अपराधको ‘ट्रान्जिट’ बन्ने खतरा


सम्पादकीय
मुलुकमा आर्थिक मन्दीको प्रभाब बढ्दो छ । उसो त विश्वव्यापी रुपमा आर्थिक मन्दीले मानिसहरुको जीवन लयबद्ध हुन सकिरहेको छैन । एकातिर दैनिक जीवनयापन खर्चिलो बन्दैछ भने अर्कोतर्फ आम्दानीका स्रोत खुम्चिएको छ । व्यापार व्यवसायमा ह्रास आइरहेको छ । यसकै उपज पछिल्लो केही वर्ष यता बिदेश पलायन हुने दर डरलाग्दो गरी बढेको छ । यही रफ्तारमा युवाहरुको बिदेश जाने क्रम रहीरहने हो भने भोलिका दिनमा नेपालमा कति कहाली लाग्दो अवस्था आउँछ ? अहिले मानिसहरुले सोच्ने र चिन्तन, मनन गर्ने फुर्सद त छैन, निश्चय पनि गम्भीर संकट र समस्या आउने खतरा व्याप्त छ । जीवनमा आर्थिक मन्दीले अनेकन जटिलता पैदा गर्न थाले पछि मानिस पैसा कमाउन अनकेन अपराध कर्म गर्न उद्दत बनिरहेको छ । यसले समाज थप असुरक्षित बनिरहेको छ । छिमेकी जिल्ला पर्वतको जलजलामा केही दिन अघि भएको दम्पत्ति हत्या यसको ज्वलन्त उदाहरण हो ।

पर्वतमा मात्र होइन, पछिल्लो समय धेरै ठाउँमा पैसाकै कारण अपत्यारिलो र अप्रिय घटना भइरहेका छन् । सिंगो देशकै कुरा गर्न अपराधको ट्रान्जिट काठमाडौं बनिरहेको समाचार सार्वजनिक भइरहेको छ । अपहरणमा परेका ६ श्रीलंकनको उद्धार, मानव तस्करीमा संलग्न चार पाकिस्तानी पक्राउ परेको खबरले यसलाई पुष्टि गर्छ । तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेका थिए । विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको थियो । मानव तस्करीमा संलग्न पाकिस्तानी र श्रीलंकन गिरोहले काठमाडौंलाई अपराधको ट्रान्जिट बनाएका छन् । क्यानडा जाने सपनामा नेपाल आएका ६ जना श्रीलंकन नागरिक यही गिरोहका सदस्यबाट काठमाडौंमा अपहरणमा परेका छन् । मानव तस्करीमा संलग्न पाकिस्तानी र श्रीलंकन गिरोहले उनीहरूलाई बन्धक बनाएर फिरौती पनि असुलेको छ । गिरोहले नयाँ बसपार्कको राजारानी होटेलमा चारजना तथा ठमेलको थ्री सिस्टर होटेलमा दुई श्रीलंकनलाई बन्धक बनाएको अवस्थामा बिहीबार उद्धार गरी चारजना पाकिस्तानीलाई पक्राउ समेत गरेको छ । यसमा श्रीलंकन नागरिकसमेत संलग्न रहेको तथ्य खुलेको छ ।

आम्दानी शून्य र सीमित, खर्च बढ्दै गए पछि अधिकांश नेपालीको प्राथमिकता र सहज विकल्प बैदेशिक रोजगार ठान्छन् । तर, यसरी बिदेश जाने क्रममै अनेकन बाहना र बाध्यतामा पारेर ठगी धन्दा चलाउने नेपालमै कैयन छन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुको साटो राज्य र यसका निकाय नै संरक्षणमा सक्रिय देखिन्छन् । अझ पछिल्लो समय त क्यानडा तथा युरोपियन देश पठाउने भन्दै पाकिस्तानी, श्रीलंकन, बंगलादेशी तथा भारतीय नागरिकलाई नेपाल ल्याएर अपहरण गर्ने प्रवृत्ति बढेको छ । दुई साताअघि मात्र बंगलादेशी गिरोहले बंगलादेशकै नागरिकलाई नेपालमा बन्धक, तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेको घटना, विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको विषयले नेपाल अपराधको ट्रान्जिट पोइन्ट बन्ने बनाउने खतराको संकेत गर्छ । यी र यस्ता घटनाबाट सरकारले समयमै पाठ सिकेर यथोचित कदम चाल्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *