मध्य जेठमै गलकोटमा रोपाइँको चटारो

आदर्श अनलाइन, बागलुङ

मध्ये जेठमै बागलुङको गलकोटका किसान रोपाइँमा व्यस्त छन् । गलकोटका किसानलाई असार नलाग्दै रोपाइँ सक्न हतार छ । गलकोट बागलुङ जिल्लामै छिटो रोपाइँ हुँने ठाउँका रुपमा छ । उपयुक्त हावापानी र प्रयाप्त सिचाईका कारण मध्य जेठको खडेरीमा समेत यहाँ धमाधम रोपाइँ भइरहेको छ ।

गलकोट सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने स्थान मध्येको एक गलकोटमा मध्य जेठ अगावै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खोलाको आसपासको क्षेत्र भएकाले गलकोटमा छिटो रोपाइँ हुँने कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । उहाँले टारी खेतमा रोपाइँ गर्नका लागि भारी वर्षा आवश्यक रहेपनि सिचाईको सुविधा भएको स्थानमा छिटो रोपाइँ गर्न थालिएको जानकारी दिनुभयो ।

गलकोट नगरपालिका–४ चमुवा फाँटमा जेठको ११ गतेबाट रोपाइँ शुरु भएको स्थानीय शेर बहादुर न्यौपानेले जानकारी दिनुभयो । उहाँले प्रयाप्त पानी भएको क्षेत्रबाट रोपाइँ शुरु भइसकेको बताउदै एक महिनासम्म चमुवा फाँटमा रोपाइँ जारी रहने बताउनुभयो । गलकोटको चमुवा फाँट सहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको छ ।

“गलकोट स–साना खोलाले घेरिएको छ, खोलाको नजिकै रहेको खेतमा रोपाइँ गर्न वर्षा पर्खनु पर्दैन, गलकोटमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, उच्च स्थानमा रहेको खेतमा भने जेठको अन्तिमबाट मात्रै रोपाइँ हुन्छ”, न्यौपानेले भन्नुभयो, “गलकोटमा धेरै रोपाइँ जेठमै सकिन्छ, बागलुङको अन्य स्थानमा खेत रोप्ने समयमा गलकोटमा धान गोलमेड शुरु भइसक्छ ।”

कृषि ज्ञानकेन्द्र बागलुङका बाली विकास अधिकृत पुनका अनुसार सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताउनुभयो । उहाँले गलकोट जिल्लामै धेरै धान फल्ने र राम्रो सिचाईको सुविधा भएको ठाउँका रुपमा रहेको जानकारी दिनुभयो ।

गलकोटका किसानले छिटोर धान रोप्नका लागि बिउँ समेत छिट्टै तयार गरिसकेका हुन्छन् । सुख्खा र टारी खेतमा भने साउनको पहिलो हप्ता सम्म रोपाइँ हुँने गरेको छ । “बागलुङमा छिटो रोपाइँ गलकोटबाटै शुरु हुन्छ, गलकोटकै केही भागमा असार अन्तिम सम्म रोपाइँ चल्छ” पुनले भन्नुभयो “गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौदी खोलाको पानीले यहाँको ठुलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो ।”

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गलकोट पछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क निकाल्ने गरिएको छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमै वर्षा नुहँना र बाँझो जग्गा बढ्दै जादा जिल्लाभर धानखेती हुने जमिनको तथ्याङ्कमा पनि सामान्य घटबढ भइरहने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *