तमानखोलामा कृषि संकलन केन्द्र बन्दै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकामा कृषि संकलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँमा संकलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिका अन्तरगतका किसानले उत्पादन गरेको कृषि उपज वस्तुलाई संकलन गरि बजारीकरण गर्नका लागि कृषि संकलन केन्द्र निर्माण गर्न थालेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

तमानखोलाका अधिकांश नागरिकहरु कृषिमा आवद्ध भए पनि हालसम्म एउटा पनि कृषि संकलन केन्द्र नहुँदा बजारीकरणमा समस्या भएको अध्यक्ष बुढा मगरको भनाइ छ । गाउँपालिकाको केन्द्र वडा नम्बर १ स्थित बोङ्गादोभानमा बन्न थालेको संकलन केन्द्रले कृषकलाई ठूला राहत हुने उहाँले बताउनुभयो । अहिलेसम्म किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै आएपछि गाउँ–गाउँबाट कृषकको उत्पादन संकलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यहाँका धेरै किसानहरुले तरकारी, फलफूल लगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आउनु भएको छ, तर उत्पादनले बजार पाएको अवस्था छैन, अब गाउँपालिकाले नै यसको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर व्यवसायिक बनाउने छ, कृषि संकलन केन्द्रमा ल्याइएका वस्तुलाई बजारीकरण गर्न र किसानलाई उचित मूल्य दिलाउन हामीहरुले योजना बनाएर लाग्ने छौँ, संकलन केन्द्रमा छ वटै वडाबाट उत्पादन ल्याइने छ ।”

कृषि संकलन केन्द्र वि.सं. २०८० चैत ४ गते सम्झौता भएर काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्ने गरि ३० लाख रुपैयाँमा जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर अर्जुन यादवले बताउनुभयो । संकलन केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन संकलन गर्ने फरक फरक कोठाहरु निर्माण हुने उहाँको भनाइ छ । संकलन केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्न इन्जिनियर यादव बताउनुहुन्छ ।

स्थानीय कृषक प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरु मारमा पर्दै आएको भन्दै कृषि संकलन केन्द्र संचालनमा आएपछि ठूलो राहत मिल्ने बताउनुभयो । तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पु¥याउने पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । गाउँपालिकाले निर्माण गरि रहेको संकलन केन्द्रमा सबै वडाबाट तरकारी संकलन गरि ल्याउने र ठूला–ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुन बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *