मानवशक्ति आकर्षण गर्न रोजगार मेला गर्दै महासंघ

आदर्श अनलाइन, ललितपुर
सहकारी क्षेत्रमा दक्ष युवा मानवशक्ति आकर्षण गराउने लक्ष्यका साथ राष्ट्रिय सहकारी महासंघले २ दिने रोजगार मेला आयोजना गर्ने भएको छ । दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्यूनिकरणमा योगदान दिने उद्देश्यका साथ रोजगार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

महासंघको आइवार बसेको भर्चुअल वैठकले आगामी असार ७ देखि ९ गतेसम्म महासंघ परिसरमा पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा बसेको वैठकले नेपाल सरकार, केन्दीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक लगायत अन्य सहकारी संघ/संस्था तथा निकायहरुसंगको सहकार्य र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ । समितिका सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिवी बस्नेत रहनु भएको छ । युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाल चयन हुनु भएको छ ।

साथै बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्विकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विवादरहित बनाउन सहकारी अभियानको मर्यादाक्रम सुची तयार भएको महासंघका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

साथै महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने भएको छ । आइतबारको बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *