धार्मिक क्षेत्रमा थपिँदै पर्यटकीय पूर्वाधार

आदर्श अनलाइन, बागलुङ
पर्यटकीय पूर्वाधार निर्माणले बिहुँको त्रिपुरेश्वर महादेव मन्दिरको स्वरुप फेरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पछिल्लो समय पर्यटकीय पूर्वाधार निर्माणले तिब्रता पाएको छ । पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्ग हुँदै ढोरपाटन र पूर्वी रुकुम पुग्ने पर्यटकहरु मन्दिरमा आउने गरेका छन्् । शिवरात्री र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्ने त्रिपुरेश्वर महादेव मन्दिरमा अन्य समयमा समेत घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो समय मन्दिर परिसरमा आवास, सत्तल निर्माण, खानेपानी शौचालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने लगायतको पूर्वाधार निर्माण मन्दिरकै आन्तरिक आयबाट गरिदै आइएको थियो । पछिल्लो दुई वर्ष यता गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय, काठेखोला गाउँपालिका, वडा कार्यालय र विभिन्न व्यक्तिहरुको सहयोगमा भौतिक पूर्वाधार निर्माणले तिब्रता पाएपछि यहाँ आउने पर्यटकहरुमा वृद्धि भएको छ । अहिले मन्दिर क्षेत्रमा एक दर्जन सवारीसाधन चढेका पर्यटकहरु आउने गरेका छन् ।

सडकमार्गदेखि मन्दिर पुग्ने ३५० मिटर सडक ढलान गर्ने, रेलिङ सहितको सय मिटर पदमार्ग निर्माण गर्नेकाम सम्पन्न भइसकेको छ भने मन्दिर परिसरमा १०८ शिव लिङ्ग निर्माण गर्ने र प्रवेशद्वार निर्माण गर्ने कार्य चलिरहेको त्रिपुरेश्वर महादेव मन्दिरका अध्यापक हंस चैतन्यले जानकारी दिनुभयो । मन्दिर परिसरमा श्री परमानन्द वेदवेदाङ्ग संस्कृत विद्यालय समेत २०३३ सालमा स्थापना गरिएको छ । उक्त विद्यालयमा अनौपचारिक संस्कृत शिक्षा दिइरहेको र औपचारिक शिक्षा प्रदान गर्नका लागि विद्यालयको भवन निर्माण समेत गरिएको चैतन्यले बताउनुभयो ।

“प्राकृति भ्यूटावर जस्तो डाँडामा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र मन्दिर परिसरले धेरैलाई लोभ्याउने गरेको छ, अहिले मध्यपहाडी लोकमार्ग हुँदै हिडेका केही सवारीसाधनहरु मन्दिर परिसरमा आइपुग्छन्, टिकटक, फोटो खिचेर जान्छन्” चैतन्यले भन्नुभयो “विशेष मेला लाग्ने समयमा धार्मिक पर्यटकको भीड लाग्छ, शिवरात्रीमा लोकमार्ग सम्मै भक्तजनहरु हुन्छन्, तर अघिपछि घुमन्ते पर्यटकहरु यहाँ आउने गर्दछन्, घना जंगलको बीचमा रहेको मन्दिर संगै प्राकृतिक छटामा रमाउन आउनेको संख्यामा वृद्धि भइरहेको छ ।”

यहाँ घुम्न आउने पर्यटकहरु बढ्नुको पछाडि पर्यटकीय पूर्वाधार प्रमुख कारण रहेको उहाँको भनाई छ । यहाँ काठेखोला गाउँपालिकाको रु. ३० लाख बजेटमा ३५० मिटर सडक ढलान गरेर मन्दिरको सय मिटर तल पु¥याइएको छ भने त्यसमाथी गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटमा सय मिटर ढुङ्गा छापोर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ ।

यस्तै काठेखोला गाउँपालिका–५ घर भई हाल जापनामा कार्यरत रामु कँडलले मन्दिर पर्यटकीय पूर्वाधार सहित प्रवेशद्वार निर्माण गर्नका लागि रु. १० लाख सहयोग प्राप्त भइर अहिले प्रवेशद्वारको समेत काम भइरहेको त्रिपुरेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सदस्य गोबिन्द बिकले जानकारी दिनुभयो । उहाँले मन्दिरको प्रचारप्रसार संगै पछिल्लो समय पूर्वाधारमा समेत विभिन्न स्थानबाट सहयोग आइरहेको बताउनुभयो ।

“१०८ शिव लिङ्ग निर्माण गर्न थालिएको छ, प्रवेशद्वार कलात्मक गराइने छ, पर्यटकहरुलाई लक्षित गरी विभिन्न पूर्वाधारहरु थप भइरहेको छ” बिकले भन्नुभयो “सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर पछिल्लो समय फेरिएको छ ।”

वि.स. १७५० को समयमा हालको मन्दिर रहेको क्षेत्रमा केही कुटीहरु भएको र त्यसमा साधु सन्तहरु बस्ने भनिएपछि मन्दिर स्थापना गरिएको किम्बदन्ती रहेको छ । सन्तानहरुको रुपमा कँडेलहरुको बसाई बिहुँ तथा लेखानी क्षेत्रहरुमा शुरुवात हुन गयो ।

विगतमा रामका भक्तहरु यस क्षेत्रमा बस्ने भएकोले यस मन्दिरलाई रामकोट र पछि आएर स्थानीय जनताले यस स्थलमा शिव लिंग स्थापना गरी आश्रम बनाएकोले यस क्षेत्रलाई शिवालय भनेर समेत परिचित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *