सडक कालोपत्र भएपछि राङ्खानी गाउँमा रौनकता

डम्मर बुढा मगर, बागलुङ
कुश्मिसेरा–बरेङ सडक अन्गतरत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी गुड्थे । दक्षिण बागलुङको मेरुदण्डको रुपमा रहेको यो सडक अहिले कालोपत्र भएको छ । ग्रामीण सडक कालोपत्रे भएपछि हिजोआज गाउँमा छुट्टै रौनक छाएको छ । स्थानीयको दैनिकीसमेत सहज भन्दै गएको छ । वि.सं. २०६५ सालदेखि ट्रयाक खुलाउन सुरु गरेर वि.सं. २०७० सालमा बरेङ जोडिएको यस सडक तीन खण्डमा स्तरोन्नती र कालोपत्र गर्न थालिएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि देवलधारासम्मको पहिलो खण्डको जिम्मा पाएको निर्माण व्यवसायी क्याराभान कन्स्ट्रक्सन लामो समय सम्पर्कविहीन बनेपछि अहिले बल्ल काममा फर्किएको छ । दोस्रो खण्ड राङ्खानी देवलधारादेखि बरेङ गाउँपालिका–१ लिउवासम्मको खण्ड कालोपत्र भइ रहेको छ ।

अघिल्लो वर्षदेखि कालोपत्र थालिएको दोस्रो खण्ड यस वर्ष सकिदै छ । राङ्खानदेखि बरेङ सम्मको ११ किलोमिटर सडक पूर्वाधार सहित कालोपत्रे गर्नका लागि वि.सं. २०७८ साउनमा दुई वर्षमा कालोपत्रे र घुम्ती सडकमा ढलान गर्ने गरी ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी÷धुलीखेल जेभी संग ठेक्का सम्झौता गरिएको थियो ।

गत वर्ष सात किलोमिटर सडक कालोपत्र र ढलान गरि सकेको थियो भने यस वर्ष चार किलोमिटरको काम गर्दै छ । हालसम्म तीन किलोमिटर सडक कालोपत्र भइसकेको र एक किलोमिटर सडकमा काम गर्न बाँकी रहेको छ । उक्त सडक एक महिनामै सकिने पूर्वधार विकास कार्यालय बागलुङ इन्जिनियर प्रकाश श्रीसले बताउनुभयो । बरेङ गाउँपालिका–१ लिउवादेखि अर्को खण्डका लागि नयाँ ठेक्का खुलाइएको उहाँको भनाइ छ । लिउवादेखि बरेङ बजारसम्मको सात किलोमिटर सडक कालोपत्रका लागि २० करोडको ठेक्का आह्वान भएको इन्जिनियर श्रीसले जानकारी दिनुभयो ।

इन्जिनियर श्रीसले भन्नुभयो – “राङ्खानी क्षेत्रमा कालोपत्र भइसकेको छ, अघिल्लो र यो वर्ष गरि एघार किलोमिटर सडक कालोपत्र भएको छ, यो दोस्रो खण्ड हो, पहिलो खण्डमा लामो समय काम भएको थिएन, अहिले निर्माण कम्पनी काममा फर्किएको छ, तेस्रो खण्ड सात किलोमिटर पर्छ, त्यसका लागि नयाँ ठेक्का खोलिएर मूल्याङ्कनको चरणमा छौँ, केही समयमै तेस्रो खण्डको पनि काम सुरु हुने छ, राङ्खानी खण्डको एक किलोमिटर बाँकी छ, अहिले धमाधम काम भइरहेको हुँदा एक महिनामै सकिन्छ ।”

बर्खाको समय राङ्खानी र बरेङ पुग्नका लागि निकै समस्या थियो । गाउँको सडक कालोपत्र भएपछि स्थानीयमा खुसी छाएको छ । सडक कालोपत्रे भएपछि पालिकाको केन्द्र कुश्मिसेरासहित, बागलुङ, पोखरा लगाएका स्थानमा पुग्न सहज भएको जैमिनी नगरपालिका–१० राङ्खानीका दलबहादुर श्रीसले बताउनुभयो ।

यो सडक खुलेको दशक बढी हुँदा बल्ल कालोपत्र भएको भन्दै पक्की सडकले गाउँलेको जनजीवन फेरिने उहाँले बताउनुभयो । सडक कच्ची हुँदा यात्रा र सामान ढुवानीमा निकै समस्या भएको स्मरण गर्दै अहिले घरै अगाडिको सडक कालोपत्र हुँदा विकासको अनुभूति भएको उहाँको भनाइ छ । सडक कालोपत्र भएपछि बजार जानआउन पनि छिटो भएको श्रीसले बताउनुभयो ।

“कच्ची सडकमा गाडी दगुर्दा धुलो सबै घर भित्रै आउँथ्यो, बजार झर्न प¥यो भने गाडीले झ्याक्दा शरीर दुख्ने समस्या, भाडा बढी तिर्नु पर्ने अवस्था थियो, अहिले सडक कालोपत्रे भएपछि यात्रा गर्न निकै सहज भएको छ,” श्रीसले भन्नुभयो – “पहिले घण्टौ लगाएर पुग्ने ठाउँमा अहिले एकैछिनमा पुग्न सकिन्छ, गाउँमा विस्तारै विकास आउँदै छ, आजभन्दा १०÷१५ वर्ष अगाडि विकट जस्तै थियो यो ठाउँ अहिले हेर्दाहेर्दै सुगम बन्न थाल्यो, माथि पट्टीको सडक कालोपत्र भइ सक्यो तल तिरको अझै भएको छैन, सरोकारवाला निकायले कडाइ गरे त्यो खण्ड पनि छिट्टै कालोपत्र हुने थियो ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा पुगेको कालोपत्र सकडले स्थानीयलाई आयआर्जनसँग जोड्ने बताउनुभयो । यो सडकले जैमिनीको राङ्खानी लगायतका अन्य गाउँलाई जोडेको हुँदा अब यहाँ उत्पादन हुने वस्तु सहज रुपमा बजार पु¥याउन सकिने उहाँको भनाइ छ । सडकको ट्रयाक खुलाउँदा यस क्षेत्रका नागरिकले ठूलो योगदान पु¥याएको भन्दै अब यातायातमा समस्या भोग्नु नपर्ने उपप्रमुख शर्मा बताउनुहुन्छ । पहिलो खण्डमा पनि निर्माण कम्पनी काममा फर्किएको हुँदा नगरपालिकाले समयमै काम सक्नका लागि ताकेता गरि रहेको उहाँको भनाइ छ ।

उपप्रमुख शर्माले भन्नुभयो – “गाउँमा विकास पुग्दै छ, यो सडक निर्माण भएको लामो समयपछि कालोपत्र भयो, अझै केही खण्डमा पिच गर्न बाँकी छ, अब गाउँबाट आउने गाडीहरु रित्तो आउने छैनन्, गाउँमा उत्पादन भएका हरेक वस्तु बजारमा पुग्ने छन् भने नागरिक उत्पादनसँग जोडिने छन्, त्यसका लागि नगरपालिकाले पनि सहजीकरण गर्ने छ, यात्रा गर्न निकै कठिन थियो, अहिले ११ किलोमिटर सडक कालोपत्र भयो, बाँकी अन्य खण्डको पनि काम सकियो भने बरेङदेखि बागलुङसम्मनै पक्की सडक बन्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *