कोरोना त्रासः सार्वजनिक यातायातमा यात्रा गर्ने घटे

सिर्जना पन्त, बागलुङ ।

कोरोना सन्त्रास पछि धौलागिरीमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको संख्यामा कमी आएको छ ।

मानिसहरुको भीडभाड र चहल पहल बढि देखिने बसपार्क, जीपपार्क र टिकट काउण्टरमा चहल पहलमा उल्लेख्य कमी आएको छ ।

बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको विहुँ जान सवारी कुरिरहेका अर्जुन परियार पनि माक्स लगाएकै अवस्थामा भेटिनुभयो । कोरोनाको संक्रमणबाट जोगिनको लागि आफुले बजार आउदा मात्र नभएर गाउँमा भीडभाडमा जाँदा पनि माक्स लगाएर बस्ने गरेको उहाँले बताउनुभयो ।

साविकको धौलागिरी जीप व्यवसायी समिति हालको धौलागिरी कालिका यातायात प्रालिका टिकट काउण्टरमा कार्यरत कर्मचारी नगेन्द्र बोहोराले पहिलेको तुलनामा कोरोना भाइरसको चर्चा चल्न थालेपछि ४० प्रतिशत यात्रु कम भएको बताउनुभयो । ‘नेपालमा कोरोनाको संक्रमण नभेटिए पनि मानिसहरु निकै सचेत भएका छन्,’ बोहोराले भन्नुभयो, ‘अति आवश्यक काम नपरे सम्म लामो दुरीको यात्रा गर्नेहरुको संख्यामा कमी आएको छ ।’ टिकट काट्दा, पैसा लिदा दिदा, कुरा गर्दा पनि कर्मचारी, चालक, यात्रु सबै सचेत हुन थालेको उहाँले बताउनुभयो । आँफु पनि बचौ र अरुलाई पनि बचाउ भन्दै यातायात प्रालिले काउण्टरमा भीडभाड नगर्न, काउण्टर भित्र धेरै मानिस जम्मा भएर नबस्न आग्रह समेत गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको डरले हरेक स्टेशनमा सावुन पानीले हात धुने गरेको जीप चालक गलकोट नगरपालिका–२ का सोम श्रीसले बताउनुभयो । ‘बागलुङदेखि गलकोटको हटिया सम्म जीप चलाउँछु,’ श्रीसले भन्नुभयो,‘मान्छेको भीडभाडमा नजाऔं, कुरा नगरौं भनेर पनि सम्भव छैन, त्यसैले ठाउँ–ठाउँमा गाडी रोकेर हात धुन्छु, सरसफाई गरेर सचेत बन्ने प्रयास गर्छु ।’ १७ बर्षदेखि निरन्तर गाडी चलाउदै आउनुभएका श्रीसले अहिले सम्म रोगबाट यतिधेरै डराएर चलाउनु परेको पहिलो अनुभव भएको बताउनुभयो । ‘कोरोनाबाट बच्न रुघा खोकी लाग्नबाट जोगिने, न्यानो भएर बस्ने भनेर समाचारमा सुनेको छु, श्रीसले भन्नुभयो ‘बाटैभरी धुलो छ, चैतमा पनि ज्याकेट लगाएर हिड्ने जाडो छ, कता विरामी भइन्छ भन्ने डर लागेको छ,’ उहाँले थप्नुभयो,‘कोरोनाको संक्रमणबाट जोगिने तरिका र यस्का लक्षणको बारेमा कसैले जानकारी नदिए पनि पछिल्लो दिन समय मिलाएर समाचार सुन्ने र पढेर जानकारी लिने गरेको उहाँको भनाई छ ।

सार्वजनिक यातायातका कर्मचारी मात्र होइन, यातायातमा यात्रा गर्ने सर्वसाधारण पनि स्वयम् सचेत भएर हिड्ने गरेका छन् । पछिल्लो समय यात्रुहरु पनि माक्स लगाएरै गाडी चढ्ने गरेको अर्का सवारी चालक दुर्गाबहादुर विक बताउनुहुन्छ । बागलुङ बजारदेखि पोखरा सम्म जीप चलाउदै आउनु भएका विकले माक्स नलगाएका यात्रुहरु निकै कम देखिनुहुन्छ,’ उहाँले भन्नुभयो,‘ड्राइभरले त अहिले मात्र होइन, पहिले पनि माक्स लगाउथे, आजभोली सबै यात्रुहरुले पनि लगाउन थाल्नुभएको छ । तैपनि बिरामी बोक्दा कतै आँफै बिरामी परिन्छ कि भन्ने डर लाग्छ ।’

धौलागिरी अञ्चल अस्पताल बागलुङमा लामो समय कार्यरत रहनुभएका रामप्रसाद खनालले सार्वजनिक यात्रामा माक्सको अनिवार्य प्रयोग सहित सचेतता अपनाएर यात्रा गर्न सुझाव दिनुहुन्छ । ‘यात्रै नगर्ने भन्ने चाही होइन, काम बिशेषले यात्रा गरौं तर भीडभाडमा, यात्रामा अपनाउनु पर्ने सचेतता सबैले अपनाउनुस्,’ बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख समेत रहनुभएका खनालले भन्नुभयो,‘गाडीमा यात्रा गर्दा झ्यालहरु खुल्ला गरेर सुरक्षित यात्रा गरौं, रुघाखोकी ज्वरो आएको छ भने सके सम्म यात्रा नगरौं ।’

सार्वजनिक यात्रामा यसरी जोगिऔं
अनिवार्य रुपमा माक्सको प्रयोग गरौ
यात्रु या अरु किनबेच गर्नेहरुबाट सामान नलिऔं ।
मानिसहरुसँग हात नमिलाऔ
सकेसम्म कोचाकोच नभई केही दुरी बनाएर यात्रा गरौ
हाँछ्यु गर्दा रुमालको प्रयोग अनिवार्य गरौं
रुघा खोकी लागेको व्यक्ति भए अनुहार जुधाएर कुराकानी नगरौ
नाक, मुख र आँखालाई पटक–पटक छुने नगरौ
झ्यालहरु खुल्ला राखेर यात्रा गरौं
नियमित साबुन पानीले हात धुने गरौ

यो पनि पढ्नुहोस्