सम्पादकीय/अटिजम अर्थात् आत्मकेन्द्रित व्यवहार । हुन त अटिजम रोग पनि होइन, बौद्धिक अपाङ्गता पनि होइन । मष्तिस्कको एक विशेष अवस्थामात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारको रुपमा देखिने गर्छ । पछिल्लो समयमा नेपालका बालबालिकामा अधिक मात्रामा देखिएको समस्या हो । यो नेपाली समाजमा भुसको आगो झै भित्र भित्रै सल्किँदो र बढ्दो छ । मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम हो । व्यक्तिको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चार सीप र कल्पना शक्तिको विकासमा असर पुग्छ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रीयहरूको उतारचढावको फलस्वरुप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । अनि एक्लिदै जाने समस्या बढ्दै जान्छ ।
मंगलबार विश्व अटिजम दिवस मनाउँदै गर्दा अटिजमका बारेमा बिस्तारै सामाजिक रुपमा समेत चर्चा परिचर्चा हुन थालेको छ । आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने, असान्दर्भिक हँसाइ तथा रुवाइ, आँखामा आँखा जुधाउन नसक्ने, घाउचोट तथा दुःखाइप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने, सामान घुमाइरहने तथा अँगालो हालेको मन नपराउने, बोलाउँदा नबोल्ने, नसुनेको जस्तो भैदिने लगायतका लक्षण हुन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा एक प्रतिशत बालबालिकामा अटिजम देखिने गरेको तथ्याङ्क छ । नेपालमा यसको वास्तविक अवस्था र तथ्याङ्क छैन । नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ देखाएको छ । जुन पूर्ण तथ्याङ्क मानिँदैन । कारण अझै धेरै अटिजम भएका व्यक्तिहरुको पहिचान हुन नसकेको र तथ्यांकमा समेटिन छुटेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा २ लाख ५० हजार देखि ३ लाख अटिजम भएका व्यक्ति रहेको अनुमान छ । तीमध्ये करिब ६०–९० हजार गम्भीर रूपको अटिजम प्रभावित भएको आँकलन छ । अटिजमबारे धेरैलाई थाहा नभएकाले नेपालका मानिसहरूमा जनचेतनाको कमी छ र यसको निदान कम भएको छ ।
आजको दिनमा अटिजम भएकाहरुबारे परिवार, अभिभावक र सम्बन्धित व्यक्तिमा संकुचन व्याप्त छ । अटिजम भएका धेरै व्यक्तिहरू शिक्षाबाट वञ्चित भएर घरभित्र बाँधिएर थुनिएर बस्नुपरेको अवस्था छ । जनचेतनाको अभावको कारण र यसप्रकारका व्यक्तिहरूको जीवन सहज बनाउने शिक्षा, थेरापीहरू तथा तालिमको व्यवस्था हुनसक्छ भन्ने कुरासमेत धेरैलाई ज्ञान छैन । अटिजमसम्बन्धी अपाङ्गता भएका बालबालिकाको शिशु अवस्थामै पहिचान भएर प्रारम्भिक तथा उपयुक्त सघन उपचार, शिक्षा र थेरापीहरू पाएमा उनीहरूको अवस्था र व्यवहारमा ठूलो सकारात्मक सुधार आउनसक्छ । उनीहरूको लागि निश्चित उपचार पद्घतिमा मात्र भर पर्न सकिँदैन । बालबालिकाको रूचिलाई आधार बनाएर रचनात्मक क्रियाकलापको संरचित तालिका तयार गरी शिक्षण सिकाइ गराउनुपर्छ । अब पनि यो समस्याको समयमै खुलेर बहस, चिन्तन मनन र समाधानका लागि यथोचित पहल नलिने हो भने भोलिका दिनमा गम्भीर समस्याको रुपमा देखा पर्ने निश्चित प्रायः छ । अटिजमबाट प्रभावित सबैलाई थेरापी, तालिमद्वारा शारीरिक तथा बौद्धिक रूपले सवल, सक्षम र आत्मनिर्भर बनाउँदै समाजमा पुनःस्थापना गर्न राज्य, संघ, संस्था तथा अभियन्ता जिम्मेवार हुनुपर्छ ।