शिवशरण ज्ञवाली
छोरा बाबु ! कि छोरा नभन्नुस् कि बाबु नभन्नु भन्ने तिम्रो बोली मेरो कानमा गुन्जिरहेको छ । यहाँ सानाको इच्छामा काम गरिदैन बाबु । त्यसैले म थाकें बाबु । कसैबाट होइन, यो मुलुकबाट थाकें । त्यसकारण तिमी यो मुलुकमा बस्दै नबस्नु । देशवादी बन्दै नबन्नु । विदेशीवादी बन्नु । हुनतः यो भनिरहन पर्ने विषय होइन । तिमी आफै जानिसकेका छौँ । थोत्रोता, अल्छीता, क्रृणता, घुसखोरीता, अव्यवस्थता, अनाचारता, दुराचारता बाहेक यहाँ के भेटिन्छ । यो आदि इत्यादिको झन्झटमा तिमी फस्दै नफस्नु ।
आजका तिमीहरु घन्टामा हजाराँै किलोमिटर दौडिन सक्ने रेल बन्न चाहन्छौँ । हजारौँ किलोमिटर उड्ने जहाज बन्न चाहन्छौँ । तर हामी र हाम्रो पुस्ताले तिमी त्यसरी दौडेको र उडेको मन पराउँदैन, बाबु । यो पुस्ता तिमीलाई आफूजस्तै बनाउन चाहन्छ । साँचोमा ढाडेर राख्न चाहन्छ । छोरो कस्तो बनोस्, आफुजस्तै । छोरी कस्ती बनोस् आफू जस्तै । तिमी तिमीजस्तै बन्नु । मजस्तो बन्दै नबन्नु । मनमौजी हुनु । हाँस्नु, खेल्नु, रमाउनु, नाच्नु । देश परदेश सोच्दै नसोच्नु । तास पनि खेल्नु, डाँडाँकाँडा मेला हेर्न पनि जानु । सबै संसार आफ्नै देश ठान्नु । आफ्नै बन्धु ठान्नु । तिमीले अनुशासनका पर्दा, चालचलनका पर्दा, परम्पराका पर्दा च्यातेर उड्नु छु । यो संसार सेकेन्डमै फन्को मार्नु छ ।
मलाई आत्मविश्वास छ तिमी हामीलाई छाडेर बाहिर जान चाहँदैनौँ । तर जाऊ । जाऊ बाबु जाऊ । मेरो अनुरोध छ । तिमी जाऊ । तिम्ले पढ्ने किताब तिम्रा होइनन् । तिम्रा गाउँका होइनन् । तिम्रा देशका होइनन् । तिम्रा समाजका होइनन् । तिम्रा बा आमाका कथा ती पुस्तकमा पाइदैनन् । तिमीले गाउँमा देखेका बाँदरका चित्र, कुकुरका चित्र, खरायोका चित्र ती किताबमा भेटिने छैनन् । तिम्ले दशैंमा लगाउने टीकाको कथा त्यहाँ भेटिने छैन । तिम्ले करेसाबारीमा लगाएका तरकारीका चित्र त्यहाँ भेटिने छैनन् । तिम्रो घरमा जन्मिएको लैनो पाडो र तिम्ले पिउने ब्याउती दुध ती किताबले चिन्ने छैनन् ।
तिम्रो सभ्यता, परम्परा, तिम्रो धर्म, तिम्रो डन्डी बिगो, तिम्रो ट्यु तिनमा पढाइदैन । विदेशी सभ्यता, विदेशी चालचलन, विदेशी परम्परा पढाइन्छ तिनमा । विदेशी खेल, विदेशी फलफूल, विदेशी धर्म तिनमा पढाइन्छ । त्यसो भए पछि तिमी यहाँ किन बस्ने ? नोकरी छाडेर मालिक किन नबन्ने ? दोस्रो दर्जाबाट पहिलो दर्जामा तिमी किन नउक्लिने ? जीवन कति गरिबीको पिल्साइले सताइरहने ? त्यसैले तिमी जाऊ ।
ती पत्रु किताबहरुले तिम्लाई व्यक्तिवादी बनाइरहेका छन् । तिमीले बोक्ने पानीको तुम्लेटमा पानी पिउने पाइप लगाइएको छ । त्यो पाइपबाट तिम्ले पानी तान्छौँ, जुठो हालेर । तिम्ले पानी पिउँदै गर्दा तिम्रो कक्षाकोठामा गर्मीले अचानक बेहोस् भएर ढलेको तिम्रो साथीलाई तिम्ले तुम्लेटमा बोकेको पानी ख्वाउन त परै जाओस् छर्कनसम्म मिल्दैन । तिमीलाई थाहा छ ? हामी अम्खोरा हौँ तुम्लेट होइनौँ । हामी गाग्री हौँ बोतल होइनौँ । हामी पानीका मालिक हौँ क्रेता होइनाँै । हामी पानीका धारा हौँ ड्रम होइनाँै ।
पछि आउनेलाई धेरै राखेर थोरै खाने र बाँडेर खाने संस्कृति हो, नेपालीको । थोरै खाए जल धेरै खाए मल भन्दै बाँड्ने संस्कृतिका हौँ बाबु । तर आज हामी त्यसो भन्दैनाँै । मै खाऊँ मै लाऊँ मै बाँचु । मै जिऊँमा छाँै । जति सक हसुरौँमा छौँ । काम नगरीकन हसुरौँ हो । हामी विकृत भइसकेका छौँ । हामी प्रकृतिलाई च्यालेन्ज गरिरहेका छाँै । हामी व्यक्तिवादी हुँदै होइनाँै । तर तुम्लेटले हामीलाई व्यक्तिवादी बनाइरहेको छ ।
बाबु ! यो मुलुकमा नागरिकता बनाउन सात दिन लाग्छ । एउटा नागरिकताको कागज लिन सात दिन लाग्ने मुलुकमा कसरी प्रगति हुन्छ ? दूरदराजबाट गएर नागरिकता बनाउँदा तिमी थाक्छौँ । मुकाममा पुगेर तिमी दिनभर बस्नुपर्छ । बरु अमेरिका छिटो पुगिएला तर नागरिकता आउँदैन । अनेक झन्झट व्यहोर्नु पर्छ । ठूलाले र पैसावालाले नागरिकता सजिलै बनाउँछन् तर तिमीलाई सोझो औंलाले ध्यु निकाल्न थालेको नाममा डस्नेछन् बाबु ।
पासपोर्ट बनाउँदा हजारौँ हजार तिर्नुपर्छ । लाइन बस्दा दुई चार दिन गुजार्नुपर्छ । काठमाडौँ आउँदा दश दिन लाउनुपर्छ । त्यही भएर एक चोटि उड्याँै भने फर्केर खासै नआउनु बाबु । यो मुलुक आउनुभन्दा हामी मरेपछि हाम्रो काजक्रियाको संस्कार नै नगुर्न । गर्नै मन लागे उत्तै गर्नु । म तिम्लाई देशवादी बन भन्दिन । तिमी विदेशवादी बन । बाटो कस्तो छ, धुले हिले छ । हवाइजहाज कस्तो छ, ढ्याके पैसाजस्तो छ । वर्षौ वर्ष भइसक्यो, यस्तो भएको । उड्दा यात्रीलाई पानी नदिने जहाजले जहाजले केही मिनेट उडेको हजारौँ असुल्छ । उडुँ पैसा छैन । गुँडु बाटो छैन ।
तिम्री दिदैं आज बिहान बुटबलबाट हिडेको बिहान साढे छ बजे हो । विचरा अहिले रातिको एघार बज्दा बल्ल गैडाकोट आइपुगेकी छन् । यो त थोत्रो मुलुक पो त । त्यो बाटो बनाउन लागेको वर्षौ भइसक्यो । कहिले हो सकिने थाहा छैन । कसले हो सक्ने त्यो पनि थाहा छैन ।
बुटबलबाट काठमाडौँ आउँदा दुई दिन लाग्छ भने तिमी के काम गर्न सकौंला बाबु । धुलो, धुँवा, हिलो सबै खानुपर्छ बाबु यो मुलुकमा । बरु खाना नखाए हुन्छ । पोखरातिर जाऊँ त्यही चाल । गुल्मी अर्घाखाँची त्यही ताल । पूर्व जाऊँ त्यही ताल । पश्चिम जाऊँ त्यही ताल । बुटबल बजार हेरौँ त्यही ताल । काठमाडाँै बजार हेरौँ त्यही ताल । भत्काएको छ । कमिसन खाएको छ । भत्काएको छ कमिसन खाएको छ । दुई वर्षको पढाइ चार वर्ष भएको छ । दुई वर्षको बाटो दश वर्षको भएको छ ।
इतिहासमा जनताले बनाएको मुलुक हो, बाबु यो । तिम्रा बुढा बाले पाल्पा गुल्मीको बाटो खन्नुभएको हो । तिम्रो बाउले चारपाला खरज्याङ खनेको हो । तिमी जन्मेको ठाउँ बागलुङले देउसी भैलो खेलेर स्कुल कलेज बनाएका हो, बाबु । अहिले तिमी हामीले यो मुलुकमा काम गर्नुपर्दैन । नेताले गर्छन् । कर्मचारीले गर्छन् । कमिसन खान जान्नुपर्छ । कमिसन दिन जान्नुपर्छ । जनताको सहभागिता बिनाको काम भ्रष्टता हो । विकास होइन । कमिसन हो । सेवा होइन । पैसा हो । काम होइन । मुठीतन्त्र हो प्रजातन्त्र होइन । जनताले काम गर्नै नपाउने मुलुकको उन्नति हुन्न बाबु । कागजमा पाँच वर्षमा छाप लगाउनु मात्र सहभागिता होइन बाबु । पसिना बगाउन यो मुलुकमा पाइदैन । त्यसैले पसिना जमाएर नबस बाबु तिमी जाऊ । विदेश जाऊ । स्वदेशी नबन । विदेशी बन ।
बिरामी भएर अस्पताल जाऊँ ताल उही । नेता भए सोर्स भए तिमी उपचार गर्न सक्छौँ नभए तिम्रो पालो दुई वर्ष आउँदैन । डाक्टरले क्लिनिक बोलाउँछन् । मेडिकलले झोलाभरि औषधी भिराउँछन् । शिक्षालय जाऊ, प्रशासन जाऊ, बजार जाऊ, बस चढ सबैतिर अइमान्दार हुन जान्नुपर्छ । छक्का पन्जा गर्न जान्नुपर्छ । धम्काउन सक्नुपर्छ । पैसा ख्वाउन जान्नुपर्छ । पैसा ख्वाउन जानेनौँ भने रक्षक नै भक्षक हुन्छन् । तिम्रो बाउले जानेन बाबु ।
तिमी पनि जान्दैनाँै, वक्र उक्ति । यो मुलुक वक्र उक्तिमा चलेको छ । घोरिएर बुझनुपर्छ । हाम्रो रगतले त्यस्तो वक्र उक्ति बुझ्दैन । वालुवाटार चोकमा नीलो कपडा र सेतो टोपी लगाएको एक मुलुकले मलाई दिनदहाडै ठगे, बाबु । मैले उनको भाषा बुझिन् बाबु । भाषा बुझेको भए, चार पाँच सय खर्च हुँदो हो । बार्गेनिङ चल्दो हो । नबुझ्दा मैले एक हप्ता दुःख पाएँ । दुई हजार खर्च गर्न परो । त्यसैले बाबु यो देश वक्रतामा चलिरहेछ । कुन्तक चेप्जु बन्नुपर्छ बाबु यो देशमा ।
मैले उमेरमा बुद्धि पु¥याएको भए म धेरै पहिला विदेशवादी भइसक्थे । बीए पढ्दा डिभी भरौँ भन्थे, साथीहरु । म खुब देशवादी पल्टिएँ, भरिन । त्यही भएर आज पनि म दुःख पाइरहेछु । तिमी देशवादी बन्दै नबन्नु । यो थोत्रो मुलुकमा तिमी बस्दै नबस्नु । तिम्रो स्वत्व यो देशले रक्षा गर्न सक्दैन, बाबु । त्यसैले तिमी नेता नबन्नु यो देशमा नबस्नु ! जय नेपाल !