डम्मर बुढा मगर, बागलुङ
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गानै बिच्छाएर बनाइएको बाटो । सिंगो बस्तीनै सफा सुग्घर । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधिखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ सिरुबारी गाउँ । यो गाउँ घरबास (होम–स्टे) संचालन गर्नेहरुका लागि पाठशाला हो । नेपालको पूर्वदेखि सूदूरपश्चिमसम्मका घरबास संचालकहरु सिरुबारी आएर ज्ञान लिन्छन् । क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा वि.सं. २०५४ सालमा सिरुबारी घरबास संचालनमा आएको थियो । २७ वर्ष अगाडि स्थापना भएर संचालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सिरुबारी गाउँ भरिभराउ हुन थालेको छ ।
सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रति दिन यहाँ आउने पर्यटक बढि रहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास संचालनमा छन् । दैनिक १६० जना पाहुन राख्न सक्ने क्षमता यहाँका घरबासको छ । पाहुनाको आगमन बढ्न थालेपछि घरबास संचालकले धान्न नसक्ने स्थिती आएको छ । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयवासीको स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहि¥याएर स्वागत गरि स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पु¥याउँछन् ।
गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राती ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाई ११ बजेसम्म मौलिक संस्कृतिमा झुमाउँछन् । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् । पछिल्लो पाँच वर्षमा सिरुबारीमा पर्यटक बढ्न थालेका छन् । पहिले विदेशी पर्यटक मात्रै आउने गरेकोमा अहिले धेरै आन्तरिक पर्यटक आने गरेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताउनुभयो । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने धेरैलाई जानकारी नभएको हुँदा विदेशी मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास संचालनमा आएपछि आन्तरिक पर्यटकको भिडभाड हुन थालेको गुरुङ बताउनुहुन्छ ।
पछिल्लो समय महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ । असार र साउन महिनामा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ संचालित सबै घरबास दैनिक जसो भरिभराउ हुने गरेको संयोजक गुरुङले बताउनुभयो । पर्यटकको आगमनमा वृद्धि भएसँगै आउनु पूर्व एक÷दुई दिन अगाडिनै ‘बुकिङ’ गर्नु पर्ने स्थिती आएको उहाँको भनाइ छ । यहाँ आउने पर्यटकले यहाँको घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने गरेको गुरुङ बताउनुहुन्छ ।
संयोजक गुरुङले भन्नुभयो – “अहिले एकदम धेरै आन थाल्नु भएको छ, हामीहरुलाई धान्न मुस्किल भएको छ, सुरुमा विदेशी पर्यटक मात्रै आउँथे, त्यस बेला ग्रामीण पर्यटन भन्ने थाहा थिएन, सरकारले वि.सं. २०६७ सालमा होमस्टेको कार्यविधि बनायो, त्यसपछि धेरै ठाउँमा घरबास संचालनमा आए, हरेक महिना दुई हजार ५०० देखि तीन हजारसम्म पाउना आउने गरेका छन्, यो वर्ष १५ हजार पाहुन आएनु भएको छ, यो संख्या वर्षेनी बढि रहेको छ ।”
सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जितेन्द्र गुरुङले यहाँको संस्कृतिक कार्यक्रम र सरसफाइका कारण धेरै पर्यटक आउने गरेको बताउनुभयो । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा भेषभूषाको प्रशंसा गर्ने गरेको उहाँको भनाइ छ । घरबासमा प्राङ्गारीक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरे अनुसारको परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाईमा सिरुबारी परेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
“पाहुनाहरु आउँदा बित्तिकै हामीहरु हाम्रो पोसाकमा बाजागाजासहित प्रवेशद्वारमै स्वागत गर्न पुग्छौँ, त्यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ, यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दो रहेछ,” अध्यक्ष गुरुङले भन्नुभयो – “अहिले धेरै तिरबाट यहाँ आउने सडकको सुविधा पनि भएको त्यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको छ, दिनदिनै पर्यटकको संख्या बढ्दा हामीहरु उत्साहित भएका छौँ, व्यवस्थापनमा केही समस्या भने भएको छ ।”
सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कला संस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन अवलोकनका लागि आउने गरेको पाइन्छ । सिरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आउनु भएकी देवी शर्माले सिरुवारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताउनुभयो । खासगरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन अवलोकनमा आएको उहाँको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने शर्मा बताउनुहुनछ ।
उहाँले भन्नुभयो – “यो गाउँले साँच्किै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँको घरहरु, बाटोहरु देख्दा निकै खुसी लाग्यो, निकै सफा ठाउँ, उहाँहरुले गर्ने आतिथि सत्कारले हामीहरु फुरुङ् भयौँ, सिरुबारी गाउँमा आउँदा मलाई लाग्यो गाउँका मान्छे दयालु हुन्छ, संस्कारी हुन्छ, अहिलेको परिवेशमा पनि यो गाउँको संस्कारले हामीहरुलाई ठूलो पाठ सिकायो ।”
भैरवाहबाट सिरुबारी अवलोनका लागि आउनु भएको हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताउनुभयो । पछिल्लो समय धेरै ठाउँमा घरबास संचालनमा आए पनि पुराना कला संस्कृति भने कमै मात्रामा देखाउने गरेको उहाँको भनाइ छ । ज्ञवालीले गाउँमा रहेको सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारको समेत झल्को दिने बताउनुभयो ।