पहिलो पटक बागलुङ–पोखरा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा

आदर्श अनलाइन, बागलुङ
बागलुङ–पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । सुरुवाति चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । विद्युतीय सवारी साधानको बढ्दो माग र प्रयोग हुन थालेपछि सेवा प्रा.लिले पहिलो पटक बागलुङ–पोखराका लागि विद्युतीय माइक्रोबस संचालनमा ल्याएको उहाँको भनाइ छ ।

एक करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । एउटा गाडीको मुल्य ५५ लाख रुपैयाँ रहेको उहाँको भनाइ छ । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदुषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने उहाँ बताउनुहुन्छ । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो – “प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारी साधान संचालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा संचालन गरेका छौँ, सुरुवाती चरणमा दुई वटा बस सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्धत पुर्याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”

हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५०रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बागलुङ बसपार्कदेखि ट्राफिक चोक हुँदै बिहान ६ बजे, ८ः३० बजे, ११ः३०, ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने छ । अध्यक्ष केसीले विद्युतिय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताउनुभयो । जिल्लामा अधिकांश सवारी साधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुहरुले सास्ती भोग्ने गरेको बताउँदै त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने छ ।

बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले विद्युतीय बसको सेवा सुभारम्भ गर्नु भएको थियो । उहाँले समयानुकुल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरी यातायत सेवा प्रालिले पहिलो पटक यो सेवा विस्तार गरेकोमा धन्यबाद दिनुभयो । बजार क्षेत्रमा ध्वनी तथा वायु प्रदूषण हुनबाट रोक्न विद्युतीय गाडीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *