आदर्श अनलाइन, बागलुङ
बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब प्रवेश गरेको छ ।
रुद्रेपिपल युवा क्लबलाई शून्यका विरूद्व २ गोल गर्दै जित निकाल्दै पावर फिटनेस ७ अंकसहित समूह ‘क’ बाट लिगको फाइनलमा प्रवेश गरेको हो ।
पावर फिटनेसको फाइनल यात्राका लागि वरदान थापाले खेलको २७ र टिटश विकले ५८ औं मिनेटमा गोल गरे । पावर फिटनेसले आइतबार हुने फाइनल भीडन्तमा समूह ‘ख’ को विजेता टोलीसंग प्रतिष्पर्धा गर्नेछ ।
समूह ‘क’ अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा बागलुङ कालिका युवा क्लबले कालिका भगवतीलाई २–४ गोलले पराजित गरेको छ । बागलुङ कालिकाको जितमा मनिक श्रेष्ठले दुई, अर्जुन खत्री र पुकार फगामीले १/१ गोल गर्दा कालिका भगवतीका लागि रोशन लामिछाने दुई गोल गरेका थिए ।
लिगको छैठौं दिन शनिबारको पहिलो खेल रामरेखाविरुद्व बालजीवन र द्रोस्रो खेल गुठी युनाईटेडविरुद्व वीर गोर्खाली युवा क्लबबीच हुने लिग आयोजक जिल्ला फुटबल संघका उपाध्यक्ष राहुल बोहोराले जानकारी दिनुभयो ।