आदर्श अनलाइन, बागलुङ
धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङका सल्लाहकार हरि प्रसाद शर्माले आम्दानीका स्रोतलाई पहिचान गरेर पूँजीलाई परिचालन गर्नु पर्ने बताउनु भएको छ ।
धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र डिसिआरडिसि बागलुङको २८ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उहाँले संस्थाले यस अघि गरेका राम्रा कामको अनुसरण गर्दै नयाँ योजना सञ्चालन र पुरानाको जीर्णोद्धारमा जोड दिनु पर्ने बताउनु भयो ।
सल्लाहकार शर्माले गाउँ गाउँमा उज्यालो, सिंचाई र सरसफाई, विद्यालय भवन निर्माण, महिला लघु ऋण, एकिकृत वागवानी तथा पशु सेवा, मानव अधिकार सचेतना, सुधारिएको घट्टा, सौर्य उर्जा, कृषक पाठशाला जस्ता दर्जनौ कार्यक्रम सञ्चालन गरेर जागरण फैलाएको संस्थाले पछिल्लो समय पुनः दुग्ध कृषकसँग सञ्चालन गरेको परियोजनालाई सबै मिलेर प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न अन्तर्राष्ट्रिय, दातृ निकाय, स्थानीय तह, सरकारी तथा गैह्र सरकारी संघ संस्थासँगको समन्वयमा सम्पन्न गरिएका योजनाको संरक्षण र सम्वद्र्धनमा समेत जुटनु पर्नेमा जोड दिनु भयो ।
संस्थाका सचिव भिमसेन पन्तले २०५२ सालमा स्थापना भएको संस्थाले बागलुङ जिल्ला सहित पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा, स्याङ्जा, गुल्मी, खर्घखाँची, पाल्पा, रुपन्देही, कपिलबस्तु, नवलपुर र रुकुम जिल्लामा समेत गरि ७२ वटा सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिसकेको बताउनु भयो ।
पछिल्लो समय बागलुङ, पर्वत, कास्की र स्याङ्जामा सुधारिएको चुलो निरीक्षण, इनर्जी अडीट, फिल्ड सर्भे र पुर्नताजी कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाई थियो ।
साधारण सभामा धौलागिरी जागरण दैनिक पत्रिकाका सह सम्पादक सिर्जना पन्त सहित ६० वर्ष पुरा भएका ११ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।
कृष्ण राज शर्मा, डिल बहादुर थापा, पृथीकला थापा, मुरारीदत्त सापकोटा, पशुपती राजभण्डारी, विन्दुसागर राजभण्डारी, नर बहादुर थापा, होमनाथ गौतम, खगराज पाण्डे, जित बहादुर सार्की र पिङ्गल राज पन्तलाई सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार नरबहादुर थापा, सुदर्शन शिलवाल, कृष्णराज शर्मा, विवाइसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, पूर्व कार्य समिति सदस्य गीता शर्मा लगाएतले बोल्नु भएको थियो ।
सभाले सचिव भिमसेन पन्तले प्रस्तुत गरेको प्रगती प्रतिवेदन, कोषाध्यक्ष सुस्मिता किसानले प्रस्तुत गरेको आर्थिक लेखा परिक्षण प्रतिवेदन सहित विभिन्न १० वटा प्रस्तावहरु पारित गरेको छ ।
साधारण धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र डिसिआरडिसि बागलुङका अध्यक्ष सिर्जना थापाको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत मन्तव्य तथा सचिव भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।