बागलुङका प्रहरीको भुँडी घटाउने अभियान


खेमराज गौतम, बागलुङ


जिल्ला प्रहरी कार्यालय बागलुङले ‘स्वस्थ प्रहरी, अध्ययनशिल प्रहरी’ अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरीलाई नियमित रुपमा व्यायम र अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।
प्रहरीसमेत पछिल्लो दिनमा अल्छी भइरहेको, शारिरक रुपमा चुस्त नभएको गुनासो आउने गरेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले प्रत्येक प्रहरीलाई बिहान ४ः३० बजे उठ्ने कार्यतालिका बनाएको छ ।



यस्तै नेपाल प्रहरीलाई अध्ययनशिल बनाउन अनिवार्य कानुन र प्रहरी संग सम्बन्धीत विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित पुस्तक समेत प्रत्येक प्रहरी युनिटमा पठाउन थालिएको छ ।
नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशिल प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङका नव–आगन्तुक प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताउनुभयो ।



कँडेलका अनुसार प्रहरीसमेत खानपान र सोखिन जनजिवनका कारण अस्वस्थ बन्दै गएको र कार्यसम्पादन समेत बढ्न नसकेको भन्दै प्रहरीलाई अनिवार्य शारिरिक व्यायम गर्नुपर्ने प्रावधान लिइएको हो ।

जिल्ला मातहतमा रहेका प्रहरी युनीटले व्यायम गरे नगरेको भिडियो दैनिक जिल्ला प्रहरी कार्यालय बागलुङको कन्ट्रोल रुमलाई पठाउनुपर्ने छ ।

“प्रहरी शारिरिक रुपमा चुस्त हुनै पर्दछ तर पछिल्लो समय खानपान र विलाशीताका कारण प्रहरी समेत आवश्यकता भन्दा बढी मोटाउने, शारिरिक रुपमा चुस्त नदेखिने गरेको पाइन्छ” प्रहरी उपरिक्षक कँडेलले भन्नुभयो “जब प्रहरी नै चुस्त हुँदैन नागरिकको सुरक्षा कसरी चुस्त हुन्छ, पछिल्लो समय प्रहरीको समेत पुट्ट भुडी निस्केको हामिले देखेकै छौं, बिहान एक घण्टा शारिरिक व्यायम गरेपछि शारिरिक रुपमा र मानिसिक रुपमा प्रहरी स्वच्छ हुन मद्दत गर्दछ ।”

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रविधिमा प्रहरीलाई जोड्न समेत थालिएको छ । प्रहरीले तीन अभियानलाई एकसाथ अगाडी बढाएको प्रहरी उपरिक्षक कँडेलले बताउनुभयो ।

कँडेलका अनुसार शारिरिक र मानसिकरुपमा स्वस्थ्य प्रहरी, अध्ययनशिल प्रहरी र प्रविधिमैत्री प्रहरी अभियानलाई सञ्चालनमा ल्याइएको हो ।

“प्रहरी बन्नलाई न्यूनतम शैक्षिक योग्यता र शारिरिक चुस्तता आवश्यक त हुन्छ नै तर प्रहरी संगठनमा आइसकेपछि विस्तारै अल्छी भएको पाउछौं” कँडेलले भन्नुभयो “प्रहरी अब शारिरिक र मानसिक दुबै रुपमा स्वच्छ हुनुपर्दछ, प्रहरीले आफूलाई अब्बल राख्न सामान्य कानूनको ज्ञान हुन आवश्यक छ, प्रहरीले पढ्नै छोडे भन्ने छ, प्रहरीले अनिवार्य अध्ययन गर्न आवश्यक छ भनेर कानून र प्रहरीसंग सम्बन्धीत नीति नियमहरुको पुस्तकहरु प्रत्येक युनिटमा पठाउने व्यवस्था मिलाएको छु, हाल सम्मको अनुभवले प्रहरीबाट भएका त्रुटीहरु अज्ञानताका कारण भएको पाइएको छ, प्रहरी अधिकृत सबैस्थानमा पुग्दैन फरक–फरक रहन–सहन र सामाजिक सद्भावबाट आएका हुन्छन्, कम्तिमा प्रहरीले कुन अवस्थामा के गर्नुपर्छ भन्ने ज्ञान हुनुपर्दछ, नागरिकमैत्री प्रहरीको आवश्यकता छ ।”

जिल्ला प्रहरी कार्यालय बागलुङमा खटिएका सबै प्रहरीलाई प्रविधिमा जोड्ने र घटना घटेको स्थान तत्कालै पत्ता लगाउने ‘लोकेशन ट्रयाप’को व्यवस्था मिलाएको छु भने प्रहरी कार्यालयका सबै संरचनाहरुलाई डिजिटल बनाउने अभियानमा लागिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत रहेका ४० प्रहरी युनिटमा पुस्तक पठाउने र नियमित रुपमा शारिरिक व्यायम गरेको भिडियो पठाउनुपर्ने नीति लिइएको छ । जिल्लामा ५८१ प्रहरी दरबन्दी रहेकोमा ४३८ प्रहरी कार्यरत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *