आक्रमण छ होला नि !
आजकालको साम्राज्य बन्दुकको रहेनछ । बुद्धिको रहेछ । बिउको कपीराइट आफैसँग राखेर बिरुवा मात्रै दिने विदेशी काइदाले नेपाली पैसो जापान अमेरिका पु¥याउन सजिलो भएको छ । ‘काइदा ग्रेटर देन इन्डिया’ भन्ने चलन छ । जो कोही पनि आइडिया बेचेर धनी हुने हो । अर्काको खेताला बनेर कोही कहिल्यै धनी भएको छैन । नेपालीहरु काइदा बेच्न सकेका छैनौँ । अर्काको खेतालो बनेका छौँ । अझै खेताला बन्ने छौँ । खेताला नै बन्नका लागि नेपालमा किन बन्ने विदेशमा गएर बन्ने भन्ने युवाहरुको मतमा विमति राख्नुपर्ने कारण छैन । आजकाल मेरो यात्रा फेरिएको छ । बहिनी यमुनाको कथन छ, ‘दाइलाई हिड्नमा कसले भेटोस् ?’ बाध्यता हो या रहर । म हिडिरन्छु । मेरो नारा छ, ‘चरैवेती, चरैवेती ।’
हिडिरहँदा त केही न केही ज्ञान त प्राप्त भइरहँदो रहेछ । आजकाल बाटो फेरिएको छ । यात्रीहरु फेरिएका छन् । गन्तव्य पनि फेरिएको छ । म आजकाल काठमाडौँ–बुटवल–गुल्मीमा यात्राशील छु । यी ठाउँहरु आइरहन्छु । गइरहन्छु । संसारमा सबैभन्दा बढी आनन्द कही प्राप्त हुन्छ भने गुल्मीमै हुन्छ । म सबैभन्दा आनन्दले बस्ने ठाउँमा जीवनको सबैभन्दा कम समय बसेको छु । खै के को हुटहुटीले म बाहिर हुन्छ ? मैलाई थाहा छैन । बीणा खोज्दै भौंतारिएको कस्तुरी न हौँ, हामी ।
पाल्पातिर पहाडका टुप्पाटुप्पा फाँट छैनन् । अर्गलीमा फाँट छ, गज्जबको । कुलो लाग्छ । धान फल्छ । आलु फल्छ । असारको रोपाइँ पनि हेरिन्छ । सुन रङ्गे मङ्सिर पनि देखिन्छ । रिडीमा फाँट छैन । गुल्मीतिर पनि बेसी र गाम छ । गाममा मकै रोकिन्छ । बेसीमा धान । तराईंको मलिलो फाँटको के कुरा भो र ? मुर्ख मनुवाले घर बनाएर चामल किनेर खाएकै छ । मुर्ख नै सबैभन्दा धनी कहलाएकै छ । यसपालि केवलकार चढेर वसन्तपुर जाने अवसर मिल्यो । नेपाली होइन आयातीत देवता बसेका रहेछन्, कामाख्या । सिद्धबाबाका शीरमा । रैथाने सिद्धबाबाको शीरमा आयातीत कामख्या ! अपमानित हुँदा पनि सिद्धबाबाले चुपचाप छन् । भगवानको यो गुण मान्छेले लिनु जरुरी छ । विदेशी देवता ल्याउने बुद्धिलाई पनि मान्नैपर्छ । उद्घाटन र शिलन्यास गर्नेहरुलाई धन्यवाद भन्नैपर्छ । राजनीतिक हस्तक्षेपजस्तै धार्मिक हस्तक्षेपलाई स्वीकार्नै पर्छ ।
केवलकारले पैसा बिस्तारै कमाउँदै होला । खासै कमाउन सकेन कि क्या हो भन्ने महसुस चाहिँ भयो । जाँदा पनि हाम्रै रिजर्व आउँदा पनि हाम्रै रिर्जवले त्यही भन्यो । वनफडानीले मन कुँडियो । हामीजस्ता साना मान्छेको मन कुँडिने न हो, गर्न सक्ने केही होइन । म सिद्धबाबालाई पुकार्छु, ‘मलाई ठुलो मान्छे नबनाइदेऊ । वनफडानीको मतियार बन्न नपरोस् ।’
पाल्पा बुटबल हिड्दा हामीले धेरै चोटि केराबारीको नाम सुन्यौँ । केराबारी त्यसै नाम रहेको होइन होला । जताततै केराको बोट भएर त्यो नाम रहे होला ? त्यो क्षेत्रमा जताततै केरै केराका बोट देखिन्छन् । सिद्धबाबादेखि पाल्पासम्मै । केवलकार चढ्दा पनि केराका बोट देखिए, घनघोर जङ्गलमा । ती केरा कस्ता केरा होलान् ? जङ्गली कि घरम्ले ? खान हुने कि नहुने ? आम्दानी गर्न सकिने कि नसकिने ? कसैले त्यसका बारेमा अध्ययन गरेको होला कि नहोला ? मैले साथीसंगीलाई सोध्दा कसैले जङ्गली केरा भने कसैले भित्र दाना हुन्छन् रे भने । कसैले खान हुन्छ भन्छन् कसैले खान हुन्न भन्छन् । तर पनि त्यहाँ केराका बोटहरु त छन् । कतै त्यो विशाल पहाडको माटो केरा खेतीका लागि उपयुक्त त छैन ? परीक्षण भए होला कि नहोला ?
केवलकार बनाउने खेती किसानीमा किन जाओस् ? किसानी पनि कसैले गर्ने पेसा हो ? त्यतिको दुःखको पेसा अरु के छ र ? त्यो त गरिब र दुःखीको पेसा हो । आयातीत केरा हुँदाहुँदै कसले त्यो पहाड खनीखोस्री गरोस् । हाटहुट पैसा पुँजीवादमै छ । मालिकलाई धनी र अन्यलाई गरिब यही कुराले नै बनाउँदो रहेछ । मन चिमोटीचिमोटी मानिसहरु त्यो बाकसमा चढ्छन् । त्यहाँ चढ्नुको खासै उपलब्धि केही छैन । मालिकले पैसा कमाएकै छ ।
जिन्दगीमा खोलो फर्किए पछि केराबारीका बारेमा जान्ने उत्सुकता पलाएको छ । मलाई न गण्डकीले छाड्छ न लुम्बिनीले छाड्छ । यिनै ठाउँको हुँ नि म । गण्डकीमा पहाडका टुप्पाटुप्पा धान रोपिएजस्तै कतै लुम्बिनीका पहाडका टुप्पाटुप्पा केरा पो रोपिने हो कि ! कतै खोलो पो फर्किने हो कि ? कृषिमन्त्री को छ कुन्नि ? अचेल ।