गुणस्तर बढाउन जैमिनीमा लिड विद्यालयको अवधारणा

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न थालेको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकिकृत बिद्यालय निर्माण गरी टाढाका विदार्थीलाई विद्यालयमै राखेर अध्ययन गर्ने योजना समेत नगरपालिकाले कार्यान्वयनमा लगेको छ ।

बढ्दो बसाईसराईका कारण विद्यालयमा विद्यार्थीको संख्या घट्ने र नगरपालिकाको लगानी सदुपायोग नहुँने भएकाले नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको हो ।

विद्यार्थी र अभिभावकालई आम्दानीसंग जोड्ने, आवासीय सहितको विद्यालय बनाउदै नगरकै शैक्षिक हब बनाउनका लागि जैमिनी नगरपालिका–५ बिनामारे स्थित सर्वोदय जनक माध्यामिक विद्यालयलाई अगुवा (लिड) विद्यालयको रुपमा अगाढी बढाएको छ ।

दुई वर्ष अघि उक्त विद्यालयलाई नगरपालिकाले अगुवा विद्यालयको रुपमा लगानी बढाएको छ भने यस वर्षदेखि पढ्दै कमाउदै कार्यक्रमका लागि समेत विद्यालय छनौट भएको छ । छरिएको पातलो बस्ती, तिब्र बसाई सराई लगायतका कारणले आधारभूत विद्यालयका विद्यार्थीहरु घट्ने क्रम बढेपछि विद्यालय घटाउने गुणस्तर बढाउनका लागि अगुवा (लिड) विद्यालयको अवधारण कार्यान्वयनमा लगिएको जैमिनी नगरपालिकाले जनाएको छ ।

लिड विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने, अति विपन्न परिवारलाई पढ्दै कमाउदै अभियानसंग जोड्ने र पालिकाकै शिक्षा क्षेत्रको नमूना विद्यालय निर्माण अभियानमा जैमिनी नगरपालिकाले लगानी गरिरहेको जैमिनी नगरपालिकाका नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

“छरिएको बस्ती नजिकको विद्यालयमा विद्यार्थी घट्न थालेपछि एउटा वडामा एक नमूना विद्यालय बनाउने, पालिका स्तरीय लिड बिद्यालय बनाउने र प्राविधिक धार तर्फको अर्को विद्यालय बनाउने हाम्रो गुरु योजना हो, जसमध्ये पालिकाको केन्द्र कुश्मिसेराको शान्ति माविमा कम्प्युटर प्राविधि तर्फ पढाइ भइसकेको छ भने बिनामारेको सर्वोदय जनक माध्यामिक विद्यालयमा आवासीय सुविधा, पढ्दै कमाउदै लगायतका सुविधा थपेर लिड विद्यालय बनाइएको छ” नगर उपप्रमुख शर्माले भन्नुभयो “लिड विद्यालय घोषणा पछि शिक्षकहरुमा उर्जा थपिएको छ भने अभिभावकमा आशा जागेको पाएका छौं, निजी विद्यालय सामुदायिकमा गाभ्न सफल सर्वोदय माविलाई पालिकाकै नमूना र शैक्षिक गुणस्तरमा अब्बल बनाइन्छ ।”

उक्त विद्यालयलाई हेरेर अन्य विद्यालयहरु समेत शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने नगरपालिकाको भनाई छ । नगरउपप्रमुख शर्माका अनुसार विद्यार्थी घटेको विद्यालयलाई गाभ्ने र टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने नगरपालिकाको योजना कार्यान्वयनको चरणमा छ ।

सबै विद्यालयमा पूर्वाधार, शैक्षिक गुणस्तर वृद्धिमा लाग्दा परिणाम नआउने भन्दै वडा–वडामा नमूना विद्यालय बनाउने । आसपासका विद्यालयलाई नमूना विद्यालयमा गाभ्ने योजना नगरपालिकाको छ । विद्यालय गाभ्दा अपाइक परेका विद्यार्थीलाई होस्टेल वा यातयातको व्यवस्था नगरपालिकाले मिलाउने गुरुयोजना बनाएको छ ।

दुई वर्ष अघि अगुवा बिद्यालय घोषणा गरिएको जैमिनी नगरपालिका–५ बिनामारे स्थित सर्वोदय जनक माध्यामिक विद्यालयमा नगरपालिकाले रु. १८ लाख लगानी गरिसकेको वडा अध्यक्ष ठगेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । थापाले विद्यालयमा यस वर्षदेख पढ्दै कमाउदै अभियान अन्र्तगत चार रोपनी जग्गा भाडामा लिएर ६ वटा प्लाष्टिक टर्नेल स्थापना गरिएको बताउनुभयो ।

गाउँमा रहेको एक संस्थागत विद्यालय गाभेपछि उक्त विद्यालयलाई नमूना विद्यालयका रुपमा अगाढी बढाइएकोमा पालिकाले लिड विद्यालयको रुपमा विकास गर्न लगानी बढाएको उहाँको भनाई छ । संस्थागत विद्यालयको पूर्वाधार समुदाय र विद्यालयको अग्रसरतामा सामुदायिक विद्यालयको मातहतमा लिएर उक्त पूर्वाधारलाई होस्टेल प्रायोजनका लागि विकास गरिएको विद्यालयका प्रधानध्यापक भवानी आचार्यले बताउनुभयो ।

उहाँले पालिकाकै अगुवा विद्यालयको रुपमा नगरपालिकाले घोषणा गरेपछि अभिभावकमा विद्यालय प्रतिको भरोसा भढ्दै गएको बताउनुभयो । उहाँले उपल्लो कक्षाका विद्यार्थीलाई आवासीय र तल्लो कक्षाका विद्यार्थीलाई यातयातको सुविधाका लागि बस आवश्यक रहेको अभिभावकहरुबाट सुझाव आएको जानकारी दिनुभयो । उहाँले शिक्षकहरुमा समेत लिड विद्यालयलाई सफल पार्नका लागि उत्प्रेरणा मिलेको उहाँको भनाई छ ।

“विद्यार्थी घट्ने परम्परा जहातही छ, हाम्रोमा ३०३ जना विद्यार्थी अध्ययनरत छन्, यहाँको निजी विद्यालय समेत यहाँ गाभिएको छ, विद्यार्थी बढाउनका लागि लिड विद्यालयको अवधारणा पालिकाले लिएको छ” प्रधानध्यापक आचार्यले भन्नुभयो “विद्यार्थी थोरै भएको विद्यालयलाई गाभेर ठूलो विद्यालयमा ल्याउने, शिक्षकको दरबन्दी थप भएपछि पढाउन सहज हुन्छ, घरबाट आउन टाढा हुँने विद्यार्थीलाई यातयातको साधन अथवा आवासीय रुपमा शिक्षा दिनेगरी अगाढी बढिएको छ ।”

पढ्दै कमाउदै अन्र्तगत चार रोपनी भाडाको जग्गामा ६ वटा प्लाष्टिक टर्नेल निर्माण गरिएको र यस वर्षदेखि विद्यार्थीकै सक्रियतामा तरकारी उत्पादन गरिने उहाँको भनाई छ । १० कक्षाका विद्यार्थीलाई गत वर्षदेखि आवासीय सुविधा दिइसकेको बताउदै उत्पादन भएको कृषि उपजलाई विद्यालयको दिवाखाजा र होस्टेलमा प्रयोग गरिने बताउनुभयो ।

लिड विद्यालयका लागि आएको रु. १८ लाखले होस्टेल निर्माण, तारबार र आवसका लागि आवश्यक पूर्वाधार र सामाग्री खरिद गरेको प्रधानध्यापक आचार्यको भनाई छ । पढ्दै कमाउदै अन्र्तगत चालु आर्थिक वर्षमा रु. तीन लाख बजेट अन्र्तगत छ वटा प्लाष्टिक टर्नेल र कृषि औजार खरिद गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *