आगलागी, अप्रिय घटना र पूर्ववत सचेतता

सम्पादकीय
आगो भान्सामा या अरु अत्यावश्यक कार्यका लागि नभई पनि हुँदैन । तर, यसको उपयोगका क्रममा खेलाची, बेवास्ता या लापरबाही गर्दा कहालीलाग्दा डरलाग्दो घटना पनि हुन्छ । जसले जनधनको अपुरणीय क्षति पु¥याइरहेको हुन्छ । यतिबेला देशभरमा आगलागीका घटनाको खबर आइरहेको छ । हुन त आगलागीको यसवर्षको खबर नयाँ भने होइन, हरेक वर्ष सुख्खा सिजनमा यही र यस्तै नियति नेपाली समाजले भोग्दै आइरहेको छ । बिभिन्न स्थानमा आगलागी मात्रै होइन, आगलागीमा परेर कैयनले ज्यान समेत गुमाइरहेका छन् । यसरी अकालमै ज्यान गुमाउनेमा आगो नियन्त्रणका लागि पुगेका नेपाली सेना, प्रहरीहरु समेत छन् । आगलागीबाट बन बिनाश त भएको छ नै, बनजंगलमा भएका पशुपंक्षी समेत मरेका छन्, कति त्यो क्षेत्रबाट अन्यत्र बिस्थापित भएका छन् ।

आगलागीको तथ्यांक हेर्दा पछिल्लो २४ घण्टामा मात्र ४३ ठाउँमा आगलागी भएको छ । वनजंगलका सयौँ ठाउँमा डढेलो सल्किएको छ । नेपाल प्रहरीका अनुसार २४ घण्टामा आगलागी र डढेलोमा परी दुईजनाको ज्यान गएको छ । डोल्पामा डढेलो निभाउन गएका एक सैनिकले ज्यान गुमाएका छन् भने धनकुटामा बारीमा लगाइएको आगोमा परी एक बालकको मृत्यु भएको छ । सर्लाहीको बसबरियाको दलित बस्तीमा भीषण आगलागीबाट ११ घर जलेका छन् । अर्घाखाँची, भूमिकास्थान नगरपालिका– ७ बाजुकास्थित बाजुका सामुदायिक वनमा फैलिएको डढेलो बस्तीमा पसेको छ । मानकुमारी भण्डारीलगायत ६ जनाको घर र गोठ जलेर करिब ५३ लाखको क्षति भएको छ । सल्यानको कपुरकोट गाउँपालिका– १ स्थित स्यालेडेरा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका १५ जना घाइते भएका छन् । डढेलो निभाउने क्रममा हावाहुरी चलेपछि आगो शरीरमा सल्किएर घाइते भएका हुन् । पोखरा महानगरपालिकाको अस्थायी ल्यान्डफिल साइटमा सोमबार आगलागी हुँदा नजिकैका बस्ती जोखिममा छ । पोखरा–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटमा सोमबार साँझ ५ बजेदेखि फैलिएको आगो नियन्त्रणबाहिर गएको हो । धनकुटा–१० मा सल्लेरी सिरानका रत्न मगरको बारीमा गोलभेँडाको झ्यास जलाउन बालेको आगो घरगोठमा सल्किदा अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सामान जलेर करिब ६ लाखबराबरको क्षति भएको छ । रुकुम पश्चिम, आठबिसकोट नगरपालिका– २ स्यालामा धनबहादुर बोहराको घरमा आगलागीबाट खाद्यान्न तथा किराना पसल, नास्ता पसल, काठ, भाडावर्तन, लत्ताकपडा र नगद तीन लाख बराबरको क्षति भएको छ । पाल्पा, पूर्वखोला गाउँपालिका– २ साठीकोल बस्ने टेकबहादुर ठाडाको घरमा सोमबार बिहान आगलागी भएको छ । घर पूर्ण रूपमा जलेर करिब सात लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

आगलागी विपदजन्य घटना हो । यद्यपि, आगलागी यस सिजनमा यति धेरै मात्रामा हुने गरेको छ कि जसको तथ्य र तथ्यांकलाई मिहिन ढंगले केलाएर हेर्ने हो भने अधिकांशमा मानवीय लापरवाही र बेवास्ता नै प्रमुख कारक देखिन्छ । यो मानिसले चाहादा या पूर्ववत सचेतता अपनाउँदा, आगलागी भइहालेमा तत्काल नियन्त्रणमा लिने उपाय र विकल्पमा स्थानीयलाई तालिम, नियन्त्रण औजार, उपकरणहरु दिएमा धेरै हद सम्म आगलागीबाट हुने ठुलो र अपुरणीय क्षति कम गर्न सकिन्छ । तर, यसमा तीन तहको सरकार, सरोकारवाला निकाय र स्वयंम् नागरिकहरु पनि गम्भीर, सचेत र जिम्मेवार नदेखिने दुर्भाग्य दोहोरिएको छ । अब सधैं आगलागी भएर, ठुलो जनधनको क्षति भएर मात्र सचेत हुने होइन, पूर्ववत रुपमै आगलागीको सम्भावित खतराबाट सचेत भएर सकेसम्म क्षति कम गर्ने तर्फ अग्रसर हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *