गलकोट मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण

थम्मन थापा
गलकोट

गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा अमरसिंह पर्यटन पदमार्ग निर्माण गरिएको छ । फल्लारुखदेखि सातसय बगाले थापा समाजको कुल मन्दिरसम्म २ सय ५० सिडीको पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष थुमा थापाले जानकारी दिनुभयो ।

सातसय बगाले थापा समाजका बन्धुहरुको सकृयतामा पदमार्ग निर्माण भएको अध्यक्ष थापाले बताउनु भयो । ३ लाख ५८ हजार ३ सय रुपैयाँको लागतमा थापा बन्धुहरुले उक्त पदमार्ग निर्माण गरेको सचिव टोप बहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै पदमार्ग निर्माण गर्न बगाले थापा बन्धुहरुले १ लाख १५ हजारको जनश्रमदान समेत गरेका थिए । समाजले पदमार्ग निर्माण पुर्व प्राविधिक सर्भे खर्चको लागि रु २२ हजार र फाउण्डेशन तयार गर्न ४० हजार थप खर्च गरेको थियो ।

गलकोट नगरपालिका वडा नं ७ को योजना अन्तर्गत अमरसिंह पर्यटन पदमार्ग मल्म सानोखोला, देखि बगाले थापा कुल मन्दिर, राम्चे ढुङगा हुँदै घुम्टे जोडने लक्ष्य रहेको छ । सोहि अनुरुप आर्थिक वर्ष २०७६÷०७७ को नगद रु ३ लाख बजेट बाट १ सय २७ वटा सिडी निर्माण गरिएको थियो ।
सातसय बगाले थापा समाजले यहि चैत १३ र १४ गते आयोजना गर्ने भनिएको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरि पदमार्ग निर्माण गरिएको थियो । यद्यपी अहिले विश्वमै माहामारीको रुपमा रहेको नोवेल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरि राष्ट्रिय सम्मेलन अनिश्चितकालको लागि स्थगन गरिएको समाजले जनाएको छ ।

पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल राम्चे ढुङगा, गलकोट नगरपालिका १० पाण्डवखानी होम स्टे र पर्यटकीय गन्तव्य घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता भएको छ । पदमार्ग निर्माण भएपछि स्थानिय समेत खुसी भएका छन ।

निकट भविष्यमा उक्त पदमार्ग पर्यटकीय स्थल राम्चे ढुङगा हुँदै घुम्टे जोडने योजना अनुरुप काम अगाडी भईरहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो ।

विकासको पुर्वाधार तयार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक गृहकार्य भईरहेको वडा अध्यक्ष थापाको भनाई छ । पदमार्गमा राष्ट्रिय विभुति अमरसिंह थापाको अर्धकदको सालिक समेत निर्माण भईरहेको छ । समाजले १ लाख ७० हजारको लागतमा सालिक निर्माण गर्न लागेको हो । सालिक निर्माण गर्न बेलायतमा रहेका बगाले थापा बन्धुहरुले उक्त रकम सहयोग गरेका हुन ।

सालिक निर्माणको निमित्त युवा समाजसेवी टेक थापा र तुलबिर थापाले सानोखोलामा निशुल्क जग्गा समेत प्रदान गर्नुभएको छ । पदमार्गमा यात्रा गर्ने पैदल यात्रीहरुको लागि स्थानिय समाजसेवी सुन्तलारुख निवासी कर्ण बहादुर थापाको स(परिवारले पानीको धारा र चौपारी समेत निर्माण गरिसकेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *